नोबेललाई कारबाही र नियमित कक्षा सञ्चालनको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन–पत्र

नोबेललाई कारबाही र नियमित कक्षा सञ्चालनको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन–पत्र

विराटनगर । सौहार्दपुर्ण वातावरणमा नियमित कक्षा सञ्चालनको माग गर्दै संयुक्त विद्यार्थी संगठनले प्रदेश १ का मुख्यमन्त्रीलाई ज्ञापन–पत्र बुझाएका छन् ।

कक्षा सञ्चालन र नोबेल मेडिकल कलेजलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गर्दै संयुक्त विद्यार्थी संगठनले आईतबार प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र राईलाई ज्ञापन पत्र बुझाएका हुन् । चिकित्सा शिक्षा आयोगले निर्धारण र निर्देशन गरेको भन्दा अन्य कुनैपनि बहानामा अतिरिक्त शुुल्क लिन नमिल्ने विद्यार्थी संगठनकोे माग छ । उनीहरुले चिकित्सा शिक्षा क्षेत्रमा देखिएको विकृतिको अन्त्य गर्दै आन्दोलनरत विद्यार्थीहरुलाई न्यायको अनुभुति दिलाउन प्रदेश सरकारसँग आग्रह गरेका छन् ।

विद्यार्थीहरुको जायज माग सम्बोधनका निम्ति शान्तिपुर्ण आन्दोलनका क्रममा बिहीबार क्याम्पस प्रशासनमा तालाबन्दी भईसकेको भएपनि नोबेलले माग सुनुवाई गर्नुको साटो विद्यार्थी र विद्यार्थी नेताहरुलाई डराउने र धम्क्याउने कार्य गरिरहेको ज्ञापन–पत्रमा उल्लेख छ । शान्तिपुर्ण आन्दोलनकै क्रममा आईतबार रिले अनसन बस्न खोज्दा नोबेलमा कार्यरत सुरक्षा गार्डहरुले गुण्डागर्दी शैलीमा आक्रमण गरेको विद्यार्थीहरुले बताएका छन् । आक्रमणबाट केही विद्यार्थी नेताहरु घाईते समेत भएको उनीहरुले जानकारी दिएका छन् ।

ज्ञापन–पत्र बुझ्दै मुख्यमन्त्री राईले विद्यार्थीहरुको समस्या र मागप्रति प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको बताए । उनले शिक्षा क्षेत्रमा निजीकरण हुनुहुँदैन भन्ने बिषयमा प्रदेश सरकार स्पष्ट रहेको जानकारी दिए । उनले विद्यार्थीहरुको माग सम्बोधनका निम्ति संघीय सरकारलाई लिखित रुपमा अनुरोध गर्ने तथा प्रदेश सरकारको सामाजिक विकास समिति मार्फत अनुगमन र छानबिनको प्रक्रिया छिट्टै अघि बढाईने आश्वासन दिए ।

चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययन गर्ने विद्यार्थीको शिक्षण शुल्क ४४ लाख ३६ हजार ५२ निर्धारण गरेको छ । तर, नोबेल शिक्षण अस्पतालले विश्वविद्यालय सम्बन्धन शुल्क, रजिष्ट्रेशन शुल्क, परीक्षा शुल्क र होस्टेल शुल्क लगायतका विभिन्न शीर्षकमा विद्यार्थीहरुसँग ३५ देखि ४० लाख रुपैयाँ अतिरिक्त असुल गर्दै आएको छ । चिकित्सा शिक्षा आयोगले छात्राबास ऐच्छिक हुने निर्णय गरेको भएपनि नोबेलले त्यसलाई अनिवार्य गरेर विद्यार्थीहरुसँग मासिक २४ हजार असुल गर्ने गरेको छ । यसबाहेक कलेजले खानाको ७ हजार र बिजुलीबत्तीको समेत बेग्लै शुल्क लिने गरेको छ ।

यसका अतिरिक्त नोबेल मेडिकल कलेजले एमबीबीएस अध्ययनरत विद्यार्थीहरुसँग काठमाण्डौं विश्वविद्यालय रजिष्ट्रेशन शुल्क बापत २५ हजार, काठमाण्डौं विश्वविद्यालय सम्बन्धन शुल्क बापत ९८ हजार ५ सय ७९, नोबेल मेडिकल कलेज रजिष्ट्रेशन शुुल्क बापत ५ हजार र काठमाण्डौं विश्वविद्यालय परीक्षा शुल्क बापत एकमुष्ठ ११ हजार असुल गर्ने गरेको विद्यार्थीहरु बताउँछन् ।

कलेजले भने अनुसारको पैसा नतिर्ने विद्यार्थीहरुलाई पठनपाठनबाट समेत बञ्चित गराउने गरिएको उनीहरुको भनाई छ ।

यो पनि पढ्नुहोस : मोरङ प्रशासनकै रोहबरमा नोबेलको एमबीबीएसको कक्षा स्थगित गराईयो

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्