मोरङका १६ स्थानीय तहमा माओवादी केन्द्रको अधिवेशन, दुईवटामा नेतृत्व चयन

मोरङका १६ स्थानीय तहमा माओवादी केन्द्रको अधिवेशन, दुईवटामा नेतृत्व चयन

विराटनगर । मोरङका १६ स्थानीय तहहरुमा माओवादी केन्द्रले शनिबार अधिवेशन उद्घाटन गरेको छ । विराटनगर महानगरपालिका बाहेक मोरङका सबै नगरपालिका र गाउँपालिकामा अधिवेशन उद्घाटन भएको हो ।

शनिबार एकसाथ १६ पालिकामा अधिवेशन उद्घाटन भएपछि सबै पालिकाहरुमा अपरान्हबाट बन्दसत्र सुरु भएको नेकपा माओवादी केन्द्र मोरङका संयोजक गणेश उप्रेती सुशिलले जानकारी दिए । शनिबार साँझसम्म रंगेलीमा श्री अधिकारीको अध्यक्षतामा र सुनवर्षीमा जयन्त दासको अध्यक्षतामा कमिटि निर्वाचित भएको छ ।

बन्दसत्र अघि ८ नगरपालिका र ८ गाउँपालिका समितिको नेतृत्वका आकांक्षीहरुले विभिन्न पदका लागि मनोनयद दर्ता गराएका थिए । मनोनयन दर्ता पछि अधिकांश पालिकामा सहमतिका लागि छलफल र पहल भइरहेको संयोजक उप्रेतीले जानकारी गराए ।
बन्दसत्रमा अधिकांश स्थानीय तहहरुमा सर्वसम्मत नयाँ नेतृत्व निर्वाचित हुने सम्भावना रहेको उनले बताएका छन् । ‘धेरै पालिकाहरुमा पालिका समितिका सदस्यहरुमा सहमति बन्ने अवस्था छ तर पदाधिकारीहरुमा भने केही ठाउँमा मतदान नै गर्नुपर्ने अवस्था देखिन्छ,’ संयोजक उप्रेतीले भने । जारी अधिवेशनका क्रममा कानेपोखरी गाउँपालिका, उर्लाबारी, बेलबारी र रतुवामाई नगरपालिकामा पदाधिकारीमा सहमति जुट्ने सम्भावना न्यून रहेकोले मतदातको प्रकृया अघि बढ्न सक्ने उनले जानकारी दिए ।

नेकपा माओवादी केन्द्रले स्थानीय पालिका समितिमा अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष गरी ७ जना पदाधिकारी रहने व्यवस्था गरेको छ । सात जना पदाधिकारी निर्वाचित गर्दा एक अध्यक्ष र तीन उपाध्यक्ष मध्ये एक जना महिला अनिवार्य निर्वाचित गर्नुपर्ने, सचिव, सहसचिव र कोषाध्यक्ष मध्ये एकजना महिला अनिवार्य हुने व्यवस्था पनि गरेको छ । गाउँपालिकामा ५५ सदस्यीय समिटि गठन हुने छ भने नगरपालिकामा ६५ सदस्यीय समिति बन्ने छन् । समितिमा महिलाका लागि ३५ सिट आरक्षित गरिएको छ । यस्तै दलितका लागि १० प्रतिशत र युवाका लागि २० प्रतिशत सिट विधानबाटै सुनिश्चित गरिएको छ ।

मोरङका १७ स्थानीय तहहरुमध्ये विराटनगर महानगरपालिकाको अधिवेशन भने मंसिर १६ गतेका लागि आव्हान गरिएको छ । मंसिर १६ गते अर्थ मन्त्री जनर्दन शर्माले महानगरको अधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय भएको संयोजक उप्रेतीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्