सुनसरी–मोरङ करिडोरमा समेत वर्षाको प्रभाव

सुनसरी–मोरङ करिडोरमा समेत वर्षाको प्रभाव

विराटनगर । लगातारको वर्षाले सुनसरी–मोरङ औद्योगिक करिडोर अन्तर्गत उद्योगको उत्पादन समेत प्रभावित बनेको छ । करिडोर अन्तर्गत बुढीगंगा गाउँपालिका र कटहरी गाउँपालिका क्षेत्रका उद्योग बढी प्रभावित बनेका हुन् ।

मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले औद्योगिक क्षेत्र परिसरमा डुबान भएपछि बिद्युतको जोखिम बढ्ने भएकोले कतिपय उद्योग बन्द गर्नुपर्ने अवस्था आएको जानकारी दिनुभयो । कतिपय उद्योग परिसरमा पानी समेत पसेर उत्पादन रोकिएको दावी गरिएको छ ।
उद्योगमा पानी नपसेपनि बाटाघाटा जलमग्न हुँदा मजदुरलाई आउन कठिनाई भएको अध्यक्ष रिजालको भनाई छ । कतिपय मजदुरको घर डुबानमा परेको खबर छ, अध्यक्ष रिजालले भन्नुभयो–घर डुबेपछि उद्योगमा आउनुपर्छ भन्न सकिदैन ।

उद्योग परिसरमा पानी पसे उद्योगीहरुले बिद्युत सर्ट हुने जोखिमबाट सुरक्षित हुन मेसिन सञ्चालन गर्दैनन् । बिद्युत सर्ट भए ठूलो क्षति हुने भएकोले उद्योगी आफैं पनि सचेत हुने गरेका छन् ।
उद्योग संगठन मोरङका महानिर्देशक चुडामणी भट्टराईका अनुसार करिडोर अन्तर्गत रिलायन्स स्पिनिङ्ग, हुलास वायर उद्योगमा पानी पसेको छ । जसका कारण उद्योगको काम रोक्नु परेको भट्टराईले जानकारी दिनुभयो । मंगलबारदेखि लगातार परेको पानीका कारण औद्योगिक क्षेत्र आसपासका खोलामा बाढी आउँदा त्यसको असर उद्योगमा पनि पर्ने गरेको छ । बाढी वस्ती तथा औद्योगिक क्षेत्रमा पसेपछि डुबान हुने गरेको छ । खोलामा जलस्तर घट्दै गएपछि पानीको मात्रा घट्ने भएकोले उद्योगीहरुले जोखिम नघट्दासम्म मेसिन चलाउने नगरेका हुन् ।

अध्यक्ष रिजालले करिडोरका ५५० उद्योगमध्ये २०० को हाराहारीका उद्योगको संरचना पुरानो भएको जानकारी दिनुभयो । पहिला निर्माण गरिएका उद्योगको सतह गहिरो हुँदा वर्षात्को पानी पर्नसाथ उद्योगहरु डुब्ने खतरा बढ्ने रिजालको भनाई छ ।
पछिल्लो समय कोशी राजमार्ग अन्तर्गत रानी–धरान, हुलाकी सडक अन्तर्गत भद्रपुर–विराटनगर सडकखण्ड निर्माण गर्दा औद्योगिक क्षेत्र भन्दा उचाई भएपछि बाढीको वर्षेनी जोखिम बढ्दै गएको उद्योगीहरुको गुनासो छ । पूर्वाधार निर्माण गर्दा पानीको निकासमा खास ध्यान नदिएका कारण औद्योगिक क्षेत्रमा असर पर्ने अध्यक्ष रिजालको बुझाई छ ।

सडकको उचाईको हाराहारीमा निर्माण भएका उद्योगमा पानी पस्ने समस्या छैन । पुरानो औद्योगिक करिडोर भएका कारण पनि पुराना उद्योगमा पानी पस्ने समस्या देखिएको उद्योग संगठन मोरङका महानिर्देशक भट्टराईको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्