किसानको आर्थिक भरथेग गर्दैै किवी

किसानको आर्थिक भरथेग गर्दैै किवी

इलाम । पछिल्लो समय किवी फलबाट राम्रो आम्दानी हुनथालेपछि पूर्वी पहाडका किसानले किवी खेतीलाई निकै महत्व दिन थालेका छन् । इलाम, पाँचथर, ताप्लेजुङ, भोजपुर, ओखलढुङ्गालगायतका पहाडी जिल्लाको हावापानीमा उपयुक्त देखिएको किवीबाट बर्सेनि राम्रो आम्दानी हुन थालेको किसानहरू बताउँछन् ।

गत वर्ष राम्रो उत्पादन भएको किवीलाई यो वर्ष असिनाले केही क्षति पु-याए पनि १२ क्विन्टलसम्म बिक्री गरेको इलाम सन्दकपुर गाउँपालिकाका किसान लीला भट्टराईले बताउनुभयो । “१२ रोपनी जतिमा किवी लगाएका छौँ, यो वर्ष उत्पादन घटे पनि बजार मूल्य राम्रै भएकाले आर्थिक रूपमा किवीले राम्रै सहयोग गरेको छ,” भट्टराईले भन्नुभयो ।

साँखेजुङका अर्का किसान गङ्गा विष्ट पनि यतिबेला किवी टिप्न व्यस्त हुनुहुन्छ । गत वर्ष ५० क्विन्टल किवी बिक्री गर्नुभएका विष्टको पनि यो वर्ष उत्पादन घटेको छ । “यो वर्ष ३० क्विन्टल किवी उत्पादन हुन्छ भन्ने अनुमान गरेको छु, टिप्न धमाधम छ” –विष्टले भन्नुभयो । उहाँको उत्पादन काठमाडौँसम्म पुग्ने गरेको छ ।

असिनाले यो वर्ष उत्पादन घटे पनि बजार मूल्य राम्रै रहेकाले किसानलाई राहत मिलेको विष्टको भनाइ छ । अन्य खेतीबालीभन्दा सजिलो र कम श्रम लाग्ने हुँदा अहिले किवीप्रति किसानको आकर्षण बढिरहेको विष्टले बताउनुभयो । पन्ध्र वर्षदेखि किवी खेती गर्दै आउनुभएका सुलुबुङका किसान तारामणि खतिवडाले आफ्नो बगान र अन्य किसानको गरी ३० क्विन्टल किवी बिक्री गर्नुभएको छ । किवीको थोक मूल्य प्रतिकिलो एक सयदेखि डेढ सय रुपियाँ र खुद्रा मूल्य प्रतिकिलो दुई सय रुपियाँ रहेको छ ।

इलामसहित झापाको विर्तामोड, दमक, धरान, इटहरी, विराटनगर, काठमाडौँ र पोखरासम्म पुग्ने इलामको किवीलाई उपभोक्ताले रुचाएको पाइन्छ ।
नेपालमा विशेष गरी ‘ग्रीन र रेड’ किवी उत्पादन हुने गरेको छ । रेड किवी भदौ असोज महिनामा र ग्रीन किवी मङ्सिर महिनामा टिपाइ हुन्छ । ग्रीन किवीका पनि हेवार्र्ड, ब्रुनो, मन्टीलगायतका जात छन् र जातअनुसारको दाना भएकाले उपभोक्ताले अलग–अलग मन पराउने गरेको किसानहरू बताउँछन् ।

तर किवी खेतीमा लागि बीमा कार्यक्रम नभएको र बीमा कम्पनीहरूले पनि झन्झटिलो मान्ने भएकाले किसानलाई भने समस्या भएको खतिवडाले बताउनुभयो । सुलुबुङस्थित हेस्टी किवी प्रालिका सञ्चालक समेत रहनुभएका खतिवडाले भन्नुभयो, “सरकारले बीमा कम्पनीलाई किवी खेतीको बीमा गर्न प्रेरित गर्न सहयोग ग-यो भने त्यसले किसानलाई सहयोग पुग्ने रहेछ । ”

यो वर्ष नेपालमा किवीको उत्पादन २५ प्रतिशतले बढेको छ तर असिनाका कारण इलाममा उत्पादन घटेको हो । गत वैशाखमा आएको असिना पानीले इलामको किवी खेतीमा चार करोड ७८ लाख रुपियाँ बराबरको क्षति भएको कृषि ज्ञान केन्द्र इलामको तथ्याङ्क छ ।

किवी खेतीमा किसानको आकर्षण बढेपछि सरकारले इलाममा ‘किवी जोन’ कार्यक्रम नै सुरु गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत इलाम नगरपालिकाको वडा नं. १, २, ३ र ४ लाई किवी जोन घोषणा गरी कार्यक्रम चालू छ । किवीको प्राविधिक सीप, दक्षता, किवीको गुणस्तर अभिवृद्धि, खेती विस्तारलगायतमा परियोजनाका लागि आएको रकम खर्च भइरहेको परियोजनाले जनाएको छ । परियोजनाले किवीलाई औद्योगिकीकरण गर्दै प्रोसेसिङ, मार्केटिङ र व्यावसायिकीकरण किसानलाई सहयोग गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्