विराटनगर । अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल) को पहिलो दिन आज देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर ईदउल फित्र पर्व मनाउँदै छन् ।
दशौँ महिनाको पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ। यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ। आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ।
नवौँ महिनाको अन्तिम दिन बिहीबार बेलुका चन्द्रमा देखिएपछि आज ईदउल फित्र मनाइएको हो।