विराटनगर आँखा अस्पताललाई तीनलाख जरिवाना : एक हजार दुईसयकोे लेन्स दुई हजार छ सयमा बिक्री

विराटनगर आँखा अस्पताललाई तीनलाख जरिवाना :  एक हजार दुईसयकोे लेन्स दुई हजार छ सयमा बिक्री

विराटनगर । बजार मूल्य भन्दा शतप्रतिशत महंगोमा चस्मा बिक्री गरेर सेवाग्राही ठगी गर्ने विराटनगर आँखा अस्पताललाई तीनलाख रुपिँया जरिवाना गरिएको छ । सेवाग्राहीलाई एकहजार २०० बजार मूल्य पर्ने चस्माको लेन्स २ हजार ६०० मा बिक्री गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले जरिवाना गरेको हो ।

विराटनगर–११ निवासी एकजना उपभोक्ताले चिकित्सकलाई आँखा परीक्षण गराएर सिफारिस अनुसारको लेन्स अस्पतालमा खरिद गरेकी थिइन् । उक्त लेन्सको उत्पादन मूल्य २ हजार ५०० कायम गरेर अस्पतालले २ हजार ६०० मा बिक्री गरेपछि सेवाग्राहीले जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेकी थिइन् ।
त्यसैका आधारमा वाणिज्य, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिले लेन्सको प्रचलित बजार मूल्य बारे अध्ययन गरेको थियो । अध्ययनका क्रममा विराटनगरका अन्य आँखा अस्पतालमा एक हजार २०० रुपिँया मात्रै पर्ने पाइएपछि विराटनगर आँखा अस्पतालले उपभोक्ता ठगी गर्ने गरेको पुष्टि भएको थियो ।

वाणिज्य कार्यालय विराटनगरका निमित्त प्रमुख सन्तोष पोखरेलले औसत मूल्य भन्दा सय प्रतिशत बढी मूल्य कायम गरेर चस्मा बिक्री गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम अनु्चित व्यापारिक कृयाकलाप गरेको कसुरमा ऐनको दफा ३९ (ख) बमोजिम जरिवाना असुल गरेको जानकारी दिनुभयो ।

अनुगमनकै क्रममा उपभोक्तासँग बढी असुल गरेको रकम फिर्ता गर्न समेत अस्पताललाई निर्देशन गरिएको छ । अस्पताललाई खरिद बिलका आधारमा २० प्रतिशत भन्दा बढी मूनाफा राखेर सामान बिक्री नगर्न समेत निर्देशन गरिएको निमित्त प्रमुख पोखरेलले जानकारी दिनुभयो ।
नेत्र ज्योती संघद्वारा सञ्चालित विराटनगर आँखा अस्पताल गैरनाफामूलक मानिन्छ । यस्तो अस्पतालमै उपभोक्ता ठगीने गरेको तथ्य बाहिर आएपछि वाणिज्य कार्यालयले अनुचित व्यापारिक कृयाकलाप गरेर व्यापार गर्ने विरुद्ध उजुरी गर्न उपभोक्ता तथा सेवाग्राहीलाई अनुरोध गरेको छ । बजारमा सामान खरिद गर्दा अनुचित मूल्य लिइएको आशंका भए उजुरी गर्न सकिने उपभोक्ताका लागि सूचना जारी गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्