विराटनगर । किराँती धर्मालम्बीहरुले विराटनगरमा आफ्नो महान् चाड उधौँली पर्व आईतबार धुमधामले मनाएका छन् ।प्रत्येक वर्ष मंसिर पूर्णिमाको दिनदेखि मनाइने उधौँली यस वर्ष पनि किराँत समुदायले विभिन्न कार्यक्रम गरी मनाउन शुरू गरेका छन् ।
राई, लिम्बू, याख्खा, सुनुवार र भुजेल जातिले आआफ्नै तरिकाले मनाउन थालेका छन् । राई जातिले उधाँैली साकेला, लिम्बू जातिले चासोक तङनाम (न्वागी पूजा), याक्खा जातिले चासुवा, सुनुवार जातिले फोलस्याँदर र भुजेलले भुजेली पर्वको नामले यो पर्व मनाउने गरेका छन् ।
लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङनाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ । परम्परादेखि घरघरमा चासोक तङनाम मनाउँदै आए पनि पछिल्लो समय यसलाई चार किराँतीले आफ्नै शैलीमा सामूहिक माङहिम र स्थलमा भेला भई मनाएका छन् ।
उधौली किरात समुदायको मुख्य चाड हो। लिम्बुहरूले चासोक तङनाम, राईहरूले साकेला, याख्खाहरुले चासुवा र सुनुवारहरूले फोलष्याँदर मनाउँछन् । गुरुङले सिमेभूमेको पूजा गर्ने न्वागी खान्छन् ।
पर्वको अवसरमा विराटनगर –११ मा रहेको साकेला थानमा सवै किराँत समुदायका सवै उमेरका मानिसहरु भेलाभई साकेला सिली नाचेर यो पर्व हर्सउल्लाका साथ यो पर्व मनाएका छन् । उद्यौली पर्वको अवसरमा विभिन्न व्यत्तिलाई सम्मान समेत गरिएको थियो ।
साकेला सिलीमा किराँत समुदायका मात्र नभएर अन्य समुदायका बाहुन, क्षेत्री, नेवारका साथै मधेशी समुदायका यूवाहरु उल्लेख्य सहभागीता रहको थियो ।
उद्यौली पर्व परम्परादेखि मान्दै आएको निश्चित समुदाय वा जातिले मान्ने मात्र नभई पछिल्लो समय सवै समयमा अन्य समुदायको पनि यस पर्वमा उपस्थित रहने गरेको किराँत राई यायोख्खा नगर परिषद् विराटनगरकी अध्यक्ष विष्णु राईले जानकारी दिईन् ।
उधौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याएको खुसियालीमा मनाइने चलन छ । प्रकृति पूजक किराँत समुदायको भाषा, संस्कार र संस्कृतिले आ–आफ्नो पहिचान दिलाउने र अस्तित्व जोगाउने भएकाले उधौलीको अवसरमा संसारभरका किराँत समुदायले यो पर्व मनाउने किराँत राई यायोख्खा नगर परिषद् विराटनगरकी सचिव कुन्ता राईले बताईन् । उधौलीको अवसरमा एकै ठाउँमा भेला भएर दुःख–सुख साट्दै संस्कृति झल्काउने पोसाकमा हातमा झ्याम्टा, ढोल, चमर र सेउली लिएर किराँत समुदायका मानिस विभिन्न शैलीमा सोकवा साकेन्वा नाचेर यो पर्व मनाएका छन् ।