हरेक वर्ष डुबानको नियति झेलिरहेका विराटनगरबासी

हरेक वर्ष डुबानको नियति झेलिरहेका विराटनगरबासी

विराटनगर । आकाश धुम्मिन थालेपछि उनीहरुको मन पनि धुम्मिन थाल्छ । जब बादलले आकाशमा गतिविधि सुरु गर्छ, यहाँ उनीहरुको मन पनि बेचैनीले त्रस्त हुन्छ । हरेक बर्खामा बाढी प्रताडित विराटनगरका सर्वसाधारण यही नियति झेलिरहेका छन् । विराटनगर हुँदै बग्ने विभिन्न नदीनाला र तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकका लागि बाढी र डुबान बर्षमा एकपटक आउने चाडपर्व झैं भएको छ ।

विराटनगर भएर बग्ने पुर्वमा सिंघिया र पश्चिममा केशलियाको जलस्तर उच्च भएसँगै प्रत्येक वर्ष उनीहरु डुबानमा पर्ने गरेका छन् । बर्षायामको सुरुवातसँगै बाढीले बगाउन सक्ने डर उनीहरुको दैनिकी नै बनेको छ । उनीहरुको मनमा एउटै गुनासो छ, ‘सरकारले उद्दार गर्ने र राहत दिने बाहेक अरु केही गरिदिएन ।’

विराटनगरमा १, २, ४, ५, ६, ७, ८, ११, १२, १४, १६, १८ र १९ सहित १३ वटा वडाका ५ हजार ७ सय ७५ बढी स्थानीय बासिन्दा बाढीको उच्च जोखिममा छन् । वल्र्ड भिजन ईन्टरनेशनलको सहयोगमा महानगरपालिकाद्धारा तयार तथ्याङकले यसको पुष्टि गर्छ । भुकम्प बाहेक १२ प्रकारका प्राकृतिक प्रकोपमध्ये सबैभन्दा बढी क्षति पु¥याउने बाढी तथा डुबान यहाँका स्थानीयका लागि बार्षिक कार्यक्रम नै बनेको छ ।

विपद व्यवस्थापनका निम्त्ति विनियोजन हुने वार्षिक बजेट सही ठाउँमा खर्च हुन नसक्दा स्थानीयको समस्या हालसम्म विचाराधिन छ । खोला किनारमा तटबन्ध निर्माण गर्नु बाढी रोकथाम र त्यसबाट हुने क्षति न्युनीकरणको उच्चतम विकल्प भएपनि स्थानीयदेखि प्रदेश सरकारको अग्रसरताको अभावमा समस्याको दीर्घकालीन समाधान हुन सकेको छैन् ।

वडा नं. २ निवासी जगदीश कामत भन्छन्, ‘सरकारले ध्यान नदिँदा हामी वर्षेनी बाढी प्रताडित हुनुपरेको छ । आखिर हामीलाई सम्झिने भनेको भोट माग्ने बेलामा मात्रै हो ।’

५ बर्षअघि पनि २०७४ साउन २८ गते विराटनगर लगायत पुर्वीक्षेत्रमा जारी निरन्तर वर्षाका कारण आएको बाढीले मोरङका अधिकांश स्थानीय तह नराम्ररी प्रभावित भएका थिए । मोरङका १७ स्थानीय तहहरुमध्ये सबैभन्दा बढी प्रदेश १ को राजधानी समेत रहेको विराटनगरमा महानगरपालिकाले सर्वाधिक क्षति व्यहोरेको थियो । बाढीका कारण २० जनाभन्दा बढीले ज्यान समेत गुमाएका थिए । अविरल बर्षाका कारण पानीको जलस्तर उच्च भएसँगै बर्षेनि सबैभन्दा बढी पुर्वमा सिंघिया र पश्चिममा केशलिया खोलाको तटीय क्षेत्रमा बस्ने स्थानीय तथा सुकुम्बासी जनतालाई सर्वाधिक क्षति पुगेको थियो । तर, विगतको अनुभवबाट पाठ सिक्दै महानगरले बाढीको जोखिममा रहेका नागरिकको उचित व्यवस्थापनका बिशेष पहल गर्नुपर्ने भएपनि हालसम्म त्यसो हुन सकेको छैन् ।

विराटनगर महानगरपालिकाले जोखिममा रहेका घर तथा बस्तीहरुलाई स्थानान्तरण गर्ने र जनता आवास योजना अन्तर्गत उनीहरुलाई जोखिममुक्त ठाउँमा बसोबासको व्यवस्था मिलाउने लगायतका कार्यक्रमहरु अघि सारेको भएपनि त्यसतर्फ भने हालसम्म कुनै ठोस पहल हुन नसकेको स्थानीय बताउँछन् । विराटनगर–१ निवासी अनिल पोद्दार भन्छन्, ‘तटबन्ध निमार्णमा सरकारको चासो छैन् । निमार्ण गरिएको ठाउँमा पनि छारो टार्ने कार्य मात्र भएको छ । त्रिपालको सहारामा रात बिताउनुपर्ने अवस्था छ ।’

