वैदेशिक रोजगारीबाट फर्केकालाई पुनः एकीकरण गर्ने योजना

वैदेशिक रोजगारीबाट फर्केकालाई पुनः एकीकरण गर्ने योजना

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सरकार वैदेशिक रोजगारीबाट फर्केकाहरूको पुनः एकीकरण गर्ने योजनामा रहेको बताउनुभएको छ । यही मङ्सिर १६ र १७ गते राजधानीमा हुने द्विपक्षीय श्रम सम्झौतासम्बन्धी संयन्त्र नेपाल–कतार संयुक्त कार्यसमितिको बैठक तयारीका सिलसिलामा सरोकारवालासँगको छलफलमा उहाँले सो कुरा बताउनुुभएको हो ।

मन्त्री श्रेष्ठले सरकार विदेशमा श्रम गरेर फर्केकालाई त्यहाँ जानेको सीपको बजार सुनिश्चित गर्न पुनः एकीकरण योजना सरकारको प्राथमिकताका साथ काम गरेको बताउनुभयो । वैदेशिक रोजगार व्यवसायीबीचको अस्वस्थ प्रतिस्पर्धाप्रति असन्तुष्टि जनाउँदै उहाँले वैदेशिक रोजगारसम्बन्धी कानुनको कडाइका साथ कार्यान्वयन गरिने दृढता व्यक्त गर्नुभयो । उहाँले ‘भिजिट भिसा’मा नेपालीलाई विदेश पठाउन सघाउने वैदेशिक रोजगार व्यवसायीलाई कारबाही गर्ने चेतावनी पनि दिनुभयो ।

श्रम तथा रोजगार सामाजिक सुरक्षा मन्त्रालयका उच्च अधिकारीका साथै वैदेशिक श्रमसम्बन्धी विज्ञ र वैदेशिक रोजगार व्यवसायीको बाक्लो उपस्थिति थियो । छलफलमा दिइएको जानकारीअनुसार हाल कतारमा साढे तीन लाखभन्दा धेरै नेपाली कार्यरत छन् । यसैबीच मन्त्री श्रेष्ठले सुरक्षित आप्रवासन परियोजना (सामी)मार्फत लक्षित वर्गले सही सूचना पाएको बताउनुुभयो । उहाँले विदेशबाट आउने रकम अनुत्पादक क्षेत्रमा खर्च भइरहेको अवस्थामा उक्त रकमको सही सदुपयोग र उत्पादनमूलक क्षेत्रमा लगानीका लागि परियोजनाले आवश्यक सूचना, परामर्श र सीप प्रदान गर्न थप भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याउनुुभयो ।

सुरक्षित आप्रवासन परियोजना (सामी) नेपाल सरकार र स्विस सरकारबीच भएको द्विपक्षीय सम्झौताअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा सञ्चालित छ । सुरक्षित आप्रवासन परियोजना (सामी)ले वैदेशिक रोजगारमा जान चाहने, वैदेशिक रोजगारीमा कार्यरत व्यक्ति र उनीहरूको परिवारलाई सुरक्षित वैदेशिक रोजगारसम्बन्धी सूचनाको पहुँच र अभिमुखीकरण कार्यक्रम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्