उपचार खर्चको अभावमा १ वर्षदेखि ओछ्यानमै थलिएका बस्नेत, सहयोगका लागि अपिल

उपचार खर्चको अभावमा १ वर्षदेखि ओछ्यानमै थलिएका बस्नेत, सहयोगका लागि अपिल

विराटनगर । २०७७ पौष १ गते बेलुकाको ५ बज्दै थियो । उपचारका लागि बाईकमै काठमाण्डौं गएका विराटनगर ११ बस्ने वर्ष ५० का माधव कुमार बस्नेत घर फर्किदै थिए । घर फर्किदै उनी सिराहाको लाहान आईपुगेका थिए । रातीसम्म घर पुग्ने उनको योजना थियो । तर, उनी पुगेनन् । उनी दुर्घटनामा परे ।

विपरित दिशाबाट आईरहेको रजिष्ट्रेशन समेत नभएको ट्रयाक्टरले उनी सवार यामाहा अल्भा को ८ प ९३७ नम्बरको मोटरसाईकललाई ठक्कर दियो । उनी गम्भीर घाईते भए । दुर्घटना हुनासाथ स्थानीयको सहयोगमा नजिकैको सप्तऋषि अस्पताल लगिएको उनलाई उपचार सम्भव नभएर राती करिब ११ बजे नोबेल अस्पताल ल्याईयो । १२ दिनसम्म आईसियुमा राखेर उनको उपचार भयो । होस आउँदा मात्र उनले खुट्टामाथि ट्रयाक्टर कुदेको थाहा पाए । स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएपनि उनको देब्रे खुट्टा र हातको ३ औंला चलेन । ढाँड मुनि र कुरकुच्चोमा गम्भीर चोट लागेको उनले थाहा पाए ।

क्षतिपुर्ति स्वरुप पिडक पक्षबाट २ लाख १५ हजार प्राप्त भयो । पिडक पक्षले थप उपचार खर्च व्यहोर्न मानेन् । हालसम्म बस्नेतको उपचार उनको परिवारले १५ लाख बढी खर्च गरिसकेकोे छ । अस्पतालले थप उपचारका लागि ५ लाख खर्चेर नयाँ हाड लगाउनुपर्ने बताएको छ । तर, मध्यम वर्गीय परिवारका उनले आर्थिक अभावमा थप उपचार गराउन सकेका छैनन् ।

विगत १ वर्षदेखि उनको दैनिकी घरको ओछ्यानमै बित्ने गरेको छ । उठबस गर्न पनि सहारा लिनुपर्छ । भाडामा बस्दै आएका उनीसँग सम्पत्तिको नाममा एउटा किराना पसल मात्र छ । ८ कक्षामा पढ्ने वर्ष १४ की छोरी र आर्थिक अभावमा प्लस टु सकेर थप अध्ययन गर्न नसकेका वर्ष २१ का छोरा छन् । १० हजार मासिक भाडा पसलकै तिर्नुपर्छ । पसलको पुँजी पनि उपचारमै लगाएपछि हाल उनको अवस्था दयनीय बनेको छ ।

सवारीचालक अनुमति पत्र नभई मापसे समेत गरेका सम्भु सदायले चलाएको ट्रयाक्टरको ठक्करबाट बस्नेत हाल यस अवस्थामा पुगेका हुन् । पिडित पक्षकोे उजुरीको आधारमा दुर्घटना भएको १ महिनापछि अदालतको आदेशानुसार सवारी चालक हाल पुर्पक्षका लागि सिराहा कारागारमा छन् । तर, अदालतमा मुद्दा विचाराधिन भएका कारण सवारी धनी पक्षले बस्नेतको उपचारका लागि थप रकम खर्चिन मानेको छैन् । लाइसेन्स भएको सवारी चालक राखेर घटना मिलाउने प्रयास समेत भईरहेको पिडित बस्नेतको भनाई छ । दुर्घटना भईसकेपछि प्रहरी र प्रशासनले पनि सहयोग नगरेको उनको गुनासो छ ।

