कांग्रेस महाधिवेशन : उम्मेदवारी मनोनयन सकियो

कांग्रेस महाधिवेशन : उम्मेदवारी मनोनयन सकियो

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा ६ जना सभापतिसहित ३९ जनाको पदाधिकारीमा उम्मेदवारी परेको छ । नयाँ कार्यसमिति चयनका लागि राजधानीको राष्ट्रियसभा गृहमा आज भएको उम्मेदवारी मनोनयन दर्तामा पदाधिकारीको लागि उक्त सङ्ख्यामा उम्मेदवारी मनोनयन पत्र दर्ता भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म उम्मेदवारी मनोनयन समयावधि तोकिएको थियो ।

निर्वाचन समितिका अनुसार सभापतिमा शेरबहादुर देउवा, प्रकाशमान सिंह, विमलेन्द्र निधी, डा.शेखर कोइराला, कल्याण गुरुङ र युवराज न्यौपानेको उम्मेदवारी परेको छ । उपसभापतिमा विजयकुमार गच्छेदार,महेश आचार्य,सुजाता कोइराला,डा.चन्द्र भण्डारी,धनराज गुरुङ,दिव्यश्वरी साह र पूर्णबहादुर खड्काले मनोनयन दर्ता गराउनुभएको छ । यसैगरी महामन्त्रीमा डा.मीनेन्द्र रिजाल,डा.प्रकाशशरण महत,विश्वप्रकाश शर्मा,गगनकुमार थापा,प्रदीप पौडेल र डा राजाराम कार्कीको उम्मेदवारी परेको छ ।

सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा,बद्रीप्रसाद पाण्डे,फर्मुल्लाह मनसुर,सुरेन्द्र चौधरी,शेख वकिल,देवराज चालिसे,किशोरसिंह राठौर,रञ्जीत कर्ण,जीवन परियार,रामकृष्ण यादव,जीवनबहादुर शाही,विकास लामा,कमला पन्त,तेजुलाल चौधरी,भीष्मराज आङदाङवे,चेतनाराज बजाल,उमाकान्त चौधरी, गङ्गा सुनार, महेन्द्र यादव र डिना उपाध्यायले उम्मेदवारी मनोनयन गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै केन्द्रीय सदस्यतर्फ पिछडिएका समूहबाट दुई,अपाङ्ग कोटामा १७,अल्पसङ्ख्यकमा ६,मुस्लिम कोटामा १६,थारु समुदायबाट १४,मधेशीमा ३२,दलित ३९,महिला ३१,खसआर्यतर्फ ८३ जना,आदिवासी जनजाति क्लष्टरबाट ८७ जना र खुलातर्फ ११० जनाको उम्मेदवारी परेको छ ।

यसैगरी प्रदेश १ बाट १३, प्रदेश २ बाट पाँच, लुम्बिनी प्रदेशका लागि ११, गण्डकीका लागि ६, कर्णालीका लागि छ, सुदूरपश्चिम प्रदेशका लागि १२, वाग्मतीका लागि नौ जनाले उम्मेदवारी मनोनयन गराउनुभएको छ । निर्वाचन प्रक्रियाको काम भृकुटीमण्डप र राष्ट्रियसभागृहबाट भइरहेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाति १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गताबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ । पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्षको हुनेछ । असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्ने विधानको व्यवस्था छ ।

यस महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ कायम रहेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ सङ्घीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट गरी उक्त सङ्ख्यामा महाधिवेशन प्रतिनिधि चयन हुनुभएको हो । यसअघि शुक्रबार भृकुटीमण्डपमा भव्य समारोहका बीच महाधिवेशनको उद्घाटन भएको थियो ।

तस्बिरः केशब गुरुङ्ग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्