एमाले महाधिवेशनले चितवनमा होटल कोठा पाउन मुस्किल

एमाले महाधिवेशनले चितवनमा होटल कोठा पाउन मुस्किल

शालिग्राम नेपाल
चितवन । नेकपा (एमाले) को दशौं महाधिवेशनका कारण चितवनमा पहिलो पटक जिल्लाका सबै होटल भरिएका छन् । १२ हजारभन्दा धेरै वेड क्षमता भएको चितवनका होटलहरु अहिले भरिएको होटल व्यवसायीहरुले जानकारी दिएका छन् ।

पर्यटकीय नगरी सौराहामा रहेको ६ हजार ५०० वेड मंसिर १३ गतेसम्मको लागि भरिएको छ । सौराहा बाहेकका टाँडी, पर्सा, भरतपुर नारायणगढ, पटिहानी सबै क्षेत्रमा होटलका कोठा भरिएका छन् । चितवनको इतिहासमा एकै पटक यसरी होटल भरिएको पहिलो पटक भएको चितवन पर्यटन विकास समितिका महासचिव विश्व सुवेदीले बताउनुभयो । पर्यटन प्रवद्र्धनको हिसाबले चितवनलाई एमालेको महाधिवेशन वरदान सावित भएको छ । जिल्लामा रहेका १२ हजारदेखि १५ हजार वेड अहिले भरिएका छन् । जिल्लाका सानादेखि ठूला सबै होटलका वेड बुक भएको उहाँले बताउनुभयो ।

क्षेत्रीय होटल संघ सौराहका अध्यक्ष दिपक भट्टराईले सौराहाका होटलमा कोठा चाहियो भनेर आएमा हामीले दिन सक्दैनौ । होटलमा कोठा नभएर व्यक्तिको घरमा समेत पाहुना वस्न थाल्नुभएको छ उहाँले भन्नुभयो ।

नेकपा (एमाले) ले मात्र सौराहामा ३ हजार ५०० कोठा बुकिङ् गरेको भएपनि सोभन्दा धेरै एमाले महाधिवेशन हेर्न आउने र पर्यटकले बुक गरेको भट्टराईले जानकारी दिनुभयो ।

होटल व्यावसायी संघ चितवन नारायणगढ इकाइका अध्यक्ष एवम् चितवनभर रहेका ८ वटा इकाइका संयोजक कृष्ण महतोले चितवन र नवलपरासीको गैंडाकोटका सानाठूला गरी सबै होटल भरिएको जानकारी दिनुभयो ।

होटल व्यावसायी संघ चितवनका पूर्वअध्यक्ष एवम् महासंघका केन्द्रीय उपाध्यक्ष इमान्दु बारालकाअनुसार चितवनमा ६०० को हाराहारीमा साना–ठूला लजसहितका होटल रहेका छन् । ती होटलमा लगभग ८ देखि १० हजार जनासम्म अटाउन सक्छन् ।

उहाँले सौराह, नारायणगढ र गैंडाकोट क्षेत्रमा अब कोठा पाउन मुस्किल रहेको बताउँदै मेघौलीतर्फ पनि ध्यान दिन आग्रह गर्नुभयो । मेघौलीमा रहेका ३०–३५ वटा होटलहरुमा करिब ५०० जना अटाउन सक्ने क्षमता रहेको बरालले जानकारी दिनुभयो ।

होटल व्यवसायी संघ वरिष्ठ उपाध्यक्ष दिनेश चुकेले चितवनका लागि यो महाधिवेशनले पर्यटन क्षेत्रमा तीन वर्षसम्म प्रचार गर्न नपर्ने गरी सकरात्मक प्रभाव छाडेको बताउनुभयो । अहिले जिल्लाका राम्रा होटल कुनैपनि खाली नरहेको बताउनुभयो ।

एमालेको १० औं महाधिवेशनको उद्घाटनसत्र शुक्रबार नारायणगढको नारायणी किनारमा हुनेछ भने बन्दसत्र ११ र १२ गते सौराहाको होटल सेभेन स्टारमा हुनेछ । होटल खोजेर आउने अन्य सर्वसाधारणले समेत वस्न पाएका छैेनन् । अन्य समयामा ८०० रुपियाँमा जाने होटलका कोठा अहिले १५०० रुपियाँसम्म लिन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्