सरकार निजी क्षेत्रको साझेदारको रुपमा अघि बढिरहेको छ : मन्त्री शर्मा

सरकार निजी क्षेत्रको साझेदारको रुपमा अघि बढिरहेको छ : मन्त्री शर्मा

विराटनगर । नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले सरकार नीजि क्षेत्रको साझेदारको रुपमा अघि बढिरहेको बताउनुभएकोे छ ।

शुक्रबार मोरङ व्यापार संघको ६५ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रिय अर्थतन्त्र सुदृढ बनाउन सरकार र नीजि क्षेत्रबिच परस्पर सम्बन्ध रहनुपर्ने बिषयमा जोड दिनुभयो । सरकारलाई नीजि क्षेत्रको साथ चाहिएको बताउँदै उहाँले दुरगामी प्रभावका योजना लिएर आउनका लागि उद्योगी–व्यवसायीलाई आग्रह गर्नुभयो । उहाँले उद्योगी–व्यवसायीको सुझावका आधारमा राष्ट्रियहित अनुकुल हुने जुनसुकै योजनामा पनि सरकारले लगानीको वातावरण सिर्जना गर्ने दाबी गर्नुभयो । उहाँले सरकार र नीजि क्षेत्रको प्राथमिकता आर्थिक विकास रहेको बताउँदै यसका लागि सँगैसँगै अगाडी बढ्नु आवश्यक रहेको जिकिर समेत गर्नुभयो ।

सुनसरी–मोरङ औद्योगिक करिडोरमा नयाँ औद्योगिक क्षेत्र स्थापना गर्नका लागि सरकार तयार रहेको बताउँदै उहाँले प्रस्तावित क्षेत्रको योजना लिएर आउन उद्योगी–व्यवसायीलाई आग्रह गर्नुभयो । सुनसरीको अमडुवामा रहेको ६३२ विघा जमिनमा ‘क्रस बोर्डर औद्योगिक क्षेत्र’ बनाउनुपर्ने माग उद्योगी–व्यवसायीले राखेका थिए । अर्थमन्त्री शर्माले सरकार सडक र बिद्युत सञ्जाल पु¥याउन आतुर रहेको बताउँदै उद्योगी–व्यवसायीले त्यसको प्रारुप प्रस्तुत गर्न सके आगामी बजेटमा सम्बोधन गरिने दाबी गर्नुभयो । ‘स्पष्ट खाका लिएर आउनुहोस,’ अर्थमन्त्री शर्माले भन्नुभयो, ‘माग मात्रै राख्ने तर योजना पेश नगर्ने परम्परावादी मान्यतालाई तोड्नुहोस् ।’

प्रदेश र स्थानीय तहलाई बलियो बनाउन सक्दा मात्रै समान आर्थिक प्रणालीको विकास हुने बताउँदै उहाँले बजेटले नागरिकका मागको सम्बोधन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले विराटनगरलाई शैक्षिक र स्वास्थ्य पर्यटन केन्द्रको रुपमा अगाडी बढाउन सकिने सम्भावना रहेको बताउँदै त्यसका लागि लगानी बढाउन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले उद्योगी–व्यवसायीको सहयोगमा मात्रै अर्थतन्त्रलाई सुदृढ बनाउन सकिने बताउनुभयो । उहाँले आर्थिक समृद्धिका लागि रोजगारी सिर्जना गर्ने औद्योगिक क्षेत्रको विकास आवश्यक रहेको बताउँदै त्यसका लागि तीनै तहका सरकार नीजि क्षेत्रसँगको सहकार्यमा बढ्ने बताउनुभयो ।

अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले पूँजी बजारको अस्वभाविक बृद्धिलाई नियन्त्रण गर्नुपर्ने जरुरी रहेको बताउनुभयो । दुईवर्ष भित्रै दोब्बर अनुपातमा बृद्धि भएको शेयरबजारले उत्पादनमूलक क्षेत्रको लगानीलाई निरुत्साहित गर्नसक्ने उहाँको भनाई थियो ।

सचिव मरासिनीका अनुसार २०७६ मा १२०० रहेको नेप्से २०७७ मा १३२० को अनुपातमा रहेको थियो । तर, चालु आर्थिक वर्षमा ३२०० सम्म पुग्नु अस्वभाविक भएको बताउनुभयो । सिमित व्यक्तिलाई मात्रै लाभ हुनु स्थितिको पुर्नमूल्यांकन गर्नुपर्ने जरुरी रहेको उहाँको भनाई थियो । सचिव मरासिनीले प्रदेश १ मा एकहजार ६ मेघावाटको अपर अरुण आयोजना निर्माणका लागि विश्वबैंकसँग कुराकानी भईरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा उद्योगी–व्यवसायीका प्रतिनिधिले पूँजीगत खर्च बढाउनुपर्ने सुझाव सरकारलाई दिएका थिए । मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले विराटनगर विकासमा पछि पर्दै गएको गुनासो गर्दै विमानस्थल विस्तार र नयाँ औद्योगिक क्षेत्र विस्तारको काममा सहयोग गरिदिन आग्रह गर्नु भएको थियो ।

संघको ६५ औं साधारणसभासँगै नयाँ नेतृत्व चयनको प्रक्रिया अगाडी बढेको छ । साधारणसभाले निर्वाचन समिति गठन गर्ने र निर्वाचन समितिले साधारणसभा भएको एक महिना भित्र निर्वाचन गरिसक्ने संघको विधान रहेको छ । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने उद्योगी–व्यवसायीलाई सम्मान समेत गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्