बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २५६ स्लाइसको सिटी स्क्यान जडान

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २५६ स्लाइसको सिटी स्क्यान जडान

विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २५६ स्लाइसको अत्याधुनिक सिटी स्क्यान (कम्प्युटेड टोमोग्राफी) मेसिन जडान भएको छ । खरिद सम्झौता भएको करिब १६ महिनापछि १६ करोड रुपैयाँको उक्त मेसिन बीपीमा भित्र्याइएको हो । नयाँ सिटी स्क्यान जडान भएसंगै प्रतिष्ठानमा बिरामीको रोग पहिचानमा सहयोग पुगेको छ ।

गत मंगलबारदेखि नै प्रयोगमा ल्याउन थालिएको छ । अस्पतालका प्रवक्ता डा.चुरामणी पोखरेले काठमाडौं पछि धरानमा २५६ स्लाइसको अत्याधुनिक प्रविधिको सिटि स्क्यान यहि मात्रै रहेको दावी गरेका छन् ।
प्रतिष्ठानको आफ्नो सिटी स्क्यान मेसिन नहुँदा चिकित्सकहरुले लामो समयदेखि बिरामीलाई अन्यत्र रिफर गरिंर्दै आएको थियो । दैनिक ४० देखि ५० जना बिरामीलाई अन्यत्र रिफर गर्नु परेपछि सेवाग्राहीले प्रतिष्ठानको आलोचना गर्दै आएका थिए ।
प्रतिष्ठानमा जडान भएको नयाँ मेसिनले दैनिक ६० जनाको सिटी स्क्यान गर्न सकिनेछ । प्रतिष्ठानमा सिटी स्क्यान गर्दा न्यूनतम मूल्य ३ हजार ६ सय रुपैयाँ तोकिएको छ ।

नयाँ मेसिनबाट बिरामीको रिपोर्ट छिटो र दुरुस्त निकाल्न सकिन्छ । यो मेसिनबाट मुटुको सिटि एन्जिओग्राफी अफ हर्ट, स्ट्रोकका बिरामीका लागि ब्रेन पर्फ्यूजन, सिटि प्लोटोरेस्कोपी, बोन इमेजिङ, फोक्सो सम्बन्धी पल्मोनरी इम्बोलिजम, मिर्गौला सम्बन्धी रेनल एन्जीओग्राफी, सिटि गाइडेड बायोप्सी, मसल स्केलेटल इमेजिङलगायत शरीरका विभिन्न अंगको सिटि स्क्यान गरेर रोग पहिचान गर्न सकिने प्रवक्ता पोखरेलले जानकारी दिए ।

प्रतिष्ठानको एक अर्को सिटि स्क्यान मेसिन जडान भएपनि त्यो भने सार्वजनिक निजी साझेदारीमा सञ्चालित रहेको छ । उक्त मेसिन पनि सधैं बिग्रिरहने पुरानै प्रविधिको भएको र आम्दानीको ६५ प्रतिशत सिटी स्क्यान जडान गरिदिने कम्पनीको खातामा जाने भएकाले प्रतिष्ठानको लागि घाटाको व्यापार सावित भएको थियो ।
प्रतिष्ठानमा आउँदो जनवरीमा एकपटकमा १२ सय स्याम्पलको रिपोर्ट दिन सक्ने बायोकेमेस्ट्रिी एनालाइजर मेसिन पनि जडान गर्ने तयारी गरिएको छ । हाल प्रतिष्ठानमा १० वर्ष पुरानो प्रविधिको एकपटकमा ३ सय स्याम्पलको रिपोर्ट दिने एउटामात्र बायोकेमेस्ट्री एनालाइजर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्