नेपाली काँग्रेस महाधिवेशन प्रदेश १ : कोइराला वर्चश्वमाथि देउवाको प्रभाव

नेपाली काँग्रेस महाधिवेशन प्रदेश १ : कोइराला वर्चश्वमाथि देउवाको प्रभाव

कोइराला परिवारको एकछत्र प्रभाव रहेको मोरङमै पनि देउवा पक्षको बलियो उपस्थिति
विराटनगर । नेपाली काँग्रेसको १३ औं महाधिवेशनसम्म कोइराला पक्षको करिब एकछत्र वर्चश्व रहेको प्रदेश १ (तत्कालीन पूर्वाञ्चल) मा १४ औं महाधिवेशनसम्म आइपुग्दा शेरबहादुर देउवा समूहले जबरजस्त उपस्थिति देखाएको छ ।

प्रदेशका जिल्ला सभापतिहरुमा कोइराला–पौडेल समूहसँग देउवा पक्ष हाराहारी संख्यामा सफलता पाउने अवस्थामा देखिएको छ । काँग्रेसभित्र सभापति शेरबहादुर देउवा र इतर पक्षबीच तीव्र प्रतिस्पर्धा छ ।

काँग्रेसमा कोइराला परिवारको पुरानो राजनीतिक विरासत भएको ठाउँ मानिने प्रदेश १ मा यसपटक सभापति शेरबहादुर देउवा पक्षले उल्लेख्य सफलता हात पारेको छ । कोइराला परिवारको एकछत्र प्रभाव रहेको मोरङमै पनि देउवा पक्षले बलियो उपस्थिति देखाएको छ । कोइराला पहिलो चरणमा निर्वाचित हुन नसक्ने अवस्थामा पुग्यो । केन्द्रमा देउवासँग कृष्णप्रसाद सिटौला मिलेको खबर आइरहँदा पौडेल–कोइराला पक्षले प्रदेशमा चुनौती महसुस गरेको देखिन्छ ।

१३ औं अधिवेशनमा प्रदेश १ का १० जिल्लामा भएको काँग्रेस अधिवेशनमा देउवा पक्षले ओखलढुंगा सभापति मात्रै जितेको थियो । तर, १४ औं महाधिवेशनसम्म आइपुग्दा देउवा पक्षले प्रदेश १ मा उल्लेख्य शक्ति विस्तार गरेको छ ।

अहिलेसम्ममा प्रदेश १ का ९ जिल्लाको नतिजा आइसकेको छ । जसमा देउवा पक्षले ४, पौडेल –कोइराला पक्षले ४ र कृष्णप्रसाद सिटौला पक्षले १ जिल्लामा जिल्ला सभापति जितेका छन् । काँग्रेस सभापतिको दाबी गरिरहेका डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौला, उपसभापति दाबी गरेका महेश आचार्य, महामन्त्री दाबी गरेका विश्वप्रकाश शर्मा, मिनेन्द्र रिजाललगायत नेताहरूको गृहप्रदेशमा संस्थापन र इतर पक्ष जिल्ला नेतृत्वमा बराबरी हैसियतमा देखिएको छ ।

हालसम्म प्रदेश १ का जिल्लामध्ये देउवा (संस्थापन) पक्षबाट जिल्ला सभापति बन्नेहरुमा गजेन्द्र तुम्याहाङ ताप्लेजुङ, रूपनारायण जबेगु पाँचथर, तेजेन्द्र खनाल ओखलढुङ्गा र डम्बर खड्का इलाम छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल र शेखर कोइराला पक्षबाट जिल्ला सभापति निर्वाचित हुनेहरुमा दीपक खड्का संखुवासभा, अर्जुनबहादुर तुम्बाहाम्फे तेह्रथुम, विष्णु राई खोटाङ र विनोद बान्तवा भोजपुर छन् । झापामा कृष्णप्रसाद सिटौला निकट देउमान थेवे जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।

काँग्रेस राजनीतिका लागि खास प्रतिस्पर्धास्थल मानिने मोरङ र सुनसरीमा भने आइतबार साँझसम्म मतदान मात्रै सकिएको छ । डा. शेखर, महेश आचार्य, मिनेन्द्र रिजाललगायतको गृहजिल्ला मोरङ, उपसभापति विजयकुमार गच्छदार र नेता ज्ञानेन्द्रबहादुर कार्कीको जिल्ला सुनसरी तथा परराष्ट्रमन्त्री डा. नारायण खड्काको गृहजिल्ला उदयपुरको परिणाम आउन बाँकी छ । यस्तै काँग्रेस महामन्त्री सुनिलबहादुर थापाको गृहजिल्ला धनकुटाको पनि निर्वाचन स्थगित भएको छ ।

जिल्ला सभापतिहरुमा देउवा पक्षको प्रभाब बलियो देखिएपनि महाधिवेशन प्रतिनिधिहरुमा कस्तो उपस्थिति छ भन्ने यकिन भइसकेको छ । जिल्ला सभापतिहरुको नतिजा अनुसार महाधिवेशन प्रतिनिधि चयन भएको अवस्थामा पार्टी सभापतिको दावी गरिरहेका डा. शेखर कोइरालालाई ठूलो असर पुग्ने काँग्रेस कार्यकर्ताहरु बताउँछन् ।

प्रदेश १ मा प्रवक्ता विश्वप्रकाश शर्मा, नेताहरु ज्ञानेन्द्रबाहदुर कार्की, नारायण खड्का, अमृत अर्याल, रामहरि खतिवडा, भीष्मराज आङ्दम्बे देउवा निकट नेताहरु हुन् । यस्तै डा. शेखर कोइराला, मिनेन्द्र रिजाल, महेश आचार्य, सुजाता कोइराला, गुरुराज घिमिरेलगायत नेताहरु इतर पक्षमा छन् । नेता कृष्णप्रसाद सिटौलाले भने तेस्रो समूह सञ्चालन गरिरहेका छन् ।

साभार:हाम्रोमत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्