अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा निषेध

अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा निषेध

काठमाडौँ । गृह मन्त्रालयले कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भाइरस सङ्क्रमणको जोखिम नियन्त्रण तथा रोकथामका लागि अफ्रिकी देशका नागरिकलाई अर्को व्यवस्था नभएसम्म नेपाल प्रवेशमा निषेध गरेको छ ।

कूूटनीतिक नियोग, अफिसियल र आपत्कालीन कामबाहेक अफ्रिकी मुलुकबाट आउने नागरिकको प्रवेशमा रोक लगाउन अध्यागमन विभाग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय र सीमा नाकामा रहेका प्रशासन कार्यालयलाई आन्तरिक
परिपत्र गरिएको छ ।

गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले कोभिड–१९ को नयाँ भेरियन्ट फैलिएका अफ्रिकी मुलुकका नागरिकलाई निषेध गरिएको बताउनुभयो । अन्य देशमा पनि फैलिएको सूचना आएको छ तर आधिकारिक जानकारी नभएकाले पहिलो चरणमा अफ्रिकी नागरिकलाई रोक लगाइएको
उहाँले स्पष्ट पार्नुभयो ।

अध्यागमन विभागले पनि मन्त्रालयबाट प्राप्त निर्देशन आफू मातहत अध्यागमन कार्यालयलाई परिपत्र गरिसकेको जनाएको छ । अफ्रिका र युरोपलगायतका मुलुकमा देखा परेको कोभिड–१९ को नयाँ भेरियन्ट निकै घातक रहेको दाबी स्वास्थ्य विज्ञहरूको छ । त्यस्तै अफ्रिकी मुलुक हुँदै यात्रा गरेर नेपाल प्रवेश गर्ने अन्य देशका नागरिकमाथि समेत उच्च निगरानी राखी कोरोना परीक्षण रिपोर्ट, खोपको मात्रा र स्वास्थ्य अवस्थाका बारेमा आवश्यक विवरण सङ्कलन गर्नसमेत निर्देशन दिइएको छ ।

नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण जोखिम बढेसँगै विश्वका एक दर्जनभन्दा बढी देशले अन्य देशका नागरिकको प्रवेशमा रोक लगाउन थालेका छन् । कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्र (सीसीएमसी)ले पनि नयाँ भेरियन्ट रोकथाम तथा नियन्त्रणका लागि छलफल गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्