यसअघि २०७७ सालमा पनि विराटनगरको पश्चिम भएर बग्ने केशलिया खोलाले धार परिवर्तन गर्दा विराटनगरको दक्षिणी भेग डुबानमा परेको थियो । विराटनगर–६ डम्पिङ साईडको उत्तरबाट नदीले धार परिवर्तन गर्दा वडा नं. ११ , १२ , १६ र १५ का स्थानीय बासिन्दा प्रत्यक्ष रुपमा प्रभावित भएका थिए । यसपटक पनि शनिबार सिंंघिया र केशलिया खोलामा आएको बाढीले विराटनगरका विभिन्न भाग डुबानमा परेका छन् । केशलिया खोलाले धार परिवर्तन गर्दा यसपटक वडा नं. ५ स्थित जामुनगाछी, वडा नं. ६ स्थित ब्रम्हपुरा, वडा नं. १२ स्थित बखरी र वडा नं. १६ को दरैया डुबानमा परेको छ । यस्तै, सिंघिया खोलाको उच्च जलस्तरका कारण वडा नं. १, २, ७ र ८ का विभिन्न भाग डुबानमा परेका छन् । वडा नं. ८ स्थित कारागार पछाडिको डुबान प्रभावित २५ घरपरिवारलाई सुरक्षित स्थानमा ल्याउने कार्य भईरहेको छ ।

प्रशासनको आँखा छलेर खोलामा हुने अवैध उत्खनन्का कारण खोलाले धार परिवर्तन गर्दै आएको बाढी पिडितहरुको भनाई छ । खोलानाला तथा बाढी नियन्त्रणमा महानगर सक्रिय भएपनि महानगरको एक्लो बजेटले यसको दिगो समाधान सम्भव नभएको महानगरको वातावरण तथा विपद व्यवस्थापन महाशाखा प्रमुख राजेन्द्र प्रधान बताउँछन्् । ‘बाढीका कारण हुने जनधनको क्षति न्यूनीकरणका निम्त्ति आवश्यक श्रोत साधनसहित नगरप्रहरी उद्धार कार्यका सक्रिय छ,’ उनी भन्छन्, ‘तर, यसले मात्रै समस्याको दिगो समाधान सम्भव छैन् । प्रदेश सरकारको सहयोग पनि आवश्यक छ ।’

विराटनगर महानगरपालिकाले अहिले विपद व्यवस्थापन ऐन् बमोजिम उल्लेखित योजनाहरुको आधारमा संकटासन्न क्षेत्र लक्षित उद्धार कार्य गरिरहेको छ । विपद व्यवस्थापन नीति, विपद जोखिम न्यूनीकरण रणनीतिक कार्ययोजना र विपद पुर्वतयारी तथा प्रतिकार्य योजनाको आधारमा नक्साङ्कन अनुसार जोखिम र क्षति न्युनीकरणमा महानगर सक्रिय छ । होचो भु–भागका जनतालाई यथोचित बासस्थानको व्यवस्था मिलाउन र जनधनको सुरक्षा गर्न महानगरको टीम फिल्डमै रहेको महानगरका विपद व्यवस्थापन महाशाखा प्रमुख प्रधानको भनाई छ ।

तटीय क्षेत्रका बासिन्दालाई सुरक्षाको प्रत्याभुति दिलाउन मोरङ प्रशासन पनि क्रियाशील रहेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल बताउँछन् । स्थानीय पालिकाहरुसँगको समन्वयमा विस्थापितको व्यवस्थापनमा मोरङ प्रशासन लागिपरेको उनको भनाई छ । ‘सुनसरीमा विपद व्यवस्थापन सम्बन्धी सामाग्रीको भण्डारण केन्द्र छ । त्यहाँबाट पनि हामीले केही त्रिपाल र म्याटे«सहरु माग गरेका छौं । आईसकेपछि अत्यावश्यक ठाउँमा पठाउने तयारी भईरहेको छ । प्रदेश सरकारसँग पनि समन्वय भईरहेको छ,’ उनी भन्छन्, ‘गृहले पनि विपद व्यवस्थापनका निम्त्ति भनेर ७ लाख पठाएको छ । विपद व्यवस्थापनका निम्त्ति उक्त रकम पर्याप्त नभएपनि केही राहत भने हुने अपेक्षा गरेका छौं । थप निर्णयका लागि आज दिउँसो ३ बजे विपद व्यवस्थापन प्रतिकार्य योजनाबारे छलफलका निम्त्ति बैठक बोलाईएको छ ।’

गयरातीदेखि जारी निरन्तर बर्षाका कारण मोरङमा हालसम्म विराटनगर बाहेक ग्रामथान–१, कानेपोखरी–६, बेलबारी–६, सुनबर्षी–६, बुढीगंगा–२ र कटहरी–१ गरी ११९ घरका ४९३ जना विस्थापित भएका छन् । हाल भने आगामी ३ दिनसम्म सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १ को विभिन्न स्थानमा भारी बर्षाको सम्भावना समेत रहेको छ । खोलाहरुमा पानीको जलस्तर समेत उच्च हुनेसक्ने भन्दै महाशाखाले आवश्यक सर्तकता अपनाउन आग्रह समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्