विराटनगर–बथनाहा रेलमार्ग विस्तार एकवर्षमा सम्पन्न हुने

विराटनगर–बथनाहा रेलमार्ग विस्तार एकवर्षमा सम्पन्न हुने

विराटनगर । भारतको बथनाहदेखि मोरङको कटहरीसम्म रेलमार्ग विस्तार एकवर्षमा सम्पन्न गर्ने गरि अगाडी बढेको छ । रेलमार्गको १८.६ किलोमिटरमध्ये निर्माण सकिएको ७ किलोमिटर दुरी बाहेकको काम समेत ७० प्रतिशत सम्पन्न भएको हो ।

भारतको रेल–वे स्टेशन बथनाहादेखि आईसीपी इण्डिन कस्टमसम्म ५ किलोमिटर दुरीमा निर्माणको काम सम्पन्न भईसकेको छ । बुधनगरस्थित नेपाल कष्टर्म यार्ड र विराटनगर–१८ को लावाघाटसम्मको २ किलोमिटर दुरीको काम समेत सम्पन्न भईसकेको साइड इन्जिनियर रोशनकुमार देवले जानकारी दिनुभयो । लावाघाटदेखि मोरङको कटहरीतर्फको ४ किलोमिटर दुरीमा ट्रयाक ओछ्याउने र त्यसपछिको ८ किलोमिटर दुरीमा ट्रयाक खोल्ने काम सकिएको इन्जिनियर देवको दावी छ ।

कटहरीस्थित महेशपुरमा रेलको अन्तिम स्टेशनको बिल्डिङ्ग निर्माण र बाँकी रहेको एक किलोमिटर दुरीको काम समेत सुरु भएको उहाँले जानकारी दिनुभयो । विराटनगरको बुधनगरस्थित आइसीपीका लागि निर्माण गरिएको नेपाल कष्टर्म यार्डमा पैदल यात्रु हिँडडुल गर्नका लागि ओभर ब्रिजको निर्माण समेत सुरु गरिएको छ ।
कटहरी स्टेशनमा यार्ड र गोदामसहितका संरचना निर्माणका लागि स्थानीयसँग सहमति गरिएको छ । मुआब्जामा चित्त नबुझाएका स्थानीयसँग सर्वोच्चको आदेश अनुसार हुने सहमतिमा रेलमार्गको काम गर्न सहजीकरण गरिएको हो । अहिलेकै स्थिति रहेमा आगामी वर्ष भित्रमा काम सम्पन्न गर्ने दावी भारतीय निर्माण कम्पनि इरकोनले गर्दै आएको इन्जिनियर देवले बताउनुभयो । सरकारले रेलमार्ग निर्माणका लागि ५६५ जग्गाधनीबाट ११९ बिघा जमिन अधिग्रहण गरेको थियो । जसमध्ये अब तीनवटा कित्ता जग्गा मात्रै रेलविभागको स्वामित्वमा आउन बाँकी रहेको छ । मुआब्जामा चित्त नबुझाएका कटहरी–१ का २२ घर स्थानीयले अदालतको आदेश अनुसारको निर्णय मान्न तयार भएर निर्माणको काम गर्न दिने सहमति दिएको इन्जियिर देवले बताउनुभयो ।

बुधनगरको नेपाल कष्टम यार्डसम्म २०७५ साल कार्तिक १८ गते रेलको लिकमा रेल इन्जिन समेत परीक्षण गरिएसकिएको थियो । त्यहाँसम्म रेल ल्याउन सकिने विषयमा सरकारीस्तरमा छलफल भईरहेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोशीराज दाहालका अनुसार रेलमार्ग विस्तार र प्रगतिको विषयमा मंगलबार सम्बन्धित क्षेत्रका अधिकारीसँग छलफल बोलाइएको बताउनुभयो । उहाँले पछिल्लो समय आशालाग्दो गरि निर्माणको काम भईरहेको बताउनुभयो ।

रेल विभागबाट बथनाहा–कटहरी रेल मार्ग विस्तार परियोजनाका लागि साइड इन्जिनियर तोकिनु भएका देवका अनुसार सरकारको माथिल्लोस्तरमा बुधनगरसम्म मालवस्तु बोकेको रेल ल्याउने विषयमा छलफल चलिरहेको छ । विराटनगरका उद्योगी–व्यवसायीले बुधनगरसम्म कन्टेनरमा मालवस्तु बोकेर आएको रेललाई ल्याउन पहल गरिदिनु पर्ने माग गर्दै आएका छन् । परियोजनाको कुल लागत ३ अर्ब भारतीय रुपिँया रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्