प्रदेश १ मा पानी र मल अभाव, ३२ प्रतिशत मात्रै धान रोपाइँ

प्रदेश १ मा पानी र मल अभाव, ३२ प्रतिशत मात्रै धान रोपाइँ

विराटनगर । पानी र रासायनिक मलको अभावमा असारको तेस्रो सातासम्म पनि प्रदेश १ का करिब ३२ प्रतिशत खेतमा मात्रै धान रोपाइँ भएको छ । प्रदेशमा ३ लाख ४० हजार ८ सय २९ हेक्टरमा वर्षे धान रोपाइँ हुने कृषि निर्देशनालयको अनुमान छ ।

अन्नको भण्डार मानिने मोरङमा २०, सुनसरीमा २५ र झापामा ४६ प्रतिशत धान खेतमा रोपाइँ भएको प्रदेश कृषि निर्देशनालयको तथ्याङ्क छ । मोरङमा ८३ हजार ३ सय, सुनसरीमा ५५ हजार र झापामा ८७ हजार ५ सय हेक्टरमा वर्षे धान रोपाइँ हुने निर्देशनालयको आकलन छ ।
गत वर्ष असार तेस्रो सातासम्म ४७ प्रतिशत रोपाइँ भएको थियो । यसपटक पर्याप्त पानी नपर्दा र रासायनिक मलको अभावमा धान रोपाइँले गति लिन नसकेको निर्देशनालयका कायम मुकायम निर्देशक प्रकाश डाँगीको भनाइ छ । असार १५ आसपासमा दुई दिन पानी परेर खडेरी सुरु भएको छ । सिँचाइको सुविधा भएको स्थानका किसान मल पर्खेर बस्दा रोपाइँले गति लिन नसकेको उनको भनाइ छ ।

प्रदेशका १४ जिल्लामा वर्षे धान रोपाइँका लागि १८ हजार टन डीएपी मलको माग भए पनि अनुदानको मल आयात गर्ने कृषि सामग्री कम्पनीले यो प्रदेशको वर्षे धान रोपाइँका लागि एक गेडो पनि डीएपी आयात गरेन । उसले चैते धानका लागि आयात गरेको ५ हजार टन डीएपी मात्र किसानलाई उपलब्ध गराएको छ । त्यसैगरी अर्को आयातकर्ता साल्ट ट्रेडिङले ५५ हजार ८ सय ४ बोरा अर्थात् करिब २८ सय टन डीएपी आयात गरेर वितरण गरिरहेको प्रमुख राधेश्याम चौधरीले बताए । उनका अनुसार साल्ट ट्रेडिङमा ३४ हजार ५ सय ४७ बोरा युरिया (१७ सय टन) आयात गरेको छ ।

प्रदेशको उच्च पहाडी जिल्ला ताप्लेजुङको ८ हजार ७ सय ३७ हेक्टरमध्ये २७ प्रतिशत, संखुवासभाको १३ हजार ८ सय ५१ हेक्टरमध्ये २० प्रतिशत र सोलुखुम्बुको १ हजार ५ सय २५ हेक्टरमध्ये ४६ प्रतिशत रोपाइँ भएको छ ।

त्यसैगरी मध्य पहाडी जिल्ला पाँचथरको ९ हजार २ सय ३ हेक्टरको १९ प्रतिशत, इलामको १४ हजार ८ सय १५ हेक्टरको ३५ प्रतिशत, भोजपुरको १८ हजार ९ सय २ हेक्टरको ६० प्रतिशत, तेह्रथुमको १० हजार १ सय ७५ हेक्टरको ३० प्रतिशत, धनकुटाको ७ हजार ९ सय ५० हेक्टरको २५ प्रतिशत, उदयपुरको १३ हजार ३ सय ८० हेक्टरको २४ प्रतिशत, ओखलढुङगाको ४ हजार ४ सय ३ हेक्टरको ४१ प्रतिशत र खोटाङको १२ हजार ८ सय ९८ हेक्टरमध्ये ३५ प्रतिशत खेतमा रोपाइँ भएको निर्देशनालयकी सूचना अधिकृत सरिता श्रेष्ठले बताइन् ।

प्रदेश १ मा गत वर्ष ३ लाख ३६ हजार १ सय २३ हेक्टरमा वर्षे धान रोपाइँ हुँदा १२ लाख ८२ हजार ५ सय ७२ टन धान उत्पादन भएको निर्देशनालयको तथ्याङ्क छ । रासायनिक मलको अभावमा यसपटक धानको उत्पादन घट्ने निर्देशनालयको पूर्वानुमान छ ।

कान्तिपुर दैनिक विनोद भन्डारीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्