‘कानुन बमोजिम न्याय र क्षतिपुर्ति गराई पाउँ भन्दै सिडियो कार्यालय गएको थिए,’ उनले भने, ‘तर, सहयोग प्राप्त भएन, सिडिओ साबले तपाईकै कुरा सुनिरहने फुर्सद छैन भनेर फर्काइदिनुभयो ।’

आइतबार प्रदिपराज कँडेल सिराहाका प्रमुख जिल्ला अधिकारी थिए । उमेर हदका कारण सोमबारदेखि उनले अवकाश लिएका छन् । उनले पिडित बस्नेतको स्वास्थ्य अवस्थाका बारेमा आफूलाई जानकारी रहेको बताउँदै सवारी धनीलाई उपचार गर्न निर्देशन गरिएको बताए । उनले चाँडै नै घटनाको छिनोफानो हुने जानकारी दिए ।

यता, इलाका प्रहरी कार्यालय लाहानले पनि सवारीधनी सम्पर्कमा नरहेको भन्दै बारम्बार आलटाल गर्ने प्रयास गरिरहेको पिडित पक्षको आरोप छ । इलाकाले सवारी धनी भारत फरार रहेकाले अनुसन्धान थप अघि बढ्न नसकेको भन्दै घटना मिलाउने प्रयास गरिरहेको पिडित बस्नेतले बताए । दुर्घटनामा मुछिएका सवारी धनी राम एकवाल महतो भने हाल गाउँ घरमै बसिरहेको स्थानीयले बताएका छन् । प्रहरीले नै आरोपीको संरक्षण गरिरहेको पिडकको आशंका छ ।

यस्तो छ कानुनी दण्ड सजाय
नेपालमा कसैले चलाएको सवारीसाधनको कारणबाट दुर्घटनामा परि कसैको अङ्गभङ्ग भएमा त्यसरी सवारी चलाउने व्यक्तिउपर सवारी अङ्गभङ्ग मुद्दा आर्कषित हुने कानुनी व्यवस्था छ । त्यसरी सवारी चलाउने व्यक्तिलाई ३ वर्षदेखि १० बर्षसम्म कैद र ३० हजार रुँपैयासम्म जरिवाना हुने नेपाल कानुन आयोगको दफा १६२ को उपदफा १ मा उल्लेख छ । उपदफा १ मा सो बखत पिडित निको भई काम लाग्ने अवस्थामा भएमा सवारी चालकलाई मात्र ५ हजार जरिवाना हुने व्यवस्था गरिएको छ ।

यस्तै उपदफा २ मा सवारी चालक अनुमतिपत्र नभएको व्यक्तिले सवारी चलाई उपदफा (१) मा उल्लेखित कुनै कसुर गरेमा निजलाई सो उपदफा बमोजिम हुने सजायमा ५ हजार रुपैयाँ जरिवाना थप हुने व्यवस्था गरिएको छ ।

यसका साथै उपदफा ३ मा कुनै सवारीको धनी वा सवारीको जिम्मा लिएको व्यक्तिले सवारी चालक अनुमतिपत्र नभएको व्यक्तिलाई सवारी चलाउन दिँदा कोही दुर्घटनामा परेमा वा कसैको अङ्गभङ्ग भएमा त्यस्तो सवारी चलाउन दिने व्यक्तिलाई मुख्य कसूरदारलाई हुने सजायको आधा सजाय हुने व्यवस्था समेत गरिएको छ ।

सहयोगका लागि अपिल
पिडक पक्षबाट थप उपचार खर्च जुट्न नसकेपछि १ वर्षदेखि ओछ्यानबाट उठ्न नसकेका बस्नेतले हाल सहयोगका लागि अपिल गरेका छन् । उनले उपचारमा थप ५ देखि ६ लाख खर्च हुने भएकाले सहयोगका लागि आग्रह गरेका हुन् । उनले ९८११०१९३१९ नम्बरमा सम्पर्क गरेर आवश्यक सहयोग गरिदिन आग्रह गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्