विराटनगरस्थित गोल्डेन अस्पतालको तेश्रो तलाबाट हाम फालेर आत्महत्या

विराटनगरस्थित गोल्डेन अस्पतालको तेश्रो तलाबाट हाम फालेर आत्महत्या

विराटनगर । विराटनगरस्थित गोल्डेन अस्पतालको तेश्रो तलाबाट हाल फालेर एकजना बिरामीले आत्महत्या गरेका छन् ।

मोरङको धनपालथान गाउँपालिका–१ नोचाका ३५ बर्षिय शिवकुमार मण्डलले उपचार गरेको खर्च तिर्न नसकेपछि हस्पिटलबाट हाम फालेर शुक्रबार आत्महत्या गरेका हुन् । उपचार गराउँदा लागेको खर्च नतिरेको भन्दै गोल्डेन अस्पतालले ३ दिनदेखि मण्डललाई घर जान नदिई बन्धक बनाई राखेको थियो । उपचारमा लागेको खर्च तिर्न नसकेका कारण घर जान नपाएका बिरामीले अस्पतालको तेश्रो तलाबाट हामफालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । अस्पतालको तेश्रो तलाबाट हाम फालेपछि मण्डलको टाउको तथा शरीरका विभिन्न भागमा गहिरो चोट लागेको थियो । अस्पतालको आकस्मिक कक्षमा पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

छारेरोग र मानसिक समस्या भएपछि उनलाई उपचारका लागि मंसिर ३ गते गोल्डेन ल्याईएको थियो । अस्पतालले आइसियुमा राखेर उनको उपचार गरिरहेको थियो । स्वास्थ्यमा सुधार हुँदै गएपछि आइसियुबाट जेनरल वार्डमा सारेर अस्पतालले मण्डललाई मंसिर ७ गते डिस्चार्ज दिएको थियो । तर उपचार बापतको २१ हजार रूपैयाँ तिर्न नसक्दा परिवारका सदस्यले घर लैजान पाईरहेका थिएनन् ।

मृतकका आफन्त श्रीराम कामतका अनुसार उपचारमा लागेको पैसा नतिरेसम्म बिरामीलाई लैजान नदिने भनेर अस्पतालले नै बन्धक बनाएर राखेको हो । हस्पिटलको लापरबाहीको कारणले बिरामीको मृत्यु भएको उनले आवर विराटनगरलाई बताए । ‘हस्पिटलमा बिरामी भर्ना भएको ठाउँमा स्वास्थ्यकर्मी, सुरक्षागार्ड सबै हुन्छन् । कसरी बिरामीले माथिबाट हाम फाल्न सक्छ ?’, कामतले भने, ‘यो सरासर हस्पिटलको लापरबाहीले बिरामीको मृत्यु भएको पुष्टि हुन्छ ।’

लापरवाही गर्ने हस्पिटललाई कारबाही हुनुपर्ने र मृतक परिवारलाई क्षतिपूर्ति दिईनुपर्ने मृत्तकका आफन्तको माग छ । मृतकको ५ वर्षको छोरा र ४ बर्षीया छोरी र श्रीमती छन् । अस्पतालका अनुसार मण्डलको उपचारमा जम्मा ३८ हजार रूपैयाँ खर्च भएको थियो । उनको पारिवारिक आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको बताइन्छ । उपचारमा लागेको खर्चमध्ये १७ हजार रूपैयाँ मात्रै परिवारले तिर्न सकेको जनाईएको छ । बाँकी २१ हजार रूपैयाँ तिर्न नसकेका कारण मण्डललाई अस्पतालले घर जान दिएको थिएन । उनलाई अस्पतालमा रुँगेर उनकै सासू बसेकी थिइन् । प्रहरीका अनुसार सासू शौचालय गएका बेला मण्डलले अस्पतालबाट हाम फालेका हुन् ।

गोल्डेन अस्पतालका प्रशासकीय अधिकृत सन्तोष मेहताले बिरामीको डिस्र्चाज भएकोले अस्पतालले जतिसक्दो चाँडो घर लैजानु भनेर भनिरहेको भएपनि परिवारका सदस्यले नै पैसा तिरेर मात्रै लैजान्छौं भन्दै बिरामीलाई राख्दा अहिले यस्तो घटना भएको बताए । ‘बिरामीमा मानसिक समस्या पनि रहेछ । उनले देखाउने अस्वभाविक व्यवहारले अरु बिरामीलाई पनि धेरै असर गरिरहेको थियो,’ उनले भने, ‘त्यही भएकाले चाँडै घर लगिदिए हुन्थ्यो भन्ने चाहना अस्पतालको पनि थियो । तर परिवारले नलगेका कारण आज यस्तो घटना भइदियो ।’
मेहताका अनुसार अस्वभाविक व्यवहार देखाउने गरेका कारण बिरामीलाई अस्पतालका कर्मचारी र सुरक्षागार्डको निगरानीमा राखिएको थियो । यद्यपि अस्पतालको शैयाबाट भागेर मण्डलले हाम फालेको उनले बताए ।

यसअघि पनि गोल्डेन अस्पतालबाट भने एकजना बिरामीले फाम फालेर घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्