इजरायल जानेलाई खोपको व्यवस्था

इजरायल जानेलाई खोपको व्यवस्था

काठमाडौँ । सरकारले इजरायल रोजगारीका छनोट भएका युवाका लागि काठमाडौँका विभिन्न पाँच अस्पतालमा कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गरिएको छ । वैदेशिक रोजगार विभागका अनुसार इजरायलका छनोट भएकालाई वीर अस्पताल,निजामती सेवा अस्पताल,नेपाल प्रहरी अस्पताल,वीरेन्द्र अस्पताल छाउनी र सशस्त्र प्रहरी बल अस्पतालमा खोप लगाउने व्यवस्था गरिएको छ ।

विभागले मङ्गलबार सूचना सार्वजनिक गर्दै तोकिएका यी केन्द्रमा खोप लगाउन जानुअघि विभागको इजरायल शाखामा अनिवार्य रूपमा सम्पर्क गर्नसमेत आग्रह गरेको छ । इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक श्रमिक पठाउने प्रयोजनका लागि इजरायलको जनसङ्ख्या तथा अध्यागमन प्राधिकरण (पिवा)द्वारा छनोट भएका र कोरोनाविरुद्धको खोप लगाउन बाँकी उम्मेदवारलाई खोप लगाउन विभागले अनुरोधसमेत गरेको छ । विभागका निर्देशक एवं इजरायल शाखाका प्रमुख डम्बर सुुनुवारले इजरायल जान छनोट भएका तर अहिलेसम्म खोप नलगाएकालाई खोप लगाउने अस्पतालको व्यवस्था गरिएको जानकारी दिनुुभयो । पहिलो प्राथमिकता खोप नलगाएकालाई हुने भन्दै उहाँले खोप लगाएर पनि छ महिना कटिसकेकालाई पनि खोपका व्यवस्थाका लागि पहल हुने बताउनुभयो ।

उहाँका अनुसार इजरायल जानेलाई भेरोसिल खोप दिने विषयमा पनि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्वास्थ्य जनसङ्ख्या मन्त्रालयबीच सहमति भइसकेको छ । भेरोसिल खोपको पहिलो डोज लगाएकालाई तीन हप्तामा अर्को वा दोस्रो डोज खोप दिन मिल्ने भएकाले इजरायल जानेलाई भेरोसिल नै लगाउन जोड गरिएको निर्देशक सुनुवारको भनाइ छ ।

यसैबीच इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा जान पिवाले छनोट गरेर रोजगारदाताबाट करार सम्झौता प्राप्त हुनेको भिसाका लागि राहदानीको म्याद तीन वर्ष अनिवार्य गरिएको छ । वैदेशिक रोजगार विभागका अनुसार छनोट भएर रोजगारदाताबाट स्ट्यान्डर्ड इम्प्लोइमेन्ट कन्ट्याक्ट प्राप्त हुने उम्मेदवारको भिसाका लागि सम्बन्धित निकायमा प्रक्रिया थाल्ने समयमा राहदानी म्याद अनिवार्य रूपमा तीन वर्षको हुनु पर्नेछ ।

इजरायल र नेपालबीच भएको समझदारीमा भिसाको प्रक्रिया थालनी गर्न पासपोर्टको म्याद सकिने अवधि कम्तीमा तीन वर्ष बाँकी रहेको हुनुपर्ने प्रावधान रहेको छ । त्यसैले २०२५ जनवरी ३१ भन्दायता राहदानीको म्याद सकिनेहरूले काठमाडौँमा रहेको राहदानी विभागबाट आफ्नो राहदानी नवीकरण गराउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्