व्यवसायिक बट्टाई पालन शुरु

व्यवसायिक बट्टाई पालन शुरु

चन्द्र पन्दाक
ताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङमा व्यावसायिक बट्टाई (चरा) पालन शुरु भएको छ । थोरै लगानी र छोटो समयमै आम्दानी गर्न सकिने बुझेपछि स्थानीय किसानले व्यवसायिक रुपमा बट्टाई पालन शुरु गरेका हुन् । पछिल्लो समय सदरमुकाम आसपास क्षेत्रका किसान बट्टाई पालनतर्फ आकर्षित हुँदै गएकाे पाइएको छ ।

बट्टाई पालनका लागि धेरै क्षेत्र (जमिन) पनि नचाहिने साथै, थोरै आर्थिक व्यवस्थापनबाट नै व्यवसाय शुरु गर्न सकिने भएपछि यसतर्फ किसान आकर्षित बन्दै गएका हुन् । सदरमुकामस्थित फुङ्लिङ नगरपालिका–७ का स्थानीय प्रेमसिंह तामाङले पूरानो व्यवसाय छोडेर अहिले बट्टाई पालन शुरु गर्नुभएको छ । तामाङले सदरमुकाम फुङ्लिङमा रहेको इलेक्ट्रोनिक्स तथा मेकानिक पसल बेचेर बट्टाई पालन व्यवसाय शुरु गर्नुभएको हो । पहिलेको व्यवसायभन्दा नयाँ व्यवसाय बट्टाई पालनबाट राम्रो आम्दानी हुन थालेको उहाँ बताउनुहुन्छ । नयाँ व्यवसाय शुरु गरेपछि हाल सातामै बट्टाईको अण्डा विक्री गरेर चार हजार रुपियाँसम्म आम्दानी हुने गरेको उहाँले बताउनुभयो । उहाँले अण्डा प्रतिगोटा १० रुपियाँ र मासुका लागि बट्टाई प्रतिगोटा चारसय रुपियाँ सम्ममा विक्री गर्दै आएको सुनाउनुभयो । उहाँले आफ्नै फर्ममा बट्टाईको बच्चा उत्पादन गर्न शुरु गरेको र यसबाट थप आम्दानी बढ्दै गएको बताउनुभयो ।

फुङ्लिङ नगरपालिका–५ का डिल्ली लिम्बूले पनि एक दशक अघिदेखि सदरमुकाममा सञ्चालन गर्दै आएको कपडा व्यवसाय छोडेर अहिले कृषि पेशामा रमाउन थाल्नुभएको छ । सदरमुकाम नजिक दोखुमा एक रोपनी जग्गा खरिद गरेर लिम्बूले कृषि कर्म अँगाल्न थाल्नुभएको छ । मुक्कुमलुङ मल्टी कृषि फार्म स्थापना गरेर बट्टाई पालनसँगै लोकल कुखुरा, कोरकनाथ कुखुरा, विभिन्न जातका बाख्रा तथा बङ्गुर पालन गर्दै आउनुभएको छ ।

यस्तै, फलफूलतर्फ केरा, सुन्तला, कागतीजस्ता खेती पनि लगाएर राम्रो आम्दानी गर्दै आउनुभएको छ । उहाँले पाँचसय बढी बट्टाई पालेको र यसबाट दैनिक एकसय बढी अण्डा उत्पादन हुने बताउनुभयो । बट्टाईको अण्डा बिक्रीबाट नै राम्रो आम्दान हुने उहाँको भनाइ छ । बट्टाईको मासु र अण्डा अधिकांश सेवाग्राहीको रोजाइमा पर्न थालेकाले बजार माग पनि अत्यधिक रहेको उहाँले बताउनुभयो ।

उहाँहरुजस्तै सदरमुकाम आसपासका धेरै किसानले बट्टाई पालन गर्दै आएका छन् । बट्टाई पालक किसानका अनुसार चिसो मौसम शुरु भएसँगै यसको मासु र अण्डाको माग पनि बढेको छ । बट्टाईको मासु र अण्डा उपभोग गर्दा स्वास्थ्यलाई धेरै फाइदा हुने भएपछि उपभोक्ताको माग उच्च रहेको उनीहरु बताउँछन् । त्यस्तै ग्रामिण क्षेत्रका किसानले समेत बट्टाई पाल्न थालेको बताइएको छ । चोक बजार रहेको क्षेत्र नजिकका किसानले बट्टाई पाल्ने गरेका पाइएको छ ।

फुङ्लिङ नगरपालिकाका एक किसानले पालेको बट्टाई चरा । तास्बिर:चन्द्र पन्दाक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्