विराटनगर । मोरङको कटहरीमा कान्छी आमाको कुटाइबाट छोराको मृत्यु भएको छ । कटहरी गाउँपालिका–५ का ३५ वर्षीय राजेन्द्रप्रसाद उराउको कान्छी आमाको कुटपिटबाट आइतबार राति मृत्यु भएको हो ।
मादक पदार्थ सेवन (मापसे) गरेर आएका राजेन्द्रले गत शनिबार राति घरमा झैझगडा गरेका थिए । झगडा हुदा राजेन्द्रले कान्छी आमा ५५ वर्षीया बातियो उराउलाई कपाल भुतल्याउँदै घाँटी न्याकेका थिए । प्रतिकारमा उत्रिदा बातियोले बाँसको लट्ठीले राजेन्द्रलाई कुटपिट गरेको खुलेको छ । कुटाइबाट टाउँकोमा गम्भिर चोट लागेर घाइते भएका राजेन्द्रको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । घाइते भएका राजेन्द्रप्रसादलाई उपचारका लागि शनिबार राति नै विराटनगरको कोसी अस्पताल भर्ना गरिएको थियो । सामान्य उपचारपछि परिवारका सदस्यले राजेन्द्रलाई घरमा लगे राखे । घटनाका बारेमा ढिलो गरी जानकारी पाएपछि घटनास्थलमा पुगेको प्रहरीले आइतबार राति पुनः राजेन्द्रलाई उपचारका लागि नोबेल शिक्षण अस्पतालमा भर्ना गर्यो ।
उपचारकै क्रममा राति १०ः१५ बजेतिर उनको मृत्यु भएको डिएसपी श्रेष्ठले बताए । कुटपिट गरेर राजेन्द्रप्रसादको हत्या आरोपमा कान्छी आमालाई पक्राउ गरी घटनाका बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । राजेन्द्रको जेठी आमा सानैमा मृत्यु भएको थियो । त्यसपछि उनका बावुले कान्छी आमा ल्याएका हुन् । राजेन्द्रप्रसादका दुइ जना छोरा रहेका छन् ।