विराटनगरको उत्कृष्ट विद्यालय पोखरीयाको नयाँ भवन निर्माण शिलन्यास

विराटनगरको उत्कृष्ट विद्यालय पोखरीयाको नयाँ भवन निर्माण शिलन्यास

विराटनगर । विराटनगर–३ स्थित पोखरीया उच्च माध्यमिक विद्यालयको नयाँ भवन शिलन्यास गरिएको छ । विराटनगरको उत्कृष्ट विद्यालयको रुपमा रहेको पोखरीयाको औषधी व्यवस्था विभाग नजिक नयाँ भवन बन्ने भएको हो । नवनिर्मित भवनको आज विराटनगर मेयर भीम पराजुलीले शिलन्यास गर्नु भएको छ । लक्ष्मीनारायण गुठीको दश कठ्ठा जग्गामा विद्यालयको भवन निर्माण गरिने भएको हो ।

संघीय सरकारको नमूना विद्यालय अन्तर्गत १२ करोड रुपिँया लागतमा पाँचवटा भवन निर्माण गरिने विद्यालयका प्राचार्य खेमराज भट्टराईले जानकारी दिनुभयो । आगामी २०८२ सालसम्ममा आकर्षक र आधुनिक पाँचवटा भवन निर्माण गरिसक्ने योजना रहेको छ ।
विराटनगर महानगरपालिकाले विद्यालयको भवन निर्माणका लागि जग्गा उपलब्ध गराएको हो । २०२८ सालमा सितलु राजबंशीले सत्यनारायण मन्दिरको नाममा जग्गा हस्तान्तरण गरेका थिए । उनको निधनपछि उक्त जग्गा धर्मपुत्र गणेश राजबंशीले रेखदेख गर्दै आएका थिए । निजी गुठीको जग्गा महानगरको स्वामित्वमा गएपछि विभिन्न संरचना निर्माण प्रयोजनार्थ उपयोग सुरु गरिएको छ ।

महानगरले विद्यालयको भवन शिलन्यास गर्ने भएपछि गणेश राजबंशीकी छोरी गिता राजबंशीसहितले अवरोध गर्न खोजेका थिए । तत्कालिन सितलु राजबंशी परिवारका नातेदारलाई २ कठ्ठा जग्गाको भोगाधिकार दिने सहमति गराएर भवन शिलन्यास गरिएको हो । यसैगरी राजबंशी परिवारका सदस्यलाई रोजगारी र विद्यालयको नाममा सितलु राजबंशी राख्ने सहमति गरिएको हो ।

विराटनगरका मेयर भीम पराजुलीले ९० वर्षसम्म विद्यालयले उक्त जग्गा उपयोग गर्न पाउने प्रावधान रहेको जानकारी दिनुभयो । तर, मन्त्रिपरिषद्को निर्णयबाट गुठीको जग्गा विद्यालयको नाममा हस्तान्तरण गर्न सकिने प्रावधान समेत रहेको छ । विराटनगरकै उत्कृष्ट विद्यालय पोखरीया सानो भएर विद्यार्थीको संख्या व्यवस्थापन गर्न असहज बन्दै आएको थियो ।
नयाँ भवन निर्माणसँगै प्राथमिक र माध्यमिक तहलाई अलग–अलग स्थानमा सञ्चालन गरिने प्राचार्य भट्टराईले बताउनुभयो । शिलन्याससँगै विद्यालय निर्माणको काम अगाडी बढाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्