गर्मी र वर्षामा हैजाको जोखिम, उपचार र बच्ने उपाय

गर्मी र वर्षामा हैजाको जोखिम, उपचार र बच्ने उपाय

विराटनगर । हैजा भन्नाले भिब्रियो कलेरा नामको ब्याक्टेरियाको कारणले हुने सानो आन्द्राको सङ्क्रमण भन्ने बुझिन्छ। हैजा विभिन्न प्रकारका भिब्रियो कलेरा ब्याक्टेरीयाका कारणले हुने रोग हो। जसमध्ये केहीले अत्यन्तै कडा खालको रोग लगाउने गर्दछन्। यो रोग प्राय भिब्रियो कलेरा ब्याक्टेरिया भएको दिसाको सम्पर्कमा आएको पानी तथा खानाका कारण सर्ने गर्दछ।

पिउने पानी र खानेकुरा नै हैजाका मुख्य कारण मानिन्छ। व्यक्तिगत वा वरपरको सरसफाइमा ध्यान नदिनु र लक्षण नदेखिएका सङ्क्रमितसँग सम्पर्कमा आउनुले समेत मानिसमा यो रोग सार्ने गरेको चिकित्सकहरू बताउदै आएका छन् । काठमाडौं उपत्यकामा हैजाको संक्रमितहरु बढी रहेका छन् ।

के हो हैजा ?
हैजा अर्थात् कोलेरा भिब्रिओ कोलरी नामक ब्याक्टेरियमको सङ्क्रमणका कारणले हुन्छ। सामान्यतया झाडापखालाजस्तो देखिने यो रोग केही गम्भीर प्रकृतिको हुने चिकित्सकहरू बताउँछन् । सङ्क्रमणको असर देखिन थालेपछि तत्काल उपचार नभएको खण्डमा बिरामीको मृत्युसमेत हुन सक्ने चिकित्सकको भनाइ छ। हैजाका कारण बर्सेनि २१,००० देखि १,४३,००० मानिसको संसारभरि मृत्यु हुने आकलन गरिएको छ। हैजा भएका ८० प्रतिशत बिरामीको जीवनजल प्रयोग गरेर सफलतापूर्वक उपचार हुन्छ। गम्भीर खालको हैजा लाग्दा तत्काल एन्टिबायोटिक र नसाबाट सलाइन दिएर उपचार गर्नुपर्छ।

लक्षणहरू के - के हुन् ?

हैजा भएका मानिसहरूलाई निरन्तर दिसा लाग्छ। उनीहरूको दिसा अधिक पातलो हुने बताइन्छ। चामलको चौलानीजस्तो तरल पदार्थ मानिसको शरीरबाट निरन्तर बगिरहन्छ। त्यस्तै पटकपटक बान्ता आउने, पेट वा खुट्टाको मांसपेशी बाउँडिने, असाध्यै तिर्खा लाग्न, खान पिउन नसक्ने गरी बिमारी भएमा जस्ता समस्याहरू अधिकांश बिरामीमा देखिने गर्छ । केही मानिसमा हैजाको लक्षण नदेखिए पनि सङ्क्रमण भएको हुनसक्छ र उनीहरूको दिसामार्फत लगातार केही दिनसम्म हैजाको जीवाणु बाहिर निस्कन्छ।

हैजाको जोखिममा को बढी पर्दछन्?
स्तनपान नगराई बोतलको दूध खुवाएका बच्चाहरु, कुपोषित बालबालिका, दुषित खाना र पानी खाएमा, व्यक्तिगत सरसफाईमा ध्यान नदिएमा,खोप नपाएका बच्चाहरुमा यसको बढी जोखिम हुन्छ।

घरैमा उपचार गर्ने ५ नियम ?

झाडापखाला हुनासाथ एक लिटर सफा पानीमा एक पुरिया जीवनजल राखी राम्ररी घोल्ने र पटक पटक खुवाउने, प्रशस्त मात्रामा सफा तथा झोल कुराहरु पटक पटक खान दिने, नरम तथा सजिलै पच्ने खानेकुरा थोरै थोरै गरी पटक पटक खुवाइरहेन , स्वास्थ्यकर्मीले सिफारिस गरे अनुसार जिंग्क चक्कीको मात्रा नविराइकन खुवाउने, व्यक्तिगत सरसफाईमा ध्यान दिने र स्वच्छ पानी तथा खाना खाने गर्नु पर्दछ।

यसबाट बच्ने उपाय के-के हुन्
चर्पीमा मात्र दिसा पिसाब गर्ने,दिसा पिसाब गरिसकेपछि साबुनपानीले मिचिमिची हात धुने, खाना बनाउनु खुवाउनु र खानु अघि साबुनपानीले मिचिमिची हात धुने, पानी उमालेर, फिल्टर गरेर वा एक लिटर पानीमा ३ थोपा क्लोरिन झोल मिलाएर मात्रै पिउने, बासी सडेगलेको, झिगा भन्केको खानेकुरा नखाने , खानेपानीको मुहान सफा र सुरक्षित राख्नु पर्दछ।

गर्मी तथा वर्षा याम शुरु भएसगै झाडापखाला, हैजा जस्ता रोगहरु फैलने हुदा सावधानी र सतर्कता अपनाउन असाध्यै जरुरी छ ।

स्वास्थ्य मन्त्रालयको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्