जोगबनीबाट सामान किनेर आउनेलाई विराटनगर रानी नाकामा कडाई

जोगबनीबाट सामान किनेर आउनेलाई विराटनगर रानी नाकामा कडाई

विराटनगर । विराटनगर भन्सार क्षेत्रबाटै अवैध रुपमा सामान भित्र्याउने गरेको सूचना पाएपछि निरीक्षणमा गएका भन्सार प्रमुख आइतबार छक्क परे । साविक रानी भन्सार क्षेत्रबाट खुल्लम्खुल्ला मालवस्तु भित्र्याउने गरिएको सूचना पाएपछि अनुगमनमा पुग्दा देखिएको दृश्यले उनी छक्क परेका हुन् ।

मालवस्तु निकासी र पैठारी गर्ने एकिकृत जाँच चौकी (आईसीपी) क्षेत्र भएपनि भारतीय बजार जोगबनीबाट सामान खरिद गरेर रानी नाका हुँदै सामान बोकेर आउनेको ताँती भन्सार प्रमुख ताराप्रसाद सापकोटाको लागि अचम्म लाग्दो थियो । रानी नाकाबाट अपाङ्गता भएका व्यक्तिहरुलाई व्हिल चेयरमा सामान भित्र्याउन व्यापारीले प्रयोग गर्ने गरेको भन्सार प्रमुख सापकोटाको दावी छ । त्यस मात्रै नभई प्रहरीको रासन ठेक्का लिने ठेकेदारले समेत जोगबनीबाट खुल्लेआम् सामान भित्र्याउने गरेको पाइएको छ ।

प्रहरीको रासन भनेपछि सीमा क्षेत्रमा रहेका प्रहरीले त्यसै छोडिदिने गरेका रहेछन्, भन्सार प्रमुख सापकोटाले भन्नुभयो–यो झन् गम्भीर समस्या लाग्यो । उहाँले सीमा क्षेत्रमा हुने चोरी तस्करीलाई नियन्त्रण गर्न भन्सार गस्ती बढाउने दावी गर्नु भएको छ । अर्थमन्त्री जनार्दन शर्माले भन्सार छलेर सियो भित्र्याएको सूचना पाए सोझै अयोग्य ठहर गर्ने भन्दै दुई दिन अगाडी कर्मचारीलाई निर्देशन दिएर फर्केपछि विराटनगर भन्सार क्षेत्रमा कडाई सुरु गरिएको छ ।

विराटनगर भन्सार कार्यालय यात्रु शाखाले निजी, गुण्टा झिटी भारी सम्बन्धी २०७७ जेठ १५ गते राजपत्रमा प्रकाशित सूचनाका आधारमा एकसय भन्दा बढी मूल्यका सामानहरुमा कानुन अनुसार भन्सार लिन थालेको हो । भारतबाट आउनेले बोकेका सामानको एक सय भन्दा बढी मूल्यांकन भए अनिवार्य भन्सार बुझाउनु पर्ने नियम लगाइएको हो ।

खुल्ला सीमा क्षेत्रमा सशस्त्र प्रहरीले निगरानी गर्नुपर्ने तर भन्सार क्षेत्रमा भन्सार प्रशासनले कडाई गर्ने भएको हो । विराटनगर भन्सार क्षेत्रको दुरी पाँच किलोमिटर तोकिएको छ । साविक रानी भन्सार बुधनगरमा स्थान्तरण भएपछि आईसीपी र रानीसम्मको दुरीलाई भन्सार क्षेत्र घोषणा गरिएको थियो । साविक रानी नाकाबाट यात्रु आवातजावत खुल्ला गरिएसँगै त्यसको प्रभाव भन्सार राजश्वमा देखिएको छ । जोगबनी गएर सामान खरिद गर्ने तर भन्सार नबुझाउने कार्यलाई रोक्न सबैसँग सहयोग लिने भन्सार प्रमुख सापकोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्