इटहरीमा ‘नगरपालिका गोल्डकप २०७८’ हुने

इटहरीमा ‘नगरपालिका गोल्डकप २०७८’ हुने

इटहरी । सुनसरीको इटहरीमा यही माघ पहिलो सातादेखि ‘नगरपालिका गोल्डकप २०७८’ हुने भएको छ ।

कोभिड महामारीका कारण थलिएको खेल क्षेत्रलाई पुनः चलायमान बनाउन तथा खेलाडी र खेलक्षेत्रको विकासमा थप सहयोग पुर्याउने उद्देश्यले गोल्डकपको आयोजना हुने भएको हो । शुक्रबार इटहरी उप–महानगरपालिकाकी उप–प्रमुख लक्ष्मी गौतमको बाहुलीबाट शिल्ड अनावरण गर्दै आयोजक एरिना टेलिभिजनले प्रतियोगिताबारे जानकारी दिएको हो ।

यसअघि पनि टेलिभिजनले विभिन्न खेल र मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न गरिसकेको बताउँदै त्यसैको निरन्तरता स्वरूप खेल क्षेत्रको विकासका थप टेवा पुर्याउन गोल्डकपको आयोजना गर्न लागिएको एरिना टेलिभिजनका प्रबन्ध निर्देशक समीर कार्कीले बताए । प्रतियोगिता सफलताको शुभकामना दिँदै इटहरी उप–महानगरपालिकाकी उप–प्रमुख लक्ष्मी गौतमले नगरपालिका गोल्डकपले खेल क्षेत्रमा भएका कार्यहरूको मूल्याङ्कन समेत हुने बताईन् । उनीले इटहरी उप–महानगर पनि प्रतियोगितामा सहभागी हुने बताउँदै सम्भव भएस प्रदेश १ बाहिरका अन्य नगरपालिकाहरूलाई पनि सहभागी हुन आग्रह गरिन् ।

हालसम्म प्रतियोगितामा ८ वटा नगरपालिका सहभागिता हुन इच्छुक रहेको आयोजकले जनाएको छ । इटहरीस्थित जनता माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको विजेताले शिल्ड र नगद १ लाख ५० हजार रूपैयाँ र उप–विजेताले नगद १ लाख रूपैयाँ प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्