चारजना पत्रकारलाई प्रादेशिक पत्रकारिता पुरस्कार

चारजना पत्रकारलाई प्रादेशिक पत्रकारिता पुरस्कार

विराटनगर । प्रदेश सरकारले प्रादेशिक पत्रकारिता पुरस्कारबाट चारजना पत्रकारलाई पुरस्कृत गरेको छ । यातायात तथा सञ्चार मन्त्रालयले शुक्रबार विराटनगरमा पत्रकार अन्तरक्रिया तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरेर प्रदेश १ का चारजना अग्रज पत्रकारलाई जनही एकलाख नगद राशीबाट पुरस्कृत गरेको हो ।

पुरस्कृत हुनुहुने धनकुटाका सन्जयसन्तोषी राई, स्मिता निरौला, झापाका लिला बराल र सुनसरीका कृष्णबिनोद लम्साललाई मुख्यमन्त्री राजेन्द्रकुमार राईले नगद पुरस्कार प्रदान गर्नु भएको थियो । विगत दुईवर्षदेखि प्रदेश सरकारले यो पुरस्कार प्रदेश १ मा रहेर पत्रकारिताको क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गर्ने पत्रकारहरुलाई प्रदान गर्दै आएको छ ।

कार्यक्रममा मुख्यमन्त्री राजेन्द्रकुमार राईले राज्यको चौंथो अंगको भूमिका सामान्य नरहेको बताउनु भएको छ । यातायात तथा सञ्चार मन्त्रालयले आयोजना गरेको प्रादेशिक पत्रकारिता वितरण कार्यक्रममा मुख्यमन्त्री राईले सरकारको स्वतन्त्र दवाव शक्तिको रुपमा पत्रकारको भूमिका सधैं उच्च हुने बताउनु भएको हो ।
प्रतिपक्षी राजनीतिक दलको भूमिका भन्दा चौंथो अंगको दवाव शक्तिशाली हुन्छ, मुख्यमन्त्री राईले भन्नुभयो–पत्रकारको भूमिकाले मात्रै लोकतन्त्र बच्न सक्छ । उहाँले लोकतन्त्रलाई फुलाउने भूमिका रहेका पत्रकार पुरस्कार र सम्मानका लागि सधैं योग्य हुने बताउँदै भ्रम र आग्रहलाई सधैं अस्वीकार गर्नुपर्ने बताउनुभयो ।
उहाँले सरकारले आगामी आर्थिक वर्षको बजेट तर्जुमा गरिरहेको बताउँदै पत्रकारिता क्षेत्रको विकासका लागि बजेटले सम्बोधन गर्नुपर्ने विषयलाई सरकारले प्राथमिकता दिने बताउनुभयो ।

कार्यक्रममा प्रमुख सचिव डा.रामप्रसाद घिमिरेले पेसाप्रति जिम्मेवार भएर दैनिक भूमिका निर्वाह गर्नका लागि आग्रह गर्नुभयो । उहाँले सरकारका योजना र कार्यक्रम नागरिकसम्म पु¥याएर सेवा लिन उद्धत गराउन पत्रकारको भूमिका सधैं जरुरी हुने बताउनुभयो ।
कार्यक्रममा यातायात तथा सञ्चार मन्त्री उपेन्द्र घिमिरेले सरकारका कामलाई नागरिकमुखी बनाउन पत्रकारको विशेष भूमिका हुने बताउनुभयो । उहाँले सरकारका कामहरुको मूल्यांकन गरेर सकारात्मक वा आलोचनात्मक टिप्पणी गर्ने सुविधा पत्रकारलाई रहेको बताउनुभयो । श्रमजीवि पत्रकार प्रदेशको सम्पति भएको बताउँदै सञ्चारमाध्यमको तथ्यांक संकलन गरेर त्यसमा आश्रित पत्रकारको अवस्था बुझ्ने बताउनुभयो । सञ्चारमाध्यममा आश्रित पत्रकारलाई सरकारले सकेसम्म सहयोग गरेर जाने मन्त्री घिमिरेले बताउनुभयो ।

कार्यक्रममा पुरस्कृत धनकुटाका पत्रकार सन्जयसन्तोषी राईले सम्मानप्रति आभार व्यक्त गर्दै प्रदेश १ को नामाकरण गर्नुपर्ने माग गर्नुभयो । उहाँले अन्य छ प्रदेशको नामांकन हुँदा प्रदेश १ को मात्रै बाँकी हुनु शोभनिय नभएको बताउनुभयो । नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लिलाबल्लभ घिमिरेले सरकारले श्रमजीवि पत्रकारको हितका लागि कार्यक्रमहरु ल्याउनेमा विश्वास व्यक्त गर्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्