दुई जना पदाधिकारीमा तयारी, चितवनबाटै १६ जना आकांक्षी

दुई जना पदाधिकारीमा तयारी, चितवनबाटै १६ जना आकांक्षी

शालिग्राम नेपाल
चितवन । चितवनमा सम्पन्न हुन गइरहेको नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनबाट नेतृत्वमा आउन जिल्लाका आकांक्षी हरेक दिन वृद्धि भएको छ ।

जिल्लाका दुई शिर्ष नेता बाहेक केन्द्रीय सदस्यमा इच्छा जाहेर गर्नेहरु १४ जना पुगेका छन् । महाधिवेशनको उम्मेदवारी दर्ता गर्ने दिनसम्म संख्या वृद्धि हुने देखिएको छ । महाधिवेशन संयोजक रामवहादुर थापा ‘वादल’ र सहसंयोजक सुरेन्द्र पाण्डे दुवैजना पदाधिकारीमा चाहना व्यक्त गर्नुभएको छ । नेता वादलले वरिष्ठ उपाध्यक्षमा र पाण्डेले महासचिवमा चाहना व्यक्त गर्नुभएको छ । उहाँहरु सहमति भए पनि नभए पनि उम्मेदवारी दिने तयारीमा रहनुभएको छ । जिल्लाका नेताहरु आफ्नै ठाउँमा आयोजना भएको महाधिवेशनमा उठ्न पाए जितिन्छ भन्ने आशाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारीमा रहेको देखिन्छ।
केन्द्रीय सदस्यहरुमा दाबी गर्नेमा कृष्णभक्त पोखरेल, काशिनाथ अधिकारी, सीता पौडेल, देवी ज्ञवाली, कपिल पोखरेल, दिलकुमारी रावल ‘पार्वती’, विजय सुवेदी, जेएन थपलिया, दावा दोर्जे लामा, प्रभा बराल, हरि सापकोटा, बाबुराम खरेल, पुरुषोत्तम न्यौपाने र नारायण वनलगायतका रहनुभएको छ ।

काशिनाथ अधिकारी प्रदेश सह–इञ्चार्ज, चितवन इञ्चार्ज हुनुहुन्छ । वि.सं. २०४० सालमा चितवन अध्यक्ष बन्नुभएकी सीता पौडेल गण्डकी प्रदेश प्रमुख समेत बन्नु भएको थियो । उहाँ अनेमसंघको केन्द्रीय अध्यक्ष तथा प्रधानमन्त्री ओलीका पालामा विज्ञ समूहमा समेत रहनु भएको थियो । देवी ज्ञवाली २०७४ को स्थानीय निर्वाचनमा भरतपुर महानगरमा मेयरमा पराजित हुनुभएको थियो । भूमि सम्बन्धी समस्या समाधान आयोगमा अध्यक्ष भएर काम गर्नुभएको थियो ।

हालका केन्द्रीय सदस्य कपिल पोखरेल एमालेका पुराना नेता हुनुहुन्छ । कृष्णभक्त पोखरेल प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति हुनुहुन्छ । उहाँ दुई पटक सांसद बनिसक्नुभएको छ । राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापति दिलकुमारी रावल पार्वती हाल एमाले चितवनको अध्यक्ष हुनुहुन्छ । उहाँ तत्कालीन एमाले चितवनको सचिवमा निर्वाचित हुनुभएको थियो । तीन पटक एमाले चितवनको नेतृत्व सम्हाल्नुभएको विजय सुवेदी वागमती प्रदेशको सामाजिक विकास मन्त्री समेत बन्नुभएको थियो ।

जेएन थपलिया एमाले चितवनका पूर्व जिल्ला अध्यक्ष हुनुहुन्छ । वागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलका राजनीतिक सल्लाहकारका रुपमा थपलियाले काम गर्नुभएको थियो । बागमती प्रदेशको भूमि, कृषि तथा सहकारी विकास मन्त्री बनेर काम गरिसकेका दावा दोर्जे लामाले केन्द्रीय सदस्यमा दाबी गर्नुभएको छ । हाल वागमती प्रदेश कमिटी सदस्य बाबुराम खरेलले केन्द्रीय सदस्यमा दाबी गर्नु भएको छ ।

माओवादी पृष्ठभूमिका खरेल पार्टी विभाजनपछि बादल नेतृत्वको पार्टीमा लाग्नुभएको थियो । पुरुषोतम न्यौपाने एमालेका पुराना त्यागी नेताका रुपमा रहनुभएको छ । त्यसैगरी, रत्ननगर नगरपालिका प्रमुख नारायण वन पनि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको छ । मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा एमालेको महाधिवेशन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्