नेपाली कांग्रेस मोरङ अधिवेशन : सभापति पदका उम्मेदवारलाई गच्छदारलाई बिष्टको समर्थन

नेपाली कांग्रेस मोरङ अधिवेशन : सभापति पदका उम्मेदवारलाई गच्छदारलाई बिष्टको समर्थन

विराटनगर । नेपाली कांग्रेस मोरङको सभापति पदका लागि हुने दोश्रो पटकको निर्वाचनमा दिलीप गच्छदारलाई यसअघिका प्रतिस्पर्धी यदु बिष्टले सघाउने भएका छन् ।

सोमबार पत्रकार सम्मेलन गर्दै बिष्टले नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा प्यानलका उम्मेदवार गच्छदारलाई समर्थन गर्ने बताएका छन् । उनले वैचारिक सिद्धान्त मिल्ने र आगामी ५ वर्षमा आफ्ना एजेण्डाहरुलाई निरन्तरता दिईने प्रतिबद्धताका आधारमा गच्छदारलाई समर्थन गरेको जानकारी दिएका छन् । ‘मैले निष्ठा, न्याय र सेवाका निम्त्ति राजनिति गर्नुपर्छ भन्ने जुन विचार व्यक्त गरेको छु, दिलीप जी पनि त्यसमा प्रतिबद्ध हुनुहुन्छ,’ उनले भने, ‘उहाँले मेरा विचारहरुमा थप प्रतिबद्धता व्यक्त गरि वैचारिक सहमति जनाउनुभएकाले मैले उहाँलाई समर्थन गरेको हुँ ।’

आईतबार भएको निर्वाचनमा सभापतिका कुनै पनि उम्मेद्वारले ५१ प्रतिशत मत नल्याएपछि सभापति पदका लागि दोश्रो चुनाव हुने भएको छ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला पक्ष हाबी रहेको मोरङमा समेत पहिलो चरणको मतदानबाट सभापतिको निक्र्यौल हुन नसकेपछि मोरङको नेतृत्व चयनका लागि दोश्रो निर्वाचनमा जानुपर्ने अवस्था छ ।

१४ औं महाधिवेशन अन्तरगत मोरङको अधिवेशनमा आईतबार ३ हजार ४ सय १४ मत खसेको थियो । आईतबार राती मतगणना हुँदा संस्थापनइतर पक्षका उम्मेदबार डिगबहादुर लिम्बुले १ हजार ५ सय ४४ मत प्राप्त गरे । शेरबहादुर देउवा निकट उम्मेद्वार दिलीप गच्छदारले १ हजार १ सय ६६ मत प्राप्त गर्दा कृष्णप्रसाद सिटौलासँग नजिक रहेका उम्मेद्वार यदुकुमार बिष्टले ५ सय ६३ मत प्राप्त गरेका थिए ।
पुनः हुने चुनावमा सबैभन्दा धेरै मत ल्याउने लिम्बु र दोस्रो हुने गच्छदारबिच प्रतिस्पर्धा हुनेछ । तर, बिष्टले गच्छदारलाई सघाउने भएपछि नेपाली कांग्रेसको मोरङको सभापतिमा भने दिलीप गच्छदार नै विजयी हुने निश्चित भएको छ ।

निर्वाचन समितिसँगको छलफलबाट चुनावको दोश्रो मिति तय गरिने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्