आईसीपीसम्म रेल ल्याउन सकिने विज्ञको सुझाव

आईसीपीसम्म रेल ल्याउन सकिने विज्ञको सुझाव

विराटनगर । विराटनगर बुधनगर आईसीपीस्थित नेपाल कष्टम यार्डसम्म कार्गो रेल सञ्चालनमा ल्याउन सकिने भन्दै विज्ञले दिएको सुझावका आधारमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहजीकरण थालेको छ । मोरङको कटहरीसम्म विस्तार भईरहेको रेलमार्गको निर्माण सम्पन्न भईसकेको आईसीपीस्थित नेपाल कष्टम यार्डसम्म कार्गो रेल ल्याउन आवश्यक प्रक्रिया थालिएको हो ।

यसका लागि सबै तहका सरकारी निकायको पहल र समन्वयसँगै प्रधानमन्त्रीको भारत भ्रमणको बेला उच्चस्तरीय छलफल गर्ने तहसम्मको तयारी थालिएको छ । प्रधानमन्त्रीको आगामी भारत भ्रमणको बेला कार्गो रेल सञ्चालन गर्ने बाटो खुलाउन पहल गर्ने गरि सरकारीस्तरमा छलफल सुरु गरिएको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा.नारायण प्रसाद रेग्मीले आईसीपीसम्म कार्गो रेल ल्याउने विषय, भारतीय पक्षसँग छलफल गर्नेस्तरमा पुगेको जानकारी दिनुभयो । आईसीपीको रेल स्टेशनसम्म कार्गो रेल सञ्चालन गर्न सकिने विज्ञको सुझावका आधारमा केहि प्रक्रियागत पहल थालिएको रेग्मीको भनाई छ । मन्त्रालयले व्यापार सहजीकरण गर्ने ढंगबाट उच्च सरकारी तहमा विराटनगरको आईसीपी क्षेत्रसम्म कार्गो रेल ल्याउन सकिने ब्रिफिङ्ग गरिरहेको छ ।

नेपाल–भारत रेलवे निर्माण सम्झौतामा बथनाहा–कटहरी १८.६ किलोमिटरको दुरी निर्माण गरिने उल्लेख छ । निर्माण सम्पन्न भईसकेपछि मात्रै हस्तान्तरण गर्ने विषय उल्लेख छ । अहिले भारतीय पक्षसँग निर्माण भईसकेको क्षेत्र उपयोग गर्दै बाँकी काम पूरा गर्न सकिने संभावनाको बारेमा छलफल थालिएको छ । भारतीय पक्षले निर्माण सम्पन्न भईसकेको क्षेत्रलाई प्रयोगमा ल्याउन दिएर बाँकी क्षेत्र निर्माण गर्ने सहमति दिए आगामी नौ महिना भित्रमा आईसीपीसम्म कार्गो रेल ल्याउन सकिनेछ ।

रेलमार्गको १८.६ किलोमिटरमध्ये निर्माण सकिएको ७ किलोमिटर दुरी बाहेकको काम अहिले भईरहेको छ । बथनाहा रेल–वे स्टेशनबाट विराटनगरको बुधनगरस्थित नेपाल कष्टम यार्डसम्मको सात किलोमिटर दुरीमा २०७६ कार्तिकमा रेल–वे लिक परीक्षण गरिएको थियो । नेपाल कष्टम यार्डमा अहिले पैदल यात्रुका लागि ओभर ब्रिज बनाउने काम समेत धमाधम भईरहेको छ ।
एडीबीका कन्सल्ट्यान्ट श्याम दाहाल र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्व सह–सचिव रबि शंकर संैजूले गत जुलाई–अगष्टमा स्थलगत अध्ययन गरेर आईसीपीसम्म कार्गो रेल ल्याउन सक्ने संभावना रहेको सुझाव दिनु भएको थियो । त्यसैका आधारमा अहिले मन्त्रालयले बाँकी प्रक्रियागत पहल लिईरहेको हो ।

मन्त्रालयका प्रवक्ता रेग्मीले उच्च तहमा कार्गो रेल ल्याउने विषय छलफल भईरहेको दावी गर्दै त्यसका लागि अन्तर सरकारी निकाय समन्वयको काम मन्त्रालयले गरिरहेको बताउनुभयो ।
कार्गो रेल सञ्चालनका लागि पहिलो चरणमा नेपालले ८७५ मिटर लम्बाई र ३१ मिटर चौडाईको यार्ड र आईसीपीसम्मको पहुँच मार्ग निर्माण गर्नुपर्नेछ । प्रारम्भिक रुपमा यार्ड निर्माणका लागि ६ करोड ८४ लाख र पहुँच मार्ग निर्माणका लागि ६३ लाख खर्च हुने अनुमान गरिएको छ । दोस्रो चरणमा अधिग्रहण भईसकेको रेल–वेको जग्गा र आईसीपी भित्रको खाली क्षेत्रलाई समेटेर ४० मिटर चौडाको कन्टेनर प्लाटफर्म विकास गर्न प्रस्ताव गरिएको छ । यसका लागि ४२ करोड ८८ लाख रुपिँया खर्च हुने अनुमान गरिएको छ । पहिलो र दोस्रो चरणको विस्तारपछि कन्टेनर यार्ड ७१ मिटर चौडाइको हुनेछ ।

कार्गो रेल सञ्चालनका लागि एकिकृत भन्सार जाँच चौकी, रेलवे र भारतीय भन्सारबीच विराटनगर भन्सारले समन्वयको काम गर्ने बताइएको छ । विराटनगर भन्सारका प्रमुख ताराप्रसाद सापकोटाले व्यापार सहजीकरण बैठकमा कार्गो रेल ल्याउने विषयमा छलफल गरिने बताउनुभयो ।
भन्सार प्रमुख सापकोटाका अनुसार रेल ढुवानीमा विराटनगर भन्सारमार्फत भारत तथा तेस्रो मुलुकमा हुने निकासी र तेस्रो मुलुकबाट पैठारी गर्दा हाल लाग्दै आएको सडक यातायातको खर्चमा ३५ प्रतिशतले कमी आउने छ । विराटनगर भन्सार हुँदै भारत तथा तेस्रो मुलुक निकासी र पैठारी हुने मालवस्तु बिरगञ्ज नाकामार्फत भईरहेको छ ।

यदि कार्गो रेल सञ्चालनमा आए त्यो विराटनगर नाकाबाट हुने अनुमान गरिएको छ । भन्सार प्रमुख सापकोटाले अन्तर सरकारी निकायबीचको समन्वय बढाउँदै भारतसँग उच्च सरकारीस्तरमा छलफल गरेर आईसीपीसम्मको रेल–वेलाई प्रयोगमा ल्याउन पहल भईरहेको बताउनुभयो । उहाँले केहिदिन अगाडी अर्थमन्त्री जनार्दन शर्मा विराटनगर आउँदा समेत उद्योगी–व्यवसायीले भारतसँग वार्ता गरेर कार्गो ल्याउन पहल गरिदिन आग्रह गरेका थिए । भन्सार क्षेत्रको निरीक्षणमा जानु भएका अर्थमन्त्री शर्मालाई समेत भन्सार प्रशासनले त्यस विषयमा जानकारी गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्