विराटनगरस्थित रानी नाकामा रहेको स्वास्थ्य केन्द्रमा चोरी तथा तोडफोड

विराटनगरस्थित रानी नाकामा रहेको स्वास्थ्य केन्द्रमा चोरी तथा तोडफोड

विराटनगर । प्रहरीको कडा सुरक्षा व्यवस्थाका बाबजुद रानी बोर्डरमा रहेको अस्थायी स्वास्थ्य केन्द्रमा गयराती चोरी तथा तोडफोडको घटना भएको छ ।

विराटनगर–१६ स्थित रानी नाकामा महानगरपालिकाद्वारा सञ्चालित उक्त स्वास्थ्य केन्द्रमा १५ हजार बराबरको स्वास्थ्य सामाग्री चोरी भएको हो । चोरी गर्ने समुह लागुऔषध सेवनकर्ताहरु रहेको आशङ्का गरिएको छ । स्वास्थ्य केन्द्रबाट रक्तचाप मापन गर्ने मेशिन १, स्ट्याण्ड फ्यान १, सर्जिकल मास्क ५ बस्क, ग्लब्स २०० पिस र मल्टिप्लग लगायतका सामाग्री चोरी भएको स्वास्थ्य केन्द्रका हेल्थ असिस्टेन्ट सुरेन्द्र यादवले बताए । चोरी गर्ने समुहले २ वटा टेबल फ्यान समेत तोडफोड गरेको उनले जानकारी दिए । बिहान करिब पौने ८ बजे आएकी सरसफाईकर्मी मार्फत घटनाबारे थाहा भएको उनको भनाई छ ।

रानी बोर्डरमा रहेको उक्त अस्थायी स्वास्थ्य केन्द्र विश्व स्वास्थ्य संगठनले निर्माण गरिदिएको हो । स्वास्थ्य केन्द्र मार्फत बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म भारतबाट आएका शंकास्पद व्यक्तिको एन्टिजेन परीक्षण तथा हेल्थ स्क्रिनिङ हुन्छ । त्यसका लागि महानगरले स्वास्थ्य केन्द्रमा १ मेडिकल अफिसर, १ हेल्थ असिस्टेन्ट, १ ल्याब टेक्निसियन, १ अर्टिज वर्कर र ५ जना अनमी सहित ९ जना स्वास्थ्य जनशक्तिको व्यवस्था गरेको छ । तर, अस्थायी प्रकृतिको उक्त स्वास्थ्य केन्द्रमा आवासीय व्यवस्था छैन् । सोही बिषयको फाईदा उठाउँदै गयराती स्वास्थ्य केन्द्रमा चोरी तथा तोडफोडको घटना भएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । बेलुका हुँदै गएपछि लागुऔषध सेवनकर्ताहरुले अनावश्यक दुःख समेत दिने गरेको स्वास्थ्यकर्मी सुलोचना श्रेष्ठले बताईन् ।

‘अँध्यारो हुँदैै गएपछि मास्क दिनु, प्र्रेसर चेक गर्दिनु भन्दै अनावश्यक दुःख दिन्छन । नगरिदिएपछि गालीगलौज समेत गर्छन्,’ उनीले भनिन, ‘प्रहरीलाई खबर गर्दा भाग्छन । यो अचेल नियमित झैं भएको छ ।’

हाल विराटनगर महानगरपालिकाले सामान्य माइन्युट तयार पारेर घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ । स्वास्थ्य केन्द्रको सुरक्षा व्यवस्था कडा बनाउनुका साथै कम्तीमा पनि १ जना प्रहरीको व्यवस्था गरिदिन महानगरले मोरङ प्रहरीसँग आग्रह गर्ने निर्णय समेत गरेको छ । ‘प्रहरीले अस्पताल र विभिन्न चोकहरुमा १ जना प्रहरीको व्यवस्था गरेको छ,’ महानगरको जनस्वास्थ्य महाशाखा संयोजक रमेश कार्कीले भने, ‘स्वास्थ्य केन्द्रलाई पनि १ जना प्रहरी दिन आग्र्रह गर्ने निर्णय गरेका छौं ।’

सम्बन्धित बिषयमा बोल्दै इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरिक्षक प्रकाश राउतले घटनाबारे अनुसन्धान हुने बताए । उनले घटनामा ठुलो गिरोहको संलग्नता नदेखिएको स्पष्ट पारे ।

रानी नाकामा भने विश्व स्वास्थ्य संगठनको मापदण्डमा आधारित बन्ने भनिएको बिशिष्टिकृत स्वास्थ्य केन्द्र हाल निर्माणाधिन अवस्थामा छ । संक्रमणजन्य रोगहरुको पहिचान तथा नियन्त्रणका लागि नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको संयुक्त लगानीमा स्थायी प्रकृतिको स्वास्थ्य केन्द्र निर्माणको प्रक्रिया अघि बढाईएको थियो । कुल १ करोड लागतमा २ बर्षभित्र निर्माण सम्पन्न हुने अपेक्षा गरिएको स्वास्थ्य केन्द्रको निमार्ण प्रक्रिया भने साउनदेखि सुरु भएको हो । हालको संरचना अस्थायी प्रकृतिकोे रहेकाले पनि गयराती सजिलै चोरी तथा तोडफोडको घटना भएको बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्