विराटनगरमा पुस १५ गते ‘स्टार्टअप एन्ड इनोभेसन’ सहभागीले मेला आयोजना गर्ने

विराटनगरमा पुस १५ गते ‘स्टार्टअप एन्ड इनोभेसन’ सहभागीले मेला आयोजना गर्ने

विराटनगर। विराटनगरमा स्टार्टअप एन्ड इनोभेसन सहभागीले एक दिने मेला आयोजना गर्ने भएका छन्। उद्योग संगठन मोरङले गत साउन महिनादेखि सञ्चालन गरेको स्टार्टअप एन्ड इनोभेसनमा सहभागी भई हाल मेन्टरसिपमा रहेका २२ सहभागीले आगामी पुस १५ गते प्रदर्शनी गर्ने भएका हुन् ।

उद्योग संगठन परिसरमै प्रदर्शनीस्टल राखिने भएको छ । स्टार्टअप एन्ड इनोभेसनका सहभागीहरुले आफ्नो नयाँपन भएको इनोभेसनलाई प्रदर्शनी कक्षबाट प्रस्तुती गर्ने भएका हुन् । संगठनका कार्यकारी निर्देशक चूडामणि भट्टराईका अनुसार मोरङ उर्लाबारीका कुबेर ढुंगानाले ड्रमभित्र माछा पाल्न सकिने बायो फ्लक प्रविधि, सुनसरीको दुहबीका अनिश शाहले आफूले ऊर्वाभूमि ब्रान्डमा तयार पारेको वर्मी कम्पोस्ट मलको प्रदर्शनी गर्नेछन् । मोरङकै रविकुमार गुप्ताले उनको आरोहण इन्टरप्राइजेजले तयार पारेका विभिन्न डिजाइनका तयारी कपडाको स्टल राख्नेछन् ।

सोलुखुम्बुका छिरिङ तेन्जिङ शेर्पाले हाइल्यान्ड अर्गानिक नामको कम्पनीले उत्पादन गरेको जडिबुटी देखाउनेछन् । उदयपुरका हेमन्त भण्डारीले जैविक खरायोपालन कसरी गर्ने भन्ने प्रक्रियाको प्रदर्शनी गर्ने भएका छन् ।
स्टार्टअप र इनोभेसन कार्यक्रममा भाग लिइरहेकाहरूलाई उनीहरूको सीप, लगन र दक्षता सार्वजनिक गर्न तथा उनीहरूले कुन विधिबाट उत्पादन गर्दा रहेछन् भन्ने प्रदर्शन गर्न मेलाको आयोजना गरिएको भट्टराईले जानकारी दिए।

उद्योग संगठनले स्टार्टअप एन्ड इनोभेसन कार्यक्रमका लागि गत साउनमा दरखास्त आह्वान गरेको थियो। जसमा ४८ जनाको निवेदन परेको थियो । यी मध्येबाट २५ जनाको छनोट गरिएको थियो । तीमध्ये हाल २२ सहभागी विभिन्न विज्ञको मेन्टरसिपमा छन्।
सहभागीलाई ग्राहकको पहिचान कसरी गर्ने, सरोकारवालासित कस्तो व्यवहार गर्ने, आफ्ना उत्पादनका विशेषता केके हुन् आदि धेरै विषयमा विभिन्न मेन्टरले प्रशिक्षित गरिरहेका छन्।
सहभागीलाई प्राविधिक परामर्श दिनेमा नेपाल कृषि अनुसन्धान परिषद् तरहरा सुनसरी, पूर्वाञ्चल विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, राष्ट्रिय आविष्कार केन्द्र, मनमोहन प्राविधिक विश्वविद्यालय लगायत छन्।

त्यस्तै नबिल बैंकले सहभागीको परियोजना धितोमा राखेर सहुलियतयुक्त कर्जा दिने बताइएको छ। गत जेठ १५ गते तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले स्टार्टअप र इनोभेसन कार्यक्रमका सहभागीलाई सरकारले परियोजना धितोमा राखेर सहुलियतमा कर्जा दिने घोषणा बजेट भाषणमा गरेका थिए। उद्योग संगठनका कार्यकारी निर्देशक भट्टराईले उक्त सहुलियतयुक्त कर्जा वितरणका लागि सरकारले अहिलेसम्म कार्यविधि बनाउन नसकेको बताउनुभयो । कार्यविधि बनाउन नसक्दा कर्जा वितरण भने अवरूद्ध भएको छ ।
पहिलो चरणको कार्यक्रम अन्तिम अवस्थामा पुगेपछि दोस्रो चरणमा पनि कार्यक्रम सञ्चालन गर्ने र यस कार्यक्रमलाई निरन्तरता दिँदै जाने योजना उद्योग संगठनले बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्