बारा । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ८ सय ६७ पदका निमित्त ४ हजार ५ सय ३८ जना चुनावी मैदानमा उत्रिएका छन् ।
जिल्लामा २ उपमहानगरपालिका, ५ नगरपालिका र ९ गाउँपालिका रहेको छ । प्रमुख/अध्यक्ष पदमा १ सय ९७, उपप्रमुख/उपाध्यक्षमा १ सय १८, वडाध्यक्षमा एक हजार १३, पुरुष वडा सदस्यमा १ हजार ६ सय ६०, महिला वडा सदस्यमा ८ सय र दलित महिला सदस्यका लागि ७ सय ५० जना चुनावी मैदानमा छन् । निर्वाचन कार्यालय बाराका प्रमुख सरोजकुमार चौधरीका अनुसार सबैभन्दा बढी कलैया उपमहानगरपालिकामा नगर प्रमुखका लागि १३ जनासहित ७ सय ५६ जना र सबैभन्दा कम प्रसौनी गाउँपालिकामा अध्यक्षमा १३ सहित १ सय ७७ जना उम्मेदवार बनेका छन् ।
वि.सं. २०७४ को स्थानीय तह निर्वाचनमा प्रमुख-अध्यक्षमा १ सय ७७, उपप्रमुख-उपाध्यक्षमा १ सय २५ र वडाध्यक्ष ९ सय ३८ जना उम्मेदवार बनेका थिए । पुरुष वडा सदस्यमा १ हजार ५ सय ५४, महिला वडा सदस्यमा २ सय ६३, दलित सदस्यमा ७ सय २ जनासहित ४ हजार २ सय ५९ जनाले उम्मेदवारी दिएका थिए । बारामा ४ लाख २३ हजार ३ सय २७ मतदाता छन् । ५ सय ४१ मतदान केन्द्र र ३ सय ३ मतदानस्थल कायम गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।