महेन्द्र मोरङको व्यवस्थापन संकाय तोडफोड प्रकरण : ५ दिनभित्र कम्प्युटर ल्याब दिने सहमति

महेन्द्र मोरङको व्यवस्थापन संकाय तोडफोड प्रकरण : ५ दिनभित्र कम्प्युटर ल्याब दिने सहमति

विराटनगर । महेन्द्र मोरङ क्याम्पस व्यवस्थापन संकाय तोडफोड प्रकरणमा संलग्नको पहिचान हुन नसकेपनि प्रशासनले विद्यार्थीहरुको माग सम्बोधन गर्ने सहमति गरेको छ ।

बुधबार बसेको त्रिपक्षीय वार्ताको निर्णय बमोजिम क्याम्पस प्रशासनले बिबिएमका विद्यार्थीहरुलाई ५ दिनभित्र कम्प्युटर ल्याबको व्यवस्था गरिदिने सहमति गरेको हो । बाहिरी पोशाकमा आएका केही विद्यार्थीहरुको समुहले बुधबार क्याम्पसको व्यवस्थापन संकायमा तोडफोड गरेका थिए । त्यसपछि बिहान करिब साढे १० बजे विद्यार्थी संगठन, बिबिएमका विद्यार्थी र क्याम्पस प्रशासनबिच सहमतिका लागि त्रिपक्षीय वार्ता भएको थियो । उक्त वार्तामा क्याम्पस प्रशासनले बिबिएमका विद्यार्थीहरुलाई ५ दिनभित्र कम्प्युटर ल्याब र आउँदो १ वर्षमा १८ कोठे छुट्टै बिबिएम ब्लक निर्माण गरिदिने लिखित सहमति गरेको छ । क्याम्पस प्रमुुख बाबुराम तिमल्सिनाले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

क्याम्पसले कम्प्युटर ल्याबको व्यवस्था नगरिदिँदा आक्रोशित बिबिएमका विद्यार्थीहरुले मङ्गलबार क्याम्पस प्रशासन र व्यवस्थापन संकायमा तालाबन्दी गरेका थिए । बुधबार पठनपाठन प्रभावित भएको भन्दै बिबिएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले ताला फुटाईदिएपछी बाहिरी पोशाकमा आएका अपरिचित विद्यार्थीहरुको समुहले व्यवस्थापन संकायमा तोडफोड गरेका थिए । तोडफोडबाट व्यवस्थापन संकायको कुर्सी, टेबल, झ्याल र ढोका लगायतमा क्षति पुगेको थियो ।

बिबिएम संकायमा कम्प्युटर ल्याबको व्यवस्था गरिदिन राखेको माग सम्बोधन नभएपछि उनीहरुकै समर्थनमा बुधबार तोडफोड गरिएको नाम नखुलाउने शर्तमा एक विद्यार्थीले आवर विराटनगरलाई बताए । तोडफोड गर्ने समूह भने क्याम्पसकै विद्यार्थी हुन वा होइनन् भन्ने बारे पुष्टि हुन सकेको छैन् । यद्यपि तोडफोडमा संलग्न विद्यार्थीहरु बिबिएम संकायका रहेको प्रत्यक्षदर्शीको दाबी छ । तर, बिबिएमका विद्यार्थीहरुले भने बिबिएसका विद्यार्थीहरुले तोडफोड गरेको आरोप लगाउँदै आएका छन् ।

बिबिएममा कम्प्युटर बेस फाईनान्सियल एकाउण्टिङ बिषयको २४ पुर्णाङ्कको बार्षिक प्रयोगात्मक परीक्षा हुने गरेको छ । उक्त परीक्षाका लागि कम्प्युटर ल्याबको अनिवार्य गरिएको छ । तर, बिबिएमका विद्यार्थीहरुलाई उक्त बिषय अध्ययनका लागि क्याम्पसले हाल मात्र ८ वटा कम्प्युटर दिएको छ । बिबिएम संकायमा ८८ वटा सिट रहेकाले कम्तीमा पनि ४५ वटा कम्प्युटरको व्यवस्था हुनुपर्ने विद्यार्थीहरुको माग छ । तर, क्याम्पसले बारम्बार आलटाल गर्ने गरेपछि आक्रोशित विद्यार्थीहरुको समुहले मंगलबार व्यवस्थापन संंकाय र क्याम्पस प्रशासनमा तालाबन्दी गरेका थिए । तालाबन्दी गर्दा विद्यार्थीहरुले ताला खोलिएकामा यसको जिम्मेवार क्याम्पस हुने चेतावनी समेत दिएका थिए ।

तर, बिबिएमका विद्यार्थीहरुले गरेको तालाबन्दीका कारण बुधबार बिबिएसका विद्यार्थीहरुको पठनपाठन प्रभावित बनेपछि बिबिएस तेश्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले नै व्यवस्थापन संकायको उक्त ताला फुटाएका थिए । पढाउन पुगेका प्राध्यापकले हाजिरी नगरी कक्षा नलिने बताएपछि विबिएस तेश्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले ताला फुटाएको उनीहरुले स्वीकार गरेका छन् ।

कलेज फी २ लाख ९० हजार, सेवा सुविधा शून्य

महेन्द्र मोरङले २०७६ सालदेखि बिबिएम कार्यक्रम कलेज भित्रयाएको हो । हाल आक्रोशित विद्यार्थीहरु सोही कार्यक्रमको पहिलो ब्याच हुन् । कलेजले छुट्टै बिबिएम ब्लक, अत्याधुनिक कम्प्युटर ल्याब, शुद्ध खानेपानी र दुरुस्त शैक्षिक प्रणालीको व्यवस्था रहेको भन्दै विद्यार्थी भर्ना लिएको थियो । तर, पछिल्लो समय क्याम्पसले भने अनुसारको सेवा सुविधा नदिएको भन्दै विद्यार्थीहरु विरोध गर्दै आएका छन् । ‘बिबिए जस्तै हाम्रो पनि छुट्टै ब्लक हुनुप¥यो । भने अनुसारको सेवा सुविधा दिनुपर्‍यो,’ एक विद्यार्थीले भने, ‘बार्षिक शुल्क चैं के का लागि हो ?’

बुधबारको घटनाका कारण भने बिबिए संकायका विद्यार्थीहरु समेत प्रभावित भएका थिए । क्याम्पस प्रशासनमा लागेको तालाका कारण कर्मचारीहरुले प्रवेश नपाएपछि बिबिएका विद्यार्थीहरुले परीक्षा फारम बुझाउन पाएका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्