नागुङगाउँ सडक सञ्जालले जोडियो

नागुङगाउँ सडक सञ्जालले जोडियो

रसुवा । जिल्ला सदरमुकाम नजिकै रहेपनि भौगोलिक विकट रहेको नागुङगाउँ सडक सञ्जाल जोडिएको छ । लामो समयको प्रयासपछि यस वर्ष उपभोक्ता समितिमार्फत गोसाइँकुण्ड गाउँपालिकाले कृषि सडक निर्माण गरी नागुङवासीको सपना पूरा गरेको हो ।

शनिबार गाउँपालिका प्रमुख कैसाङनुर्पु तामाङलगायत स्थानीय तहका नेता तथा कार्यकर्ता चढेको सरकारी सवारी साधन नागुङगाउँमा पुग्दा स्थानीयवासीले स्वागत गरेका थिए । सो अवसरमा गाउँपालिका प्रमुख तामाङले जनताको चाहना र आवश्यक्तालाई दृष्टिगत गरी कृषि सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएको र सडकका बीच भागमा पर्ने खोलाको पुल एवं नाली निर्माणलगायत कालोपत्र गर्ने काम बाँकी भएकाले थप व्यवस्थापनका लागि आफूले सहयोग गर्दै जाने बताउनुभयो ।

सदरमुकामबाट तीन घण्टा पैदलयात्रा गर्नुपर्ने नागुङगाउँमा मोटरबाटो निर्माणपश्चात अब २० मिनेटमा पुगिने जनाइएको छ । स्थानीयवासी छिरिङसाङ्वो तामाङनले नागुङगाउँ सडक सञ्जालसँग जोडिएकामा खुशी व्यक्त गर्नुभयो ।

धुञ्चेबाट चार किलोमिटरको छोटो दूरी रहे पनि उकाली, ओराली र भिरपहरा भएका कारण पैदलयात्रासमेत निकै कठिन थियो । गोसाइँकुण्ड गाउँपालिकाको रु ५० लाख अनुदान र स्थानीय बासिन्दाको रु चार लाख बराबर जनश्रमदानबाट निर्माण भएको सो कृषि सडकबाट ५० घर परिवारलाई यातायातको सुविधा पुगेको बताइन्छ । लक्षित कार्ययोजना अनुरूप सो सडकमा गाउँपालिकाले गत वर्षबाटै केही लगानी गरी यस वर्ष पूरा गराएको हो ।

दश वर्ष अगाडिबाट निर्माण सुरू भएको प्रयास बल्ल पूरा भएको नागुङवासीले जनाएका छन् । सडक निर्माणबाट कृषि उपज बजारमा पु¥याउन, विकास निर्माण एवं खाद्यान्न सामग्री ढुवानी गराउन र बिरामी पर्दा एम्बुलेन्स झिकाउन अत्यन्तै सहज समेत भएको उनीहरुले बताएका छन् । अगामी दिनमा सडक मर्मतसम्भारलाई विशेष ध्यान दिइने स्थानीयवासी ग्यालदोर्जे तामाङले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्