जोगबनीको आलु–कोभी विराटनगर भित्रन्छ, हटियामा बेचिन्छ

जोगबनीको आलु–कोभी विराटनगर भित्रन्छ, हटियामा बेचिन्छ

विराटनगर । सीमापार जोगबनीबाट तरकारी लिएर फर्केका विराटनगर रानीका रमेश पासवान नाकामा रोकिए । रानी क्षेत्रको झमेली हटियामा बिक्री गर्न जोगबनीबाट कोभी बोकेर आएका उनलाई भन्सार प्रशासनले महशुल बुझाउन आग्रह गरेपछि रोकिएका हुन् ।

रमेश जस्तै जोगबनीबाट तरकारी ल्याएर रानीको झमेली हटियामा बिक्री गर्ने व्यापारीको भीड रानी नाकाको यात्रु शाखा अगाडी लागेको थियो । सशस्त्र र नेपाल प्रहरीले जोगबनीबाट सामान लिएर आउनेलाई रोक्दै भन्सार बुझाउन आग्रह गरेपछि उनीहरु आनाकानी गर्दै रोकिएका थिए ।
सीमापार भारतीय बजार जोगबनीमा पुगेर सामान खरिद गर्ने र भन्सार छलेर नेपालमा व्यापार चलाउनेको लावालस्कर रानी नाकामा सधैं लाग्छ । भन्सार प्रशासनले एक सय रुपिँया भन्दा बढीको सामान लिएर आउनेलाई भन्सार बुझाउन अनिवार्य गरेको छ ।

पारीको बजारमा गएर दैनिक जसो सामान ल्याउने र नेपालका बजारमा व्यापार चलाउनेलाई अहिले भन्सार क्षेत्रमा कडाई गरिएको छ । विराटनगर भन्सारका सूचना अधिकारी रामचन्द्र ढुंगानाले सरकारको नियम अनुसार भन्सार क्षेत्रमा कडाई गरिएको बताए ।
रानी नाकाबाट खुल्लम्खुल्ला अवैध रुपमा सामान भित्र्याउनेको संख्या दैनिक दुई हजार भन्दा बढी हुन्छ । भन्सार प्रशासनले पछिल्लो समय कडाई गरेसँगै दैनिक ३०० सयको हाराहारीले भन्सार बुझाउन थालेका छन् । घरायसी प्रयोजनका लागि भन्दै सामान लिन जानेदेखि नेपालमा पसल व्यवसाय गर्नेले नाकाबाट सामान भित्र्याउने गरेका हुन् । सूचना अधिकारी ढुंगानाले क्रमशः जनशक्ति बढाएर कानुन अनुसारको कडाई गर्दै जाने दावी गरेका छन् ।

विराटनगरमा अपाङ्गता भएका व्यक्तिहरुले समेत रानी नाकाबाट सामान भित्र्याएर बिक्री गर्दै आएका छन् । उनीहरुले आफ्नो रोजीरोटीको विषय उठाउँदै जोगबनीबाट व्यापारीका लागि सामान ल्याउने गरेका हुन् । तर, अधिकांशले अवैध रुपमा सामान भित्र्याउन पाउने आफ्नो अधिकार भएको भन्दै प्रहरी र भन्सार प्रशासनका कर्मचारीसँग झगडा समेत गर्ने गरेका छन् ।
कतिपयले जोगबनीबाट बोरामा प्याक गरेर ल्याएको कोभीको डल्ला भन्सार कर्मचारीलाई दिएर पनि फकाउने गरेका दृश्य देखिन्छन् । कर्मचारी लक्ष्मण अर्यालले जोगबनीबाट तरकारी लिएर आएका झमेली टोलका व्यापारीसँग दुई डल्ला कोभी लिएर सामान छोडिदिने गरेको आरोप छ ।व्यापारीसँग सामान लिने र नजिकै रहेको चिया पसलमा लगेर राखेर साँझमा घर लिएर जाने गरेको आरोप लगाउने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्