लुम्बिनी बौद्ध विश्वविद्यालय १७ औँ वर्षमा प्रवेश गर्दै

लुम्बिनी बौद्ध विश्वविद्यालय १७ औँ वर्षमा प्रवेश गर्दै

लक्ष्मण पौडेल
भैरहवा । लुम्बिनी बौद्ध विश्वविद्यालयले सोमबारदेखि १७ औं विश्वविद्यालय दिवस मनाउन सुरु गरिएको छ । वि.सं.२०६१ सालमा स्थापना भएको विश्वविद्यालयले २०७० सालदेखि लुम्बिनीमा पठनपाठन सुरु गरेको थियो ।

विश्वविद्यालयले बौद्ध अध्ययन संकाय, मानविकी तथा सामाजिक शास्त्र र विकास अध्ययन तथा प्रायोगिक विज्ञान संकाय अन्र्तगत विभिन्न विषय सञ्चालन गरिरहेको छ । लुम्बिनी, बुटवल र देवदहमा शैक्षिक कार्यक्रम सञ्चालनमा रहेका छन् । यो अवधिमा विश्वविद्यालयले शैक्षिक तथा प्रशासनिक भवन, केन्द्रीय कार्यालय भवन, केन्द्रीय पुस्तकालय भवन, केन्द्रीय क्याम्पस भवन, छात्रा वास (छात्रछात्रा), शिक्षक आवास गृह, पदाधिकारी आवास गृह, बुटवल सिटी कलेज निर्माण गरेको छ भने अनुसन्धान केन्द्र निर्माणाधीन अवस्थामा छ ।

विश्वविद्यालय दिवसको अवसरमा सोमबार बुटवलको नयाँगाउँस्थित सिटी कलेजमा रक्तदान कार्यक्रम गरिएको छ । त्यस्तै, मंगलबार लुम्बिनीमा मुटुरोग स्वास्थ्य शिबिर आयोजना हुँदैछ । स्वास्थ्य शिविरमा मुटुरोगसहित पेट, छात्ती तथा हार्डजोर्नीका १५ जना चिकित्सकहरु सहभागी हुनेछन् । यसका लागि विश्वविद्यालयले गंगालाल हृदयरोग केन्द्र र हर्ट टु हर्ट नेपालसँग सहकार्य गरेको छ ।

विश्वविद्यालय दिवसकै अवसरमा मंगलबार नै शान्ति, समझदारी तथा दीगो विकासका लागि पत्रकारिता कार्यशाला गोष्ठी हुनेछ भने सो गोष्ठीमा लुम्बिनी प्रदेशका २५ जना पत्रकारहरु सहभागी हुँदैछन् । सोही दिन नै बुद्धमूृर्ति पुजन कार्यक्रम रहेको विश्वविद्यालयले जनाएको छ । सोही दिन साँझ दीप प्रज्वलन कार्यक्रम समेत राखिएको छ । मङ्सिर १५ गते त्रियान प्रज्ञा सम्मेलन हुनेछ ।

सो सम्मेलनमा देशभरका बौद्ध विद्धानहरु सहभागी हुने विश्वविद्यालयले जनाएको छ । मङ्सिर १६ गते शान्ति र शिक्षाका लागि साइकल यात्रा आयोजना हुनेछ । बुटवलको सिटी कलेजबाट भैरहवा हुँदै ७० जना साइकलयात्री लुम्बिनी पुग्नेछन् । विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले बौद्ध संस्कृति र समृद्धि तथा बौद्ध शिक्षा शिक्षण पद्धतिमा केन्द्रित रहेर सम्मेलन गर्न लागिएको जानकारी दिनुभयो ।

“नेपालमा बौद्ध दर्शनका तीनवटा अभ्यास भैरहेका छन्, बौद्ध संस्कृतिसँग जोडिएका ती अभ्यासलाई समृद्धिसँग कसरी जोड्न सकिन्छ भन्ने उद्देश्यले सम्मेलन गर्न लागिएको हो”–उहाँले भन्नुभयो । रजिष्ट्रार आचार्यका अनुसार थेरवाद र महायान बौद्ध दर्शनका दुई पाटा हुन् । नेपालमा महायानभित्र पनि बज्रयानको संस्कृति रहेको र यसलाई समृद्धिसँग जोड्ने उपायका बारेमा सम्मेलनमा सहभागी विज्ञहरुले छलफल गर्नेछन् ।

प्रज्ञा सम्मेलनमा थेरवाद, महायान र बज्रयानको संस्कृति र समृद्धि विषयमा छ जना विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् । सम्मेलनमा सहभागी विज्ञहरुले बौद्ध शिक्षा र शिक्षण पद्धतिको विषयमा दोस्रो खण्डमा छलफल गर्नेछन् । त्यहाँ तीन जना विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् । मङ्सिर १६ गते घोषणापत्र जारी गर्दै सम्मेलन समापन हुने रजिष्ट्रार डा. आचार्यले बताउनुभयो । विश्वविद्यालयले नौ करोड २० लाखको लागतमा केन्द्रीय पुस्तकालय निर्माण गरेको छ ।

पुस्तकालय भवन तीन तलाको रहेको छ भने पुस्तकालयमा बैठक कक्ष, इ–लाइब्रेरी, पुस्तक कक्ष, आइटी रुम, भिडियो कन्फ्रेन्स रुम र पाँच सय क्षमताको सभाहल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्