विराटनगर । चर्चित नेपाली नायक पल शाह शनिबार विराटनगर आउने भएका छन् ।
एन.एम.बी बैंकको ब्राण्ड एम्बेसेडर रहेका शाह शनिबार दुई कार्यक्रमका लागि विराटनगर आउने भएका हुन् । नायक शाह बैंकको वित्तीय साक्षरता कार्यक्रमका विराटनगर आउन लागेको जनाईएको छ । बैंकले शनिबार मोरङको बुढीगंगास्थित शाखा र विराटनगरको महेन्द्र चौकस्थित प्रदेश कार्यालय अगाडि बैंकको वित्तीय योजनाका बारेमा जानकारी दिन दुई बेग्लाबेग्लै कार्यक्रमको आयोजना गरेको छ । सोही कार्यक्रमका लागि नायक शाहलाई विराटनगर ल्याउन लागिएको बैंकका प्रदेश १ प्रमुख उत्सव घिमिरेले बताए ।
नायक शाहको उपस्थितिमा बैंकले शनिबार बुढीगंगास्थित शाखा अगाडि बिहान १० बजे र महेन्द्र चौकस्थित प्रदेश कार्यालय अगाडि १ बजे कार्यक्रमको आयोजना गरेको छ । ‘तिम्रो यादमा रहन्छु’ भन्ने म्युजिक भिडियोबाट आफ्नो यात्रा सुरु गरेका शाह हाल नेपालको चर्चित स्टारको रुपमा चिनिन्छन् । २ सय बढी म्युजिक भिडियोमा काम गरिसकेका उनले ‘नाई न भन्नु ल ४’ बाट डेब्यु गरेका थिए । उक्त चलचित्रका लागि उनले वि.सं. २०७२ सालमा ‘डी सिने अवार्ड’ समेत प्राप्त गरेका थिए । शत्रुगते, म यस्तो गीत गाउँछु, बिर बिक्रम २ र जनी जेन्टलम्यान उनका सुपरहिट चलचित्र हुन् । उनी अभिनित ‘फुल बुट्टे सारी’ म्युजिक भिडियो पछिल्लो समय दर्शक माझ सर्वाधिक रुचाईएको म्युजिक भिडियो हो ।
एनएमबी भने सन् २००८ देखि नेपाली बैंकिङ क्षेत्रमा निरन्तर आफ्नो दरिलो उपस्थिति जनाउन बैंक हो । “दि बैंक अफ दि इयर एसिया २०२१” जस्तो विश्व– प्रतिष्ठित अवार्डद्वारा सम्मानित एनएमबीलाई नेपाली वित्तीय क्षेत्रका लागि ठूलो उपलब्धिको रुपमा हेरिएको छ ।
एनएमबी बैंकले भने प्रदेश नं १ मा ३० र विराटनगरमा मात्रै ३ वटा शाखा मार्फत बैैकिङ सेवा प्रवाह गर्दै आएको छ ।