पू.वि. गोठगाउँमा ल्याब सम्बन्धी स्नातक तहको पढाई सुरु हुने

पू.वि. गोठगाउँमा ल्याब सम्बन्धी स्नातक तहको पढाई सुरु हुने

विराटनगर । मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ हेल्थ साईन्समा यसै शैक्षिक सत्रबाट ब्याचलर ईन ल्याब टेक्नोलोजी बिषयको पठनपाठन सुरु हुने भएको छ ।

विश्वविद्यालयको गोठगाउँस्थित स्कुल अफ हेल्थ साईन्समा पहिलोपटक उक्त बिषयको पठनपाठन सुरु हुने भएको हो । चिकित्सा शिक्षा आयोगले समेत स्वीकृति दिईसकेको हुनाले यसै वर्षदेखि पठनपाठन सुरु गर्ने तयारी रहेको क्याम्पसको चिकित्साशास्त्र संकायका डीन डा. शैलेशमणि पोखरेलले बताए । उनले पहिलो ब्याचमा १० जना विद्यार्थीलाई भर्ना लिने गरी पठनपाठन सुरु गरिने जानकारी दिए । ९ वर्षअघि स्थापना भएको उक्त क्याम्पसमा भने नर्सिङ, जनस्वास्थ्य र फार्मेसी बिषयमा स्नातक र स्नातकोत्तरसम्मका कक्षाहरु सञ्चालन हुँदै आएका छन् ।

यसका अतिरिक्त विश्वविद्यालयले एमबिबिएस कार्यक्रमको सञ्चालनको तयारी समेत गरिरहेको जनाएको छ । विश्वविद्यालयका अनुसार त्यसका लागि पाठयक्रम तयारको कार्य भने सम्पन्न भईसकेको छ । विराटनगरस्थित कोशी अस्पतालसँगको समन्वयमा एमबिबिएस बिषयको पठनपाठन सुरु गर्ने योजना रहेको बताईएको छ ।

गत चैत्र ७ गते मोरङकै सुन्दरहरैंचामा नगरपालिका भवनको शिलान्यास कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले समेत पूर्वाञ्चल विश्वविद्यालयमा एमबिबिएस कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । पूर्वाञ्चल विश्वविद्यालयको १० औं दिक्षान्त समारोहमा सहभागी हुन वैशाख ४ गते गोठगाउँ आएका शिक्षामन्त्री देवेन्द्र पौडेलले पनि एमबिबिएस पठनपाठनका लागि सबै प्रकारको सहयोग गर्न आफू तयार रहेको बताएका थिए । २०७८ फाल्गुणमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल र राष्ट्रियसभा सदस्य रमेशजङ रायमाझी सहितको टोलीले पूर्वाञ्चल विश्वविद्यालयमा एमबिबिएसको कक्षा सुचारु गर्न आवश्यक बजेट तर्जुमाका निम्त्ति स्थलगत निरीक्षण समेत गरेको थियो ।

पूर्वाञ्चल विश्वविद्यालयले भने हाल एमबिबिएस कार्यक्रमका सञ्चालनका निम्त्ति बेसिक साईन्स तर्फको अधिकांश पुर्वाधार तयार गरिसकेको छ । थप पुर्वाधार विकासको कार्य भने धमाधम भईरहेको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्