आरती स्ट्रिप्समा कुटपिट प्रकरण : आर्थिक लेनदेनमा घटना मिलापत्र

आरती स्ट्रिप्समा कुटपिट प्रकरण : आर्थिक लेनदेनमा घटना मिलापत्र

विराटनगर । मोरङको बुढीगंगास्थित आरती स्ट्रिप्सका सञ्चालक सन्जय सिंघलसहितका संचालकहरूले सोही उद्योगका जनसम्पर्क प्रमुख दिवस नेपालमाथि निर्घात कुटपिटको घटना आर्थिक लेनदेनमा टुङगाएको पाइएको छ ।

आरती स्ट्रिप्सका संचालक सञ्जय सिंघलसहितका संचालकहरूले बधुबार साझ नेपाललाई निर्घात कुटपिट गरेको घटना २४ घण्टा बित्न नपाउँदै आर्थिक लेनदेनमा घटना मिलाईएको हो ।

कुटपिटको घटना मिलाउन नेपाली काँग्रेसका केन्द्रीय नेतादेखि जिल्लाका नेताहरू लागेको थिए । कर्मचारी कुटेको आरोपका सिंघल बुधबार राती पक्राउ परेका थिए । उनी पक्राउ परेलगतै राजनीतिक नेतृत्वको दबाबमा प्रहरीले ९ बजे राती सिंघललाई छोडिदियो । बिहीबार बिहान घाइते भएका नेपाललाई उपचार खर्चसहित लाखौं रूपैयाँ दिने सहमति भएपछि कुटपिट गर्ने विरुद्ध कारवाहीको प्रक्रिया अगाडि नबढाइ विवाद सहमतिमा टुङग्याउने सहमति गरेका हुन् ।

काँग्रेसका नेता डा. शेखर कोइरालाको दबाबमा मिलापत्र गर्न भनिएको र रातारात सहमतिको प्रयास लेनदेनमा गएर टुंगो लागेको स्रोतको दाबी छ । घाइते भनिएका नेपाल नेपाली कांग्रेस विराटनगरका सह–सचिव हुन् । दुवै पक्षले कुनै पनि उजुरबाजुर नगर्ने भन्दै मेलमिलाप भएको छलफलमा सहभागी काँग्रेसका एक नेताले बताए । ‘पीडित र पीडकबीच मुद्दा मामिला नगर्ने सहमति भएपछि प्रहरीमा जाहेरी नदिने निचोडमा पुगियो,’ छलफलमा सहभागी ती नेताले भने, ‘दुवै पक्षबीच सहमति गरेको पत्र मोरङ प्रहरी कार्यालयमा बिहीबार ११ बजे बुझाइएको छ ।’
‘आपसी विवाद रहेको थियो । एक आपसमा मेलमिलाप भएकोले यस घटनालाई उजुरबाजुर नगर्ने भन्दै घटना अगाडि नबढाइ यही ढुङग्याउँछौं,’ दुवै पक्षले गरेको सहमति पत्रमा उल्लेख छ । घाइते भनिएका दिवस नेपालले पनि सिंघलविरुद्ध बिहीबार कार्यालय खुल्ने समयसम्ममा जिल्ला प्रहरी कार्यालयमा जाहेरी नदिएको मोरङ प्रहरीका प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिए । घटनामा पीडितले उजुरी नगरेपछि प्रक्रिया अगाडि नबढाएको बताए । ‘पीडित भनिएका व्यक्ति नपाएपछि प्रहरीले प्रक्रिया अगाडि बढाउने कुरै भएन,’ उनले भने ।

सांघातिक आक्रमणबाट नेपालको टाउकोमा गम्भीर चोट लागेको थियो । सिंघलसहितको टोलीले बन्दुक देखाएर कुटपिट गरेको पीडित नेपालको गुनासो थियो । सिंघलले ‘मारिदे कति पैसा लाग्छ म तिर्छु’ भन्दै आरती स्ट्रिप्सका भाइस प्रेसिडेन्ट विशाल गुप्तालाई पेस्तोल दिएको उनले बताए । गुप्ताले पेस्तोल देखाएपछि सञ्जय सिंघल र निर्देशक एसपी बर्मासहितको टोलीले आक्रमण गरेको नेपालको गुनासो थियो । गोली हान्न खोज्दा आफूले ज्यान जोगाएको उनले संचारकर्मीहलाई उपचारको क्रममा कोशी अस्पतालमा बताएका थिए । ‘मार्दे जति पैसा लाग्छ म खर्च गर्छु भन्दै सञ्जय सिंघलले पेस्तोल विशाल गुप्तालाई दिए,’ नेपालले संचारकर्मीसँग भने, ‘पेस्तोल देखाएपछि मैले पनि प्रतिकार गरेँ ।’

आरती स्ट्रिप्स भारतीय लगानीको उद्योग हो । उद्योगले जस्तापाता र पाइप उत्पादन गर्दै आएको छ । स्रोतका अनुसार केही समयअघिदेखि नै नेपाल र सञ्चालकबीच विवाद हुँदै आएको थियो । सञ्चालकले नेपाललाई निकाल्न खोजेको तर उनले ठूलो रकम माग गर्दा अहिलेको घटना भएको हो, ‘स्रोत भन्छ, ‘पैसाको डिमान्ड धेरै भएपछि यतिसम्मको घटना हुन पुगेको देखिन्छ ।’ नेपालले उद्योग सञ्चालकसँग कति रकम माग गरेका थिए एकिन भएको छैन । सिंघलले यसअघि पनि ईन्द्रजीत गर्ग, संजीव शर्मा र नागेन्द्र सिंहलगायत कर्मचारीलाई कुटपिट गरेको आरोप लागेको छ । उनीहरूले सिंघलको आक्रमणपछि काम छाडेको एक कर्मचारीले बताए । ईन्द्रजीतलाई सिंघलले कुटपिट गरेपछि उक्त घटना जिल्ला प्रशासन कार्यालय हुँदै मोरङ प्रहरीमा पुगेको थियो । दुई वर्षको सो घटनामा सिंघलले पीडितलाई त्यसबेला ७ लाख रुपैयाँ दिएपछि घटना मिलाएको बिचौलिएको भूमिका खेल्ने एक नेताले बताए ।

त्यसबेलाको घटना मिलाउने भूमिका खेल्ने नेताहरुले पनि २ देखि ३ लाख रुपैयाँसम्म आरती स्ट्रिप्सबाट लिएका थिए ।

हाम्रोमतबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्