जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका वडाध्यक्ष रामकुमार श्रेष्ठको निधन भएको छ । वि.सं २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षमा निर्वाचित श्रेष्ठको गएराति ६३ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो ।
श्रेष्ठको निधनमा कांग्रेसले तीन दिनसम्म शोक मनाउँदै औपचारिक कार्यक्रम स्थगन गर्ने, एक दिन पार्टी कार्यालय बन्द गर्ने र कांग्रेसको झण्डा आधा झुकाउने निर्णय गरिएको जिल्ला सभापति विष्णुकुमार राईले जानकारी दिनुभयो । यस्तै, वडाध्यक्ष श्रेष्ठको निधनमा गाउँपालिकामा आज शोक बिदा दिइएको छ ।
वि.सं २०१५ असार ६ गते जन्मनुभएका वडाध्यक्ष श्रेष्ठ गत माघदेखि मुटुको समस्याबाट पीडित रहनुभएको थियो । सिकिस्त अवस्थामा गत माघ–२८ गते शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी लगिएको श्रेष्ठ मुटुको भल्व फेरेपछि नियमित औषधि सेवन गर्दै आउनुभएको थियो । स्वास्थ्यमा सुधार भएपछि घर आउने र समस्या आए अस्पताल जानेआउने गर्नुभएका श्रेष्ठलाई जटिल समस्या आएपछि गत साउनमा हेलिकोप्टर चार्टर गरेर काठमाडौँ पु¥याइएको थियो । उहाँलाई अस्पतालमा लगिएपछि गत माघ २८ गतेदेखि वडासदस्य धनबहादुर राईले कार्यबाहक वडाध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।
वि.सं २०३२ मा एसएलसी उत्तीर्ण गर्नुभएका श्रेष्ठ २०३८ सालदेखि कांग्रेसको राजनीतिमा लाग्नुभएको थियो । वि.सं २०४९ मा तत्कालीन चिसापानी गाविस अध्यक्ष निर्वाचित श्रेष्ठ २०५७ सालमा कांग्रेस क्षेत्रीय सभापति, २०६२ मा मनोनित जिल्ला सदस्य, वि.सं २०६७ को जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला सदस्य र विसं २०७२ मा महाधिवेशन प्रतिनिधि बन्नुभएको थियो ।
उहाँको आज नै नेवारी संस्कार अनुसार दाहसंस्कार गर्ने तयारी गरिएको आफन्तले जनाएका छन् । श्रेष्ठका श्रीमती, तीन छोरा, दुई बुहारी र दुई नातीनातिना छन् ।