विद्युत चोरी गर्ने विराटनगरका ९ जना पक्राउ

विद्युत चोरी गर्ने विराटनगरका ९ जना पक्राउ

विराटनगर । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रको चुहावट नियन्त्रण टोलीले अनाधिकृत रुपमा विद्युत चुहावट गर्ने ९ जनालाई पक्राउ गरेको छ ।

प्राधिकरणलाई प्राप्त सुचनाको आधारमा मोरङ प्रहरी र विद्युत प्राधिकरणको संयुक्त टोलीले सोमबार उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरु विराटनगरका विभिन्न वडाका बासिन्दा हुन् । उनीहरुलाई उनीहरुले प्रयोग गरिरहेको विद्युतीय उपकरण सहित नियन्त्रणमा लिईएको प्राधिकरणले जनाएको छ ।

पक्राउ पर्नेहरु विराटनगर–६ बस्ने वर्ष २२ का मिलन कामत, वडा नंं. १२ बस्ने बर्ष ५६ का जोगी रिखियासन, बर्ष २८ का लखीचन्द ऋषिदेव, बर्ष २४ का कात्र्तिक ऋषिदेव, बर्ष ३२ का सम्भु ऋषिदेव, वडा नं. १४ बस्ने बर्ष ४५ का संजीव राजवंशी, बर्ष १८ का त्रिलोक यादव, वडा नं. १८ बस्ने बर्ष ३५ का चन्दन दास तजमा र बर्ष ६० का रामधरम महत्तो रहेका छन् ।

उनीहरुलाई विराटनगर वितरण केन्द्रका सुपरभाईजर लिलानाथ शर्मा नेतृत्वको टोलीले पक्राउ गरेको प्राधिकरणले जनाएको छ । पक्राउ परेकाहरु हाल मोरङ प्रहरीको नियन्त्रणमा रहेको केन्द्रका सुचना अधिकारी भरत केसीले बताए । उनले पक्राउ परेकाहरु उपर उनीहरुले खपत गरेको विद्युुत आधारमा कारबाही अघि बढाईने जानकारी दिए । ‘उनीहरुले कति चुहावट गरेका छन् त्यसको आधारमा कारबाही हुन्छ,’ उनले भने, ‘कति विद्युत खपत गरे भन्ने औसत तथ्याङ्क निकालिन्छ । त्यसको आधारमा दण्ड जरिवाना हुन्छ । यस्तो केसमा सामान्यतः जरिवाना तिरेर उनीहरु निस्कन्छन् ।’

नियमित अनुगमनको अभावमा मोरङको ग्रामीण भेगहरुमा पछिल्लो समय मुल प्रसारण लाईनबाट हुकिङ गरि विद्युत चुहावट गर्र्नेहरुको संख्या बढ्दै गएको छ । विभिन्न कारणले अनुगमन टोेली भित्री गाउँबस्तीमा पुग्न नसकेको बिषयको फाईदा उठाउँदै मिटर जडान गरेका सेवाग्राहीहरुले पनि विद्युत चोरी गर्ने गरेको प्राधिकरणसँग तथ्याङकै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्