काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) ले विद्यालयमा हप्तामा दुई दिन (आइतबार)समेत बिदा दिने निर्णय फिर्ता गर्न नेपाल सरकारसँग माग गरेको छ ।
नेशनल प्याब्सनका अध्यक्ष पाण्डव हमाल ठकुरीले शनिबार विज्ञप्ति जारी गर्दै विभिन्न बन्द हडताल र कोभिड–१९ का कारण विगत दुई वर्षयता नियमित पठनपाठन नभई विद्यार्थीको सिकाइमा असर परेका कारण दूरगामी असर पर्ने गरी कुनै निर्णय नगर्न आग्रह गर्नुभएको हो ।
विज्ञप्तिमा आफूहरुसँग परामर्श नगरी एकपक्षीयरुपमा आइतबार विद्यालयमा बिदा दिने निर्णय गरिएको गुनासो गर्दै शिक्षा ऐनमा व्यवस्था भएको वार्षिक कार्यदिन र कार्यघण्टामा नकारात्मक असर पर्ने भएकाले अभिभावक, शिक्षक र विद्यार्थीमा अनावश्यक दबाब पर्ने गरी आइतबार विद्यालयमा बिदा दिने निर्णय फिर्ता गर्न माग गरिएको हो ।
सरकारले जेठ १ गतेदेखि सातामा शनिबार र आइतबार साप्ताहिक बिदा दिने निर्णय गरेपछि विद्यालय सञ्चालनमा नयाँ बहस उत्पन्न भएको छ ।