कांग्रेसका सबै पदाधिकारीको मतगणना सम्पन्न, सदस्यको मतगणना हुँदै

कांग्रेसका सबै पदाधिकारीको मतगणना सम्पन्न, सदस्यको मतगणना हुँदै

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीतर्फको मतगणना सम्पन्न भएको छ । सोमबार सम्पन्न निर्वाचनको मतगणना आज सम्पन्न भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

प्राप्त मत पछिल्लो परिणामअनुसार खसआर्य तर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर, मधेसीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव, मुस्लिमतर्फको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर, थारुतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी र पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीमा बद्रीप्रसाद पाण्डे निर्वाचित हुनुभएको छ ।

समितिका अनुसार राठौरले दुई हजार ५७६ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिस्पर्धी देवराज चालिसे दुई हजार ५९ मत प्राप्त गर्नुभयो । मधेसीतर्फ यादवले दुई हजार ३३० र उहाँका निकटतम प्रतिस्पर्धी रामकृष्ण यादवले एक हजार ८२० तथा अर्का प्रत्यासी रञ्जित कर्णले ४७२ मत प्राप्त गर्नभएको थियो । मुस्लिमतर्फ मन्सुरले दुई हजार ७७६ मत र गर्दा उहाँका निकटतम प्रतिस्पर्धी शेख वकिलले एक हजार ८७१ मत प्राप्त गर्नुभयो ।

यसैगरी थारुतर्फ चौधरीले दुई हजार ७६२ र उहाँका निकटतम प्रतिस्पर्धी तेजुलाल चौधरीले एक हजार ८७७ मत प्राप्त गर्नुभयो । पिछडिएको क्षेत्रतर्फ पाण्डेले दुई हजार ४११ र उहाँका निकटतम प्रतिस्पर्धी जीवनबहादुर शाहीले दुई हजार १३३ मत तथा अर्का प्रत्याशी चेतराज बजालले ९९ मत प्राप्त गर्नुभएको थियो । यसअघि महिलातर्फको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’, दलिततर्फको सहमहामन्त्रीमा जीवन परियार र आदिवासी÷जनजातितर्फको सहमहामन्त्रीमा भीष्मराज आङ्देम्बे निर्वाचित भइसक्नुभएको छ । समावेशीका विभिन्न आठ क्लष्टरअन्तर्गत आठ सहमहामन्त्री पदका लागि १९ जनाको उम्मेदवारी परेको थियो।

कांग्रेसको महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा हालसम्म प्राप्त मतपरिणामअनुसार पदाधिकारीमध्ये सभापतिमा प्रधानमन्त्री रहनुभएका शेरबहादुर देउवा, उपसभापति दुई पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री दुई पदमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भइसक्नुभएको छ । पदाधिकारीपछि केन्द्रीय सदस्यको मतगणना जारी रहेको पार्टी कार्यालयले जनाएको छ ।

कांग्रेसमा जम्मा महाधिवेशन प्रतिनिधि (मतदाता) चार हजार ७४३ रहेका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा जम्मा ४८७ जनाले उम्मेदवारी दिनुभएको थियो । केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र समावेशीका विभिन्न आठ क्लष्टरअन्तर्गत आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाति १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने कांग्रेसको विधानमा व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्