खेलकुद क्षेत्रलाई हेर्न सरकारले चश्मा लगाउनुपर्छ : पूर्व अन्तर्राष्ट्रिय खेलाडीहरु

खेलकुद क्षेत्रलाई हेर्न सरकारले चश्मा लगाउनुपर्छ : पूर्व अन्तर्राष्ट्रिय खेलाडीहरु

विराटनगर । विराटनगर-१६ बस्ने पुनम थापा, ललित थापा र राजेश थापा नेपालबाट प्रतिनिधित्व गर्ने अन्तर्राष्ट्रिय फुटबल खेलाडी हुन् ।

उनका बुवा स्वर्गीय अमर थापा पनि नेपालका पहिलो अन्तर्राष्ट्रिय फुटबल खेलाडी एवं भाईस क्याप्टेन हुन् । पुनम थापा स्वयंम प्रदेश १ का पहिलो एशियन गेम खेलाडी हुन् । नेपाली खेल क्षेत्रमा उनको योगदान करिब ४ दशकको छ । तर, हालसम्म सरकारले उनीजस्ता अन्य थुप्रै खेलाडीहरुलाई खेलकुद क्षेत्रको विकास हुनेगरी सम्मान गर्न नसकेकोे उनी बताउँछन् । आईतबार विराटनगरमा प्रदेश खेलकुद विकास बोर्डद्वारा एशियन, ओलम्पिक र साग खेलाडीहरुलाई सम्मान गर्नका निम्त्ति आयोजित कार्यक्रममा अन्नपुणर् पोस्टसँग कुरा गर्दै उनले भने, ‘सरकारले पहिलोपटक पुराना खेलाडीहरुलाई सम्मान गर्ने जमर्को गरेको छ । त्यो स्वागतयोग्य हो । तर, यो पर्याप्त भएन् । सरकारको लगानी कमजोर देखियो ।’

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय मातहतमा रहेको प्रदेश खेलकुद विकास बोर्डले आईतबार पहिलोपटक ताम्रपत्र सहित १८८ जना पुराना खेलाडीहरु सम्मान गरेको छ । बोर्डले ओलम्पिकतर्फ ६, एशियन तर्फ १४२ र सागतर्फका ४० जना खेलाडीहरुलाई सम्मान गरेको हो । प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र कुमार राई र सामाजिक विकास मन्त्री राजन राईले संयुक्त रुपमा उनीहरुलाई सम्मान गरेका हुन् । सम्मानित हुने खेलाडीहरुले आगामी ५ वर्षका लागि काठमाण्डौं मेडिकल कलेज र विराटनगरस्थित नोबेल मेडिकल कलेजमा निःशूल्क उपचार पाउने छन् । खेलाडीका परिवारका सदस्यहरुले पनि उक्त दुई अस्पतालमा विभिन्न उपचारमा ५० प्रतिशतसम्म छुट पाउने जनाईएको छ ।

तर, खेल क्षेत्रको विकासमा महत्वपूणर् योगदान पुर्‍याउने खेलाडीहरुलाई ताम्रपत्र थमाएर सरकारले परिधिको घेराभित्र सिमित बनाउन खोजेको सम्मानित खेलाडीहरु बताउँछन् । दुईपटक एशियन च्याम्पियनसिप खेलिसकेका विराटनगरका ब्याडमिन्टन खेलाडी लवभक्त श्रेष्ठ खेलकुद विकास बोर्डको सम्मानलाई छारो टार्ने कार्यको रुपमा परिभाषित गर्छन् । ‘सरकारले राम्रो सोचका साथ खेलाडीहरुलाई सम्मान गर्न खोजेको बिषय प्रशंसनीय छ । तर, खेलकुद क्षेत्रमा सरकारको लगानी पुगेन् । नेपालको खेलकुद क्षेत्रको बजेटभन्दा भारतको एउटा मोहन बगान क्लबको बजेट ठुलो छ । यो अवस्थामा कसरी खेलाडी उत्पादन हुन्छन् ?’ उनी भन्छन्, ‘राज्यले खेलकुदको क्षेत्रलाई हेर्ने दृष्टिकोण कमजोर छ । राज्यले चश्मा लगाउनुपर्छ ।’

काठमाण्डौंको बबरमहल बस्ने टेबलटेनिस खेलाडी रोजी श्रेष्ठ खेल क्षेत्रमा सरकारको चासो अभावमा व्यावसायिक खेलाडीहरु उत्पादन हुन नसकिरहेको गुनासो गर्छिन् । सन् १९९३ मा साग र एशियन गेम खेलेकी उनीलाई पनि आईतबार सरकारले उसम्मान गरेको छ । उनी भन्छिन्, ‘खेल क्षेत्रलाई प्रोफेशन बनाउन अझैपनि हजारपटक सोच्नुपर्ने अवस्था छ । यो ताम्रपत्रले खान बस्न त पूग्दैन् । आफैैले घरबाट खर्च जुटाएर खेल्नुपर्ने अवस्था छ ।’

यता, सरकारको सम्मानप्रति असन्तुष्टि जनाउनुपर्ने कुनै आवश्यकता नरहेको खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्ले बताउँछन् । यो पहिलो प्रयास भएकाले आगामी वर्षहरुमा थप परिस्कृत ढंगबाट खेलाडीहरुलाई आवश्यक सहयोग र सम्मान गर्ने बिषयप्रति बोर्ड दत्तचित्त रहेको उनको भनाई छ ।
२०७८ असोज २४ गते तत्कालिन मुख्यमन्त्री भीमप्रसाद आचार्यको नेतृत्वको सरकारले प्रदेश खेलकुद विकास बोर्ड गठन गरेको थियो । चैत्र २२ गते बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा जीना कार्की र सदस्य सचिवमा वाग्लेलाई नियुक्त गरेको हो । आगामी आर्थिक वर्ष २०७९/८० मा खेलकुद पूर्वाधार विकासकोे क्षेत्रमा भने प्रदेश १ सरकारले १५ करोड बजेट विनियोजन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्