साइबर अपराध र ठगीमा फेसबुकका फेक आईडी, अनुसन्धान र नियन्त्रणमा समस्या

साइबर अपराध र ठगीमा फेसबुकका फेक आईडी, अनुसन्धान र नियन्त्रणमा समस्या

विराटनगर । फेसबुकको फेक आईडी प्रयोग हुने साइबर अपराधका घटना नियन्त्रणमा प्रहरीलाई प्राविधिक समस्या हुने गरेको छ । फेक आईडीबाट अपराधमा संलग्नहरुको पहिचान र फेक आईडी नियन्त्रणका लागि प्रहरीलाई एक महिनासम्मको अवधी लाग्ने गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार कार्यालयमा उजुरी प्राप्त हुनसाथ फेक आईडी बन्द गर्न एक महिनाको अवधी लाग्ने गरेको छ । पीडितले उजुरी गरेपछि फेक आईडीको यूआरएलसहित फेसबुक कार्यालयमा खाता बन्दको लागि पठाउने गरिएको छ । कार्यालयले भने एक महिनापछि मात्रै आईडी डिलिट गर्ने गर्दछ ।

फेक आईडीबाट चिठ्ठा परेको भन्दै ठगी गर्ने घटना समेत पछिल्लो समय बढ्दै गएको प्रहरी उपरीक्षक कोइराला बताउँछन् । त्यसका लागि अनुसन्धान गर्न र फेक आईडी नियन्त्रण गर्न लामो अवधीसम्म लाग्ने गरेको हो । साइबर अपराधको मुद्दा काठमाण्डौं जिल्ला अदालतमा मात्रै दर्ता हुने गर्दछ । त्यसले पनि पीडितलाई केहि समस्या हुने गरेको छ ।

प्रहरीले सार्वजानिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको चैतदेखि जेठ महिनासम्मको दुई महिनामा मात्रै साइबर अपराधका १० निवेदन परेका छन् । यसैगरी साइबर ठगीका ४ निवेदन परेका छन् । चालु आर्थिक वर्षको १० महिनाको अवधीमा साइबर अपराधका ३५ र साइबर ठगीका १७ निवेदन परेको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिए ।

गत आर्थिक वर्ष साइबर अपराधका ११६ उजुरी परेका थिए भने साइबर ठगीका ४२ उजुरी परेका थिए । जिल्ला प्रहरी कार्यालय मोरङले साइबर अपराधमा अनुसन्धान गरेर मुद्दा हेर्दैन । साइबर ब्यूरोले मुद्दाको अनुसन्धान गरेर काठमाण्डौं जिल्ला अदालतमा मुद्दा दर्ता गर्नुपर्ने प्रावधान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्