विराटनगर भन्सारबाट भटमास र पाम तेलको निकासी उच्च

विराटनगर भन्सारबाट भटमास र पाम तेलको निकासी उच्च

विराटनगर । विराटनगर भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा सबैभन्दा तेल प्रशोधित तेल निकासी भएको छ । भन्सार कार्यालयको तथ्यांक अनुसार पहिलो नम्बरमा प्रशोधित भटमासको तेल र दोस्रो नम्बरमा पाम तेल रहेका हुन् ।

पहिलो चौमासिक अवधिमा ८ अर्ब ५३ करोड ६४ लाख मूल्यको ३८ हजार १ सय ८९ टन भटमासको प्रशोधित तेल निर्यात भएको भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ । यस अवधिमा ५ अर्ब ४९ करोड ६३ लाख मूल्यको २६ हजार ८ सय २४ टन प्रशोधित पाम तेलको निकासी भएको छ । निकासी भएका दश उत्कृष्ट वस्तुमा भटमास र पाम तेल क्रमशः पहिलो र दोस्रो नम्बरमा रहेका हुन् ।

भारतले गत असोजको अन्तिम सातामा समुद्रपारका मुलुकबाट पैठारी हुने कच्चा तेलको भन्सार महसुल २ तहले घटाएको थियो । त्यसपछि पनि नेपालका रिफाइनरीले प्रशोधित तेलको निर्यात गरिरहेका छन् । व्यवसायीहरूले पुरानो स्टकको कच्चा तेल भएको हुँदा भटमास, पाम र सूर्यमुखीको तेलको निर्यात भइरहेको बताएका छन् । उनीहरुले आगामी माघसम्म स्टकमा भएको वस्तु प्रशोधन गरेर निर्यात गरिने भएपनि त्यसपछि भारतको निर्णयको प्रभाव पर्ने दावी गरेका छन् । अहिले तेलको कच्चा आयातका लागि उद्योगीले कुनै पहल नगरेको दावी गरेका छन् ।
यसैगरी निर्यातको तेस्रो नम्बरमा जुटका उत्पादनहरू छन् । यस अवधिमा जुटका बुनिएका कपडा र जुटका बोरा गरी ५ अर्ब ४८ करोड ६७ लाख मूल्यको निकासी गरिएको छ । कात्तिक मसान्त सम्ममा २ अर्ब २६ करोड ७९ लाख रुपैयाँको ४७ हजार २ सय ५१ टन सिन्थेटिक यार्न निर्यात भई चौंथो नम्बरमा रहेका छ ।

त्यस्तै उनी, सुती र टेरिकटन बाहेकका अन्य कपडा ७८ करोड ९ लाख बराबरको ४७ करोड वर्ग मिटर, सूर्यमुखीको प्रशोधित तेल ४५ करोड ७६ लाख बराबरको २ हजार ३ सय २३ टन र ३५ करोड ९४ लाख बराबरको २ हजार ३ सय ३९ टन चाउचाउ, नुडल्स तथा पास्ताको निकासी गरिएको छ ।
कार्यालयले उपलब्ध गराएको तथ्याङ्कमा २५ करोड ४९ लाख मूल्यको ७ हजार ३ सय टन पिना, २० करोड मूल्य बराबरको २ हजार ३ सय ६८ टन भटमासको पिना पनि निर्यात भएको छ ।

भन्सार कार्यालय विराटनगरका सूचना अधिकृत रामचन्द्र ढुङ्गानाका अनुसार १५ अर्ब ९५ करोड ७० लाखको लक्ष्यमा १४ अर्ब ५७ करोड २३ लाख संकलन भएको हो ।
कार्यालयले भन्सार महसुलतर्फ ७ अर्ब ८५ करोड ५३ लाखको लक्ष्यमा ६ अर्ब १६ करोड ५१ लाख, मूल्य अभिबृद्धितर्फ ६ अर्ब ७९ करोड ९९ लाखको लक्ष्यमा ७ अर्ब २३ करोड ४९ लाख असुल गरेको । यस्तै अन्तः शुल्कतर्फ एक अर्ब ३० करोड १७ लाखको लक्ष्यमा १ अर्ब ८ करोड ९३ लाख असुली भएको सूचना अधिकारी ढुंगानाले जानकारी दिनुभयो । कार्यालयले पहिलो चौमासिक अवधिमा लक्ष्यको ९१.३३ प्रतिशत मात्रै राजश्व महसुल संकलन गरेको हो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्