विराटनगर । विराटनगर महानगरको सडकपेटीमा जुत्ताचप्पल मर्मत गर्ने मोचीहरुले राज्यको सेवा सुविधाबाट बञ्चित हुनुपरेको गुनासो गरेका छन ।
शनिबार जनशक्त्ति तथा सामुदायिक विकास केन्द्र मोरङ र सामाजिक परिवर्तन केन्द्र काठमाण्डौले कोभिडले पारेको असर प्रभावको बिषयमा आयोजना गरेको छलफलमा मोचीहरुले राज्यप्रदत्त सेवा सुविधाबाट बञ्चित हुनुपरेको गुनासो गरेका हुन ।
छलफलमा सहभागी मानव अधिकारकर्मी ट्रेड युनियनका अगुवा, विराटनगर महानगरपालिकाका प्रतिनिधि र पत्रकारहरु समक्ष सडकमा जुत्ताचप्पल सिलाउने मोचीहरुले कोरोना संक्रमणले गर्दा भएको लामो समयको लकडाउनमा आफुहरु भोकभोकै बस्न बाध्य भएको सुनाए ।
ट्राफिक चौकमा ३८ बर्षदेखी जुत्ताचप्पल सिलाएर गुजारा चलाउँदै आएका मोची राधे रामले भने, ‘लकडाउनमा अलि अलि कमाएर बचाएको पनि सकियो । ऋण र काम दुवै पाईएन । अब अर्को महामारी आउँदैछ रे । सरकारले हामीले हेर्नुपर्छ ।’
मोची कुमुद रामले आफुहरुले विद्यालयमा छोराछोरीले पाउने छात्रवृत्ती बाहेक अन्य कुनै सुविधा नपाएको बताए । सडकपेटीमा जुत्ताचप्पल सिलाउदा आफुहरुले बेलाबेला सास्ती भोग्नुपरेकोले व्यवस्थित र सुरक्षित रुपले जुत्ताचप्पल सिलाउन पाउने व्यवस्था गरिदिन उनले महानगरसँग आग्रह गरे ।
मोची विनोद रामले विराटनगरमा झण्डै २ सयको संख्यामा सडकमा जुत्ताचप्पल सिलाउने मोचीहरुले बर्षौंदेखी श्रम गरेपनि जिवनस्तर उकास्न नसकेको सुनाए । उनले मोचीहरुलाई पनि आवासको व्यवस्था मिलाईदिन सरकारसँग आग्रह गरे । विगत २५ बर्षदेखी जुत्ताचप्पल सिलाउँदै आएका पिन्टु मोचीले जुत्ताचप्पल मर्मत गर्ने व्यवसाय स्तरोन्नती गर्न सरकारले मोचीहरुलाई अनुदान दिनुपर्ने बताए । विराटनगरमा ४० बर्षदेखी जुत्ताचप्पल सिलाएर परिवार धान्दै आएका पच्चु रामले नयाँ पुस्तालाई सरकारले जुत्ताचप्ल निर्माण गर्ने तालिम दिएर रोजगार दिनुपर्ने बिषयमा जोड दिए ।
सेवा सुबिधाबारे जानकारी नै पाउदैनन मोचीहरु
जुत्ताचप्पल सिलाउने मोचीहरुका अगुवा राधे कामतका अनुसार विराटनगरका सडकमा जुत्ता चप्पल सिलाउने मोचीहरु अझै संगठित हुन सकेका छैनन । संगठित नहुँदा उनीहरु राज्यले प्रदान गर्ने सेवा सुविधाहरुबारे जानकार छैनन् । सडकमा जुत्ताचप्पल सिलाउने विराटनगरका मोचीहरु कसैको पनि आफ्नो घर छैन । जुत्ताचप्पल सिलाएर घरपरिवार धान्दै छोराछोरी पढाएपनि अझैसम्म ९ कक्षा माथि पढेको कोही पनि छैन ।
पुर्खौदेखी विराटनगरका सडकमा बसेर जुत्ताचप्पल सिलाउदै आएपनि अझै धेरै जना नागरिकताबाट बञ्चित छन । महानगरपालिकाले प्रदान गर्ने दलित बालबालिकालाई दिने पोषण भत्ताबारे पनि उनीहरु बेखबर छन । मोचीहरुको हक अधिकारको पक्षमा आवाज उठाउन आग्रह गर्दै मानव अधिकार रक्षक परिषदका अध्यक्ष सोमराज थापाले जुत्ताचप्पल मर्मत गर्ने मोची श्रमिकहरुलाई संगठित गर्न ट्रेड युनियनकर्मीहरु लाग्नुपर्ने सुझाए । उनले मोचीहरुलाई अधिकार सम्पन्न बनाएर सेवा सुविधा दिलाउन राज्यका सबै तहका सरकारको प्राथमिकता हुनुपर्नेमा जोड दिए ।
ट्रेड युनियन महासंघ समन्वय केन्द्र प्रदेश १ का अध्यक्ष टिका प्रसाँईले सडकमा बसेर जुत्ताचप्पल मर्मत गर्ने सर्वहाराहरुलाई तथ्यांक र अवस्था संकलन गरेर पञ्जिकरण गरि सेवा सुविधा दिलाउन महानगरपालिलाई आग्रह गरे । विराटनगर महानगरपालिका समाजिक महाशाखा प्रमख पुनम दाहालले सडकपेटीमा सुरक्षित हिँडन पाउने अधिकार सुनिश्चित गराउनुपर्दा जुत्ताचप्पल मर्मत गर्ने मोचीहरुको पेशा धरापमा परेकोले व्यवस्थित गराउन महानगरले योजना तयार पार्ने प्रतिबद्धता व्यक्त गरे । उनले मोचीहरु मात्र नभएर अनौपचारिक क्षेत्रमा काम गर्ने सबै श्रमिकहरुलाई पञ्जिकरण गराएर सुविधा दिलाउन महानगरपालिकाले कार्यविधि तयार गरिरहेको जानकारी गराए ।
अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश १ का उपाध्यक्ष उपेन्द्र रायले अनौपचारिक क्षेत्रका मजदुरहरुलाई संगठित गराउँदै हक अधिकार दिलाउन आफुहरु लागिरहेको भन्दै संगठित हुन मोचीहरुलाई आग्रह गरे । जनशक्त्ति विकास केन्द्र तथा सामुदायिक विकास केन्द्र मोरङका अध्यक्ष डिक घिमिरेले कोभिड महामारी र विपदहरुमा सबैभन्दा बढी मारमा पर्ने मोचीहरु जस्तै अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरु हुने भएकोले उनीहरुको पक्षमा आफुहरुले आवाज उठाउन थालेको जानकारी गराए ।