अलैँचीको मूल्य वृद्धि

अलैँचीको मूल्य वृद्धि

नारायण तुम्बापो
फिदिम । गत वर्षको तुलनामा अहिले सुक्खा अलैँचीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।पोहोर प्रतिमन (४० केजी) ३२ हजार रुपियाँसम्ममा बिक्री भएकामा अहिले ४४ हजार रुपियाँसम्ममा किनबेच भइरहेको छ । यो अघिल्लो वर्षको तुलनामा २७ प्रतिशतले बढी हो । यो मूल्य असोज कात्तिकमा ५१ हजार रुपियाँसम्म पुगेको थियो ।

तीन वर्षअघि प्रतिमन २०–२२ हजार रुपियाँ हुने गरेको अलँैचीको मूल्य त्यसपछि क्रमशः बढिरहेको छ ।अलैँचीले भाउ पाउन थालेको धेरै भएको छैन । २०५५/५६ सालदेखि अलैँचीको मूल्य बढ्दै गएर एक लाख रुपियाँ पुग्न थालेको हो । अलैँचीको भाउ २०७१ सालमा प्रतिमन एक लाख २० हजार रुपियाँसम्म पुगेको थियो । वि.सं. २०२० तिर प्रतिमन ८० रुपियाँमा अलैँची बिक्री गरिएको किसान अझै पनि सम्झन्छन् ।

आकर्षक आम्दानी दिन थालेपछि धेरै किसान अलैँची खेतीतर्फ होमिएका हुन् । त्यसपछि नै हो अलैँची खेती विस्तार भई उत्पादन बढेको ।
तर अलैँचीको मूल्य अस्थिर खालको हुन्छ । कहिले मूल्य बढेर प्रतिमन एक लाख रुपियाँभन्दा माथि पुग्छ भने कहिले घटेर २०–२२ हजार रुपियाँमा पनि आइपुग्छ ।

लामो समयसम्म प्रतिमन २०–२२ हजार रुपियाँ मूल्य कायम रहेकामा अहिले अलैँचीको मूल्य बढेको हो । पछिल्लो समयमा राम्रो भाउ पाउन थालेपछि किसान उत्साहित हुन थालेका छन् । यसपालि नेपाल र भारतको सिक्किममा उत्पादन घट्दा अलैँचीको मूल्य बढेको हो । यसका साथै पछिल्लो समयमा राम्रो मूल्य नपाउँदा अधिकांश किसानले नबेचेर घरमै राख्न थालेका थिए । यसले बजारमा अलैँचीको अभाव हुँदा मूल्य बढेको पाँचथरका अलैँची व्यवसायी महासङ्घ केन्द्रीय उपाध्यक्ष नरेन्द्र अधिकारीले बताउनुभयो ।

अहिले ग्रामीण क्षेत्रमा सञ्चार र यातायातको सुविधा पुगेसँगै किसानलाई अलैँची बेच्न सहज भएको छ । बजार मूल्य बुझेर किसान आफैँ राम्रो दाम दिने व्यापारीलाई अलैँची बेच्न थालेका छन् । यो अवस्थाले अलैँची बिचौलियाको माध्यमबाट नभई सीधै ठूला व्यापारीसम्म पुग्न थालेको छ ।

पाँचथरका किसानले विगतमा फिदिमका व्यापारीलाई अलैँची बेच्थे भने अहिले सीधै बिर्तामोडसम्म पु-याउन थालेका छन् । यसरी बेच्न थालिँदा किसानले आफूले इच्छाएअनुसार अलैँचीको दाम तोकेर बिक्री गर्न पाउने स्थिति सिर्जना हुन थालेको छ । विगतमा व्यापारीले तोकेको मूल्यमा किसानले अलैँची बेच्नुपर्ने बाध्यता नै थियो । किन्नेबाट होइन अब बेच्नेबाट मूल्य तोक्न थाल्दा पनि किसानले अलैँचीबाट राम्रो मूल्य पाउन थालेको देखिन्छ । किसान सचेत हुन थाल्दा अलैँचीको मूल्यमा सुधार हुँदै आएको राष्ट्रिय कृषक समूह महासङ्घ, पाँचथर अध्यक्ष गणेश पोख्रेलले बताउनुभयो ।

पाँचथर जिल्लामा झन्डै दुई हजार हेक्टर जमिनमा अलैँची खेती हुनुका साथै ८०० मेट्रिक टनसम्म अलैँची फल्छ । पाँचथरमा मात्रै वार्षिक दुई अर्ब रुपियाँ अलैँचीबाट आम्दानी हुने गरेको छ । यसको खेती नेपालका मध्यपहाडी ४० जिल्लाका १४ हजार ७०० हेक्टरमा भइरहेको छ ।

खोल्सीको सुनका रूपमा चिनिने अलैँची खेती गर्नेको जीवनस्तर यसैको आम्दानीले समृद्ध पनि बन्दै गएको छ । पूर्वको इलाम, पाँचथर, ताप्लेजुङ हुँदै पश्चिमको अछाम, डोडी, बैतडीसम्म हिजोआज अलैँची खेती विस्तार भइरहेको तथ्याङ्कले देखाउँछ । पाखो, खोल्सीमा मात्र रोपिइने अलैँची खेती महँगोमा बिक्ने लोभले अरू बाली लाग्ने खेतबारी र करेसामा समेत किसानले मुख्य आयस्रोतका रूपमा रोप्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्