५ लाख ऋणमा ३६ प्रतिशत वार्षिक ब्याज : तिर्दातिर्दै ९ कठ्ठा सकियो

<span class='c1'>५ लाख ऋणमा ३६ प्रतिशत वार्षिक</span> <span class='c2'>ब्याज : तिर्दातिर्दै ९ कठ्ठा सकियो</span>

विराटनगर । मोरङको जहदा गाउँपालिका वडा नं. ७ बस्ने महाविर चौैधरी पेशाले किसान हुन् ।

१८ वर्षदेखि खरबुजा खेती गर्दै आएका उनको झापाको कन्काई नदीको बगरमा ७ बिगाहा जग्गा छ । उनको जहदा–७ मा पनि ९ कठ्ठा ६ धुर जग्गा छ । परिवारमा श्रीमती लिलादेवी चौधरी उनको १ छोरी र ३ छोरा छन् । खरबुजा बेचेरै छोरीको विवाह गरेका महाविरका ठुलो छोरा मेघराज चौधरी नयाँ गुद्र्रीमा आँपको व्यापार गर्छन् । माईलो रामप्रवेश ज्याला मजदुरी र कान्छो राजमिस्त्रीको काम गर्छन् । १ दशक अघिसम्म महाविरको पारिवारिक अवस्था ठीकै थियो । खरबुजा खेतीले परिवारको आवश्यकता र चाहना दुवै पुरा गरिरहेको थियो । प्रायः खेतीपातीमा व्यस्त रहने गरेका चौधरी दम्पत्तीले ०६५ सालमा आएर खेती विस्तार गर्ने योजना बनाए ।

खेती विस्तारका लागि २०६५ भदौ ५ गते उनीहरुले आफ्नै छिमेकी पर्ने स्थानीय प्रफुल साहसँग १ लाख रुपैयाँ ऋण लिए । धितो सुरक्षण बापत उनले जहदामा भएको आफ्नो ९ कठ्ठा ६ धुर जग्गा साहको नाममा राजिनामा पास गरिदिए । त्यो १ लाख रुपैयाँ उनीहरुले खरबुजा खेतीमा लगानी गरे । तर, सोचेजस्तो भएन । उत्पादन सन्तोषजनक भएन् । यद्यपि उनीहरुले हार भने मानेनन् ।

३ वर्षसम्म प्रफुलसँग ऋण स्वरुप लिएको सो पैसा चलाएपछि एकदिन प्रफुलले महाविरसँग सो पैसा फिर्ता मागे । तर, महाविरसँग प्रफुललाई ब्याजसहित फिर्ता गर्ने पैसा भएन् । खेती पनि राम्रो नभएपछि उनले विराटनगर–१९ बस्ने पशुपति साहसँग ४ लाख रुपैयाँ ऋण लिए । यसअघि, प्रफुलको नाममा राजिनामा पास गरिएको जग्गा अब २०७२ साउन १९ गते पशुपतिको नाममा रजिष्टे«शन गरियो । त्यसपछि पशुपतिसँग लिएको ऋणबाट महाविरले ५० हजार ब्याजसहित प्रफुलको १ लाख रुपैयाँ फिर्ता गरिदिए । बाँकी अढाई लाख महाविरले खरबुजा खेती र छोरीको बिहेमा खर्च गरे ।

१ वर्षपछि विभिन्न कारण देखाउँदै पशुपतिले पनि महाविरसँग आफ्नो पैसा फिर्ता मागे । तर, महाविरसँग पुनः पशुपतिको ऋण तिर्ने पैसा भएन् । असिना, पानीले खरबुजा खेती समेत नष्ट गरिदिएपछि घर व्यवहार चलाउन समेत हम्मेहम्मे परेको महाविरले भनेको समयमा पशुपतिको ४ लाख फिर्ता दिन सकेनन् । ऋण फिर्ताका लागि पशुपतिले पनि पटकपटक ताकेता गरेपछि महाविरले पुनः २०७३ असार १६ गते आफ्नो ९ कठ्ठा ६ धुर जग्गा जहदा–७ बस्ने सुदेश साहको नाममा राजिनामा पास गरी ५ लाख रुपैयाँ ऋण लिए । त्यो ५ लाखबाट उनले पशुपतिको ऋण तिरे । यस अघिसम्म सब ठीक चलिरहेको महाविरको नियति त्यतिबेला फेरियो जब ब्याज सहित सुदेशको सम्पुर्ण तिरिसकेपनि उनको जग्गा फिर्ता पाईएन् ।

पशुपतिलाई ऋण फिर्ता गरेपछि २०७७ सालसम्म महाविरले सुदेशलाई वार्षिक ३६ प्रतिशत चक्रीय ब्याज सहित चार किस्तामा कुल १० लाख २० हजार रुपैयाँ बुझाईसकेका छन् । तर, ब्याज सहित ऋण तिरिसकेको भएपनि सुदेशले हालसम्म राजिनामा पास गरेको उक्त जग्गा महाविरलाई फिर्ता गरेका छैनन् । सुदेशले उल्टै सो जग्गा २०७७ पौष २० गते जहदा–५ बस्ने श्रवण साहलाई ४ लाख १५ हजार ५०९ रुपैयाँमा बिक्री गरेका छन् ।

ऋण खाएको १ वर्षपछि २ लाख ७० हजार, २०७४ मा २ लाख, २०७६ मा ३ लाख र अन्तिम पटक २०७७ मंसिर मसान्तमा २ लाख ५० हजार रुपैयाँ आफुले सुदेशलाई तिरिसकेको महाविर बताउँछन् । भारतको पञ्जाबमा काम गरेर आफुले सुदेशको पहिलो किस्ता तिरेको उनको भनाई छ । उनी भन्छन्, ‘म सँग सुदेशको ऋण तिर्ने पैसा थिएन् । पैसा नभएपछि जागिरको सिलसिलामा भारतको पञ्जाब गए । त्यहाँ मार्बल मिस्त्रीको काम गरे । त्यही पैसाले सुदेशसँग लिएको ऋणको पहिलो किस्ता तिरेको हुँ ।’

२०७६ सालमा विराटनगरको देवकोटा चौकस्थित राष्ट्रिय वाणिज्य बैंकबाट श्रीमती लिलादेवी चौधरीको नाममा ३ लाख रुपैयाँ निकालेर समेत सुदेशसँग लिएको ऋणको तेश्रो किस्ता आफुले तिरेको महाविर बताउँछन् । महाविरको श्रीमती लिलादेवी चौधरी भन्छिन्, ‘हामीले दुईपटकको किस्ता नगद बुझायौं । तेश्रो किस्ता बैंकमार्फत दिन खोज्दा सुदेशले मानेन् । नमानेपछि मेरै नाममा चेक काटेर पैसा निकालेर तेश्रो किस्ता बुझाएका हौं । त्यसको प्रमाण सुरक्षित छ ।’

त्यसपछि पुनः २०७७ सालमा अन्तिमपटक महाविरले सुदेशलाई कुल २ लाख ५० हजार बुझाएका छन् । सो पैसा तिर्न उनीहरुले मोरङको कटहरीस्थित जीवन विकास समाजबाट २ लाख र सुनसरीको इनरुवा बजारमा खरबुजा व्यापार गर्दै आएका छोरा मेघराज चौधरीबाट ५० हजार लिएको देखिएको छ । तर, मिटर ब्याज लगाएर सुदेशले महाविरसँग आफ्नो सम्पुर्ण ऋण असुल गरिसकेको भएपनि धितो राखिएको उनको जग्गा भने पास गर्न मानेका छैनन् । जग्गा श्रवणलाई बिक्री गरेर हाल दुवैले सो जग्गामा पोखरी खनिरहेको चौधरी दम्पत्तीले बताएका छन् ।

सुदेशको सम्पुर्र्ण ऋण चुक्ता गरिसकको भएपनि जग्गा फिर्ता नपाईएपछि चौधरी दम्पत्तीले २०७७ सालमा जहदास्थित मझारे प्रहरी चौकीमा छलफलका निम्त्ति निवेदन समेत दिएका थिए । प्रहरी चौकीका प्रमुख असई श्री प्रसाद ठाकुरले दुवैपक्ष बिच छलफल गराएर ४ दिनपछि जग्गा फिर्ता गर्ने सम्बन्धमा सहीछाप सहित सहमति समेत गराईदिए । तर, सहमतिको कागज भने दिएनन् । चार दिनपछि चौधरी दम्पत्ति जग्गा नामसारीका लागि सहमतिपत्र आवश्यक पर्ने भएकाले सो कागज माग गर्दै प्रहरी चौकी पुगे । तर, असई ठाकुरले कुनै सहमति नभएको भन्दै उनीहरुलाई उल्टै धराई धम्काई फिर्ता पठाईदिए । प्रहरीबाट न्याय नपाएपछि २०७८ साउन ३ गते महाविरले आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय मोरङमा निवेदन दिए । निवेदन परेपछि साउन ४ गते मोरङ प्रशासनले मझारे प्रहरी चौकीलाई एक पत्र काट्दै मिटर ब्याजका रुपमा ऋण लगानी गरेर मान्छेको उठीबास गराउने सुदेश साहलाई पक्राउ गरि कारबाहीको दायरामा ल्याउन आदेश दियो । तर, असई ठाकुरसँगको साँठगाँठका कारण सुदेश पक्राउ परेनन् ।

उल्टै सुदेशले मोरङ प्रशासन, मोरङ प्रहरी, मझारे प्रहरी चौकी र महाविर चौधरी समेतलाई विपक्षी बनाई उच्च अदालत विराटनगरमा निषेधाज्ञा मुद्दा दर्ता गराए । तर, निवेदकको दाबी नपुगेपछि २०७८ मङ्सिर १३ गते उच्चले महाविर चौधरीको पक्षमा फैसला सुनाईदियो ।

सुदेशले उच्चमा दर्ता गरेको मुद्दामा उक्त जग्गा २०७३ सालमा आफुले पशुपति साहसँग खरिद गरि भोगचलन गर्दै आएको र घरव्यवहार गर्नका निम्त्ति २०७७ मा श्रवण साहलाई राजिनामा गरि हक हस्तान्तरण गरेको भनी उल्लेख छ । मुद्दामा भनिएको छ, ‘५ वर्ष अघिसम्म उक्त जग्गा महाविर वा उनको कोही परिवारको सदस्यको नाममा थिएन । यद्यपि, महाविरले उक्त जग्गा मेरो हो, जसरी भएपनि मैले पाउनुपर्छ, नभए म तिमीलाई हैरान पार्छु भनी प्रहरीमा झुठो निवेदन हाल्दै मेरो सम्पत्ति अतिक्रमण गर्न खोजेका छन् ।’

यता उच्चको फैसलापछि महाविरले पुनः कारबाहीका अगाडि बढाई पाउँ भनी मोरङ प्रशासनमा आग्रह गरे । २०७९ जेठ २५ गते एक पत्र काट्दै प्रशासनले मोरङ प्रहरीलाई कारबाही अगाडि बढाउन निर्देशन दियो । प्रशासनको निर्देशानुसार जेठ २९ गते मात्रै मोरङ प्रहरीले उक्त मुद्दा न्यायिक समिति मार्फत् निरुपण हुने देखिएकाले जहदा गाउँपालिकामा पठाईदियो । जेठ ३० गते गाउँपालिका उपाध्यक्ष हन्ना सोरेनको अध्यक्षतामा न्यायिक समितीको बैठक त बस्यो । तर, बैैठकमा महाविर र उनको श्रीमतीलाई बोल्नै दिईएन् । महाविर भन्छन्, ‘बैठकमा असम्बन्धित ५० भन्दा बढी व्यक्तिहरु सहभागी भएका थिए । सबै बोर्डर साईडका थिए । हामीलाई बोल्नै दिईएन् ।’

यता, जहदा गाउँपालिकाकी उपाध्यक्ष हन्ना सोरेनले अर्को छलफलका निम्त्ति म्याद थप्ने बिषयमा सहमति नजुटेपछि बैठक निष्कर्र्षविहिन भएको बताईन् । उनीले भनिन्, ‘हामीले महाविर चौधरीलाई तपाईको मान्छेहरु ल्याउनु अन्यथा अर्को मिती लिएर जानु भन्यौं । तर, उहाँ मान्नुभएन् । नमानेपछि बैठकले कुनै निर्णय गर्न सकेन् ।’

न्यायिक समितिले कुनै फैसला नदिएपछि चौधरी दम्पत्ति पुनः मोरङ प्र्रहरी फर्किएका छन् । मोरङ प्रहरीका प्रहरी नायब उपरीक्षक राजन कार्कीका अनुसार दुवैपक्षबिच छलफल हुन नसकेको खण्डमा प्राप्त प्रमाणको आधारमा विपक्षी विरुद्ध ठगी मुद्धा चलाउने तयारी भईरